जिल्ला अदालतको आदेशविरुद्ध महरा ‘पुनरावेदन’ नजाने

काठमाडौँ – संसद सचिवालयकी महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन जाने विषयमा अलमलमा परेका छन्।

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म (पुर्पक्ष) थुनामा पठाउन आदेश दिएका थिए।

जिल्ला अदालतको आदेशमा चित्त नबुझे मुलुकी अपराध कार्यविधि संहिताअनुसार एक तह माथि (उच्च अदालत पाटनमा) पुनरावेदन दिनुपर्ने भए पनि ११ दिन बितिसक्दासमेत त्यसबारे कुनै तयारी नभएको महराका कानुन व्यवसायीले जानकारी दिए।

महराको तर्फबाट सुरुदेखि नै बहस पैरवी गरेका अधिवक्ता मुराहरी सापकोटाका अनुसार जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन जाने विषयमा पूर्वसभामुख महरा वा उनको परिवारका सदस्यले आग्रह नगरेको बताए।

उनले देश सञ्चारसँग भने, ‘जिल्ला अदालतको आदेश बेरितको भयो भन्दै उच्च अदालतमा पुनरावेदन दिने विषयमा उहाँहरुले कुनै कुरा गर्नुभएको छैन। उहाँहरुले नै नभनी हामीले गर्ने मात्र गर्ने विषयमा होइन।’

अपराध कार्यविधि संहिताको दफा ७३ मा भनिएको छ, ‘थुनछेक वा तोकिएको धरौट, जमानत वा बैङ्क जमानतमा चित्त नबुझने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ।’

थुनछेक आदेशविरुद्ध पुनरावेदन दिन हदम्याद नलाग्ने भए पनि सामान्यतया तत्कालै दिए मात्रै औचित्यपूर्ण हुने एक वरिष्ठ अधिवक्ताले देश सञ्चारसँग बताए।

ती वरिष्ठ अधिवक्ताले भने, ‘आफूलाई मर्का पर्यो भन्ने पक्ष नै पुनरावेदनमा जाने हो। तर हदम्याद लाग्दैन भनेर लामो समय लगाउनु स्वभाविक होइन। त्यस्तो अवस्थामा अदालतले गम्भीरता पूर्वक नलिन सक्छ।’

देश सञ्चारलाई प्राप्त जानकारी अनुसार न्यायिक क्षेत्रका व्यक्तिहरुले महरालाई पुनरावेलनमा जाँदा पनि उस्तै परिणाम आउने भएकाले तत्काल त्यसका लागि कोसिस नगर्दा नै उपयुक्त हुने सुझाव पाएपछि उनी मौन बसेका हुन्।

महराको परिवार निकट एक व्यक्तिले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा जानुपर्छ भन्ने भए पनि शुक्रबारसम्म सामान्य छलफलसमेत भएको छैन।

कात्तिक १८ गते जिल्ला अदालत अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएपछि महरा डिल्लीबजार कारागार चलान भएका थिए।

असोज १२ गते बेलुका तीन कुनेस्थित महिला कर्मचारीको कोठमा पुगेर जबरजस्ती करणीको प्रयास(उद्योग) गरेको आरोपमा महरा सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका थिए। करणी प्रयास गरेको विषयमा पीडित महिलाबाटै बाहिरिएपछि उनले असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्