गण्डकी प्रदेश सरकारको समीक्षा

‘बंगलादेशी राष्ट्रपति हमिदको भ्रमणले प्रदेशको पर्यटनमा टेवा पुग्यो’

बंगलादेशी राष्ट्रपतिको भ्रमणबारे प्रदेश सरकारको वक्तव्य सार्वजनिक गर्दै प्रमुख सचिव बस्याल र साथमा कानुन सचिव दलबहादुर अधिकारी। तस्बिरः देश सञ्चार

पोखरा – चारदिने औपचारिक राजकीय भ्रमणका क्रममा बिहीबार पोखरामा बिताएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको आगमनले विश्व समुदाय माझ सकारात्मक प्रचार हुने निष्कर्ष निकालेको छ।

गण्डकी प्रदेश सरकारले बंगलादेशी राष्ट्रपति हमिदको पोखरा भ्रमणले पोखरासहित समग्र प्रदेशको पर्यटन क्षेत्र उकासिने अपेक्षा गरेको हो।

प्रदेश सरकारले भ्रमणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै राष्ट्रपति हमिदद्वारा गरिएको यस क्षेत्रको प्राकृतिक सौन्दर्यताको वर्णनले अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्ने विश्वास लिएको प्रमुख सचिव हरिप्रसाद बस्यालले जानकारी दिए।

‘उहाँले पोखरा र समग्र गण्डकी प्रदेशको भौगोलिक अवस्था र विकासका बारेमा जिज्ञासा राख्नुभयो,’ प्रमुख सचिव बस्यालले भने, ‘तालतैलया र हिमशृंखलाको दृश्यावलोकनले उहाँ रोमाञ्चक हुनुभयो।’

अनौपचारिक संवादमा भ्रमणदलमा रहेका उनका छोराले फेवा किनारमा रहेको फिस्टेल लजमा ‘एक रात बस्ने गरी आउनुपर्ने ठाउँ’ भएको प्रमुख सचिव बस्यालले उनलाई उद्दृत गर्दै भने।

प्रदेश सरकारले राष्ट्रपति हमिदको स्वागतमा उक्त लजमा दिवाभोजको आयोजना गरेको थियो। त्यसअघि फेवातालमा उनीहरुले जलविहार गरेका थिए।

बंगलादेशका जनताको भ्रमणको पहिलो रोजाइ पोखरा रहेको राष्ट्रपति हमिदले सुनाएको प्रमुख सचिव बस्यालले जानकारी दिए। नेपालको संघीय संरचना र न्यायपालिकाको बारेमा समेत जानकारी लिएको उनले बताए।

प्रदेश सरकारले राष्ट्रपति हमिदको भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने विश्वाससमेत लिएको छ। आन्तरिक पर्यटन भ्रमण वर्ष मनाइरहेको प्रदेशले प्राकृतिक सम्पदाको प्रचारले पर्यटक थपिने अपेक्षा गरेकाे छ।

बिहीबार बिहान साढे ११ बजे पोखरा विमानस्थलमा सेनाको हेलिकप्टरमार्फत आइपुगेका राष्ट्रपति हमिदलाई प्रदेश प्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश मन्त्रीहरु लगायतले स्वागत गरेका थिए।

कार्यवहाक मुख्यमन्त्री गुरुङले उपहार स्वरुप प्रदेशको संस्कृति झल्किने खुकुरी प्रदान गरेका थिए। पोखराबाट लगत्तै रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा पुगी डेढ घन्टा बिताएका राष्ट्रपति हमिदले चाख मानीमानी हिमशृंखला र तालतलैयाबारे जानकारी लिएको प्रमुख सचिव बस्यालले बताए।

रुपा गाउँपालिकाले उनको स्वागतमा मारुनी र सोरठी नाचसहित विभिन्न झाँकी प्रस्तुत गरेको थियो। रुपा गापाका मुस्लिम समुदायका प्रतिनिधिले समेत उनको स्वागत गरेका थिए। गापा अध्यक्ष नवराज ओझाले उपहार स्वरुप पन्ध्र सय वर्ष पुरानो परम्परागत दारको ठेकी उपहार दिएका थिए।

रुपामा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानसहितको टोलीले स्वागत र बिदाई गरेको थियो। राष्ट्रपति हमिद बिहीबार नै काठमाडौं फिर्ता भएका थिए। उनी शुक्रबार औपचारिक राजकीय भ्रमण सकाएर बंगलादेश प्रस्थान गरेका छन्।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्