नेपालगञ्ज म्याराथन: तीर्थ वली अन्तर्राष्ट्रिय संयोजक नियुक्त

नेपालगञ्ज – जर्मनीमा बस्दै आएका धावक तीर्थ वलीलाई नेपालगञ्ज म्याराथनको अन्तर्राष्ट्रिय संयोजक नियुक्त गरिएको छ । नेपालगञ्ज निवासी वली लामो र छोटो दुरीका धावक हुन् ।

सन् २००४ मा १५०० मिटर र १० हजार मिटरमा जुनियर राष्ट्रिय च्याम्पियन भइसकेका वली सन् २००५/०६ मा १५०० मिटर (सिनियर दौड)मा तेस्रो भएका थिए । सन् २००२ देखि २००६ सम्म नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका वलीले २००६ देखि २०१५ सम्म जर्मनीमा भएका लामो र छोटो दुरीका प्रतियोगितामा भाग लिइसकेका छन् ।

सरकार र तत्कालिन माओवादी विद्रोहीका बीचमा मंसीर ५ गते भएको बृहत शान्ति सम्झौताको सम्झनामा क्रियटिभ ह्याण्डस्, नेपालगञ्जले नेपालगञ्ज म्याराथन गर्दै आएको छ । यसपाली मंसीर ७ गते शनिबार गर्ने म्याराथनको वलीलाई अन्तर्राष्ट्रिय संयोजक नियुक्त गरिएको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

नेपालगञ्जदेखि कोहलपुरसम्म दौडिने म्याराथनले जिल्लाका दुई ठूला शहरलाई जोड्ने काम गरेको छ । सरकारले नेपालगञ्जलाई उपमहानगरपालिकाको अवधारणा अघि बढाउदा नेपालगञ्ज र कोहलपुरलाई जोड्दैछ । अध्यक्ष ठकुरीले नेपालगञ्ज र कोहलपुरलाई जोडेर भावनात्मक एकता कायम गर्नुका साथै नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन वलीलाई जोडेको बताए ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर मानिन्छ । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्यले विगत चार वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएको ठकुरीको भनाई छ ।

अध्यक्ष ठकुरीले भने, ‘विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाँउ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो ।’

म्याराथनको दिन नजिकिदै जादा त्यसको तयारी तीब्रगतिमा भइरहेको छ । दुई हजार मानिसलाई एकैपटक दौडाउने योजनाका साथ लागि परेको अध्यक्ष ठकुरीले बताए । म्याराथनलाई भब्य र सब्य बनाउन लागि परेको आयोजकको भनाई छ । नेपालगञ्ज म्याराथनमा देशका उत्कृष्ट धावकहरुको प्रतिस्पर्धामात्रै होइन, प्रतिष्ठित उद्योगी, व्यापारी, पेशाकर्मीको जमघट हुने ठकुरीले जानकारी दिए ।

कात्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्