आलमको थुनछेक बहस सकियो, आदेश आजै आउँदै

काठमाडौँ– जिउँदै जलाएको आरोपमा थुनामा रहेका मोहम्मद अफताब आलममाथिको थुनछेक बहस सकिएको छ।

राैतहटकाे राजपुरमा १२ वर्षअघि बम विष्फोट गराएकाे र घाइतेहरुलाई ज्युँदै इटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका आलममाथिको आठ दिनदेखिको थुनछेक बहस जिल्ला अदालत रौतहटमा शुक्रबार सकिएको हो।

उनलाई थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने भन्ने विषयमा आजै आदेश आउने सम्भावना छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको इजलासमा आलमको थुनछेक बहस भएको हो।

आलमलाई थुनामा राख्नुपर्ने पक्षमा रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल र उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइरालासहित तीन सरकारी वकिलले बहस गरेका थिए।

यस्तै आलमलाई थुनामा राखेरै अनुसन्धान अगाडि बढाउनुपर्ने भन्दै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता यूवराज संग्रौला, अधिवक्ता पुष्प पौडेल, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

आलमका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र अधिवक्ता योगेन्द्र बहादुर अधिकारीसहित २५ वकिलले बहस गरेका थिए।

कात्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्