सुदूर-पश्‍चिम प्रदेशमा सडक दुर्घटनाको मुख्य कारण: जीर्ण सडक र मानवीय लापरवाही

धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गएका छन्। जीर्ण सडकको पुनर्निर्माण नगरिनु, पुराना तथा थोत्रा सवारी साधन गुडाउनु र मानवीय लापरवाहीका कारण पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएका हुन्।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म मात्र सुदूरपश्चिम प्रदेशमा २८ वटा सवारी दुर्घटनामा २५ जनाको ज्यान गइसकेको छ। चालू आर्थिक वर्षमा सबैभन्दा बढी साउन महिनामा ६ सवारी दुर्घटना भएका छन्। जसमा ६ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए।

यस्तै भदौमा ६ वटा सवारी दुर्घटनामा आठ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्। असोजमा सात वटा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। यस्तै कात्तिक महिनाको २८ गतेसम्म सात वटा दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै ४४ घाइते भएका छन्।

आर्थिक वर्ष २०७३/०७४ मा सुदूरपश्चिममा १ सय ८४ सवारी दुर्घटनामा परि १ सय ३२ जनाको ज्यान गएको थियो। आर्थिक वर्ष २०७३/०७४ माभन्दा आर्थिक वर्ष २०७४/२०७५ मा सवारी दुर्घटनामा कमी आए पनि दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या भने बढेको ट्राफिक प्रहरीको तथ्यांकमा देखिन्छ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/०७५ मा १ सय ६४ सवारी दुर्घटनामा परेर १ सय ६ जनाले ज्यान गुमाएका थिए। यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/२०७६ मा दुर्घटना र मृतकको संख्या ह्वात्तै बढेको देखिन्छ। सो आर्थिक वर्षमा २ सय ३४ दुर्घटनामा २ सय २३ जनाको सडक दुर्घटनामा मृत्यु भएको तथ्याङ्कले देखाएको छ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बर्षेनि सवारी दुर्घटना बढ्दो क्रममा रहेको छ। सडकमा सवारीको चाप बढ्दै जानु, सडक साँघुरो हुनु, ट्राफिक प्रहरीको सक्रियता कम हुनु र सवारी चालक तथा यात्रु दुवैको लापरबाहीका कारण सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गइरहेको सरोकारवालाको भनाई छ।

स्थानीयका अनुसार सवारी चेकजाँचमा कडाइ नहुनु, क्षमताभन्दा अत्याधिक यात्रु राख्ने गरेका कारण पनि सवारी दुर्घटना बढेको हो।

ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीका अनुसार सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरबाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन्।

प्रहरी निरीक्षक ठकुराठीले भने, ‘सडक दुर्घटना चालक र यात्रु दुवैको लापरबाहीका कारण हुने गर्दछ’, उनले थपे, ‘सरकारले एउटै चालकलाई आठ घण्टाभन्दा बढी सवारी चलाउन नपाउने नियम बनाए पनि लागू हुन नसक्दा दुर्घटना बढ्ने गरेका छन्।’

सुदूरपश्चिमका पहाडी जिल्लामा जाने सवारी साधनका लागि टाइम कार्डको व्यवस्था गरिएको भएपनि दुर्घटना रोकिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। उनले सवारी चालक, यात्रु सबैले सचेत नहुन्जेल दुर्घटना कम हुन नसक्ने बताए।

सडक दुर्घटनाका मुख्य चार कारण मध्ये सबैभन्दा बढी मानवीय कारणले नै दुर्घटना बढिरहेको पनि उनले बताए। ‘निर्माणाधीन सडकका कारण पनि दुर्घटना बढ्दै गइरहेका छन्’, उनले भने, ‘६ लेन सडक निर्माणका क्रममा अत्याधिक धुलो हुँदा पनि अगाडिको सवारी साधन नदेखिँदा दुर्घटना हुन थालेको छ।’

दुर्घटनाको अवस्था हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको देखिन्छ। ‘सबैभन्दा बढी मोटरसाइकल नै दुर्घटनामा पर्ने गरेका छन्’, उनले भने, ‘मादक पदार्थ सेवन गरेर अर्कालाई ठोक्ने र आफै पनि पल्टने गर्नाले पनि मोटरसाइकल दुर्घटनाको तथ्याङ्क बढी देखिएको छ।’

कात्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्