ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान

सुनुवाई चल्दै गर्दा ट्रम्पको ‘धम्किपूर्ण’ ट्वीट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा हाल सार्वजनिक रुपमा सुनुवाई भएकाे छ ।

आफू विरुद्ध सार्वजनिक सुनुवाईमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । ट्रम्पले सार्वजनिक सुनुवाईमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् ।

महाअभियोग अनुसन्धानको क्रममा उनको सुनुवाई जारी रहँदा ट्रम्पले ट्वीट गरेका हुन् । ट्रम्पले योवानाविचलाई धम्क्याउने खालको ट्वीट गरेका हुन् । ट्रम्पले लेखेका छन्, ‘मरी योवानाविच जहाँ गयो, त्यहिँ नराम्रो हुन्छ । उनी सोमालिया थिइन्, त्यहाँ कस्तो भयो ?’

सुनुवाईको क्रममा योवानाविचलाई ट्रम्पको सो ट्वीटबारे सोधियो । उनले त्यसको जवाफमा भनिन्, ‘यसले अति धम्किपूर्ण भयभित बनाउने खालको छ ।’ ट्रम्पले त्यसपछि आफ्नो ट्वीट कुनै पनि रुपमा धम्की दिनेखालको नरहेको दाबी गरे ।

ट्रम्पले पत्रकारसँग आफूले अनुसन्धानको क्रममा भइरहेको सुनुवाईको केही भाग हेरेको र त्यो लज्जास्पद रहेको दाबी गरे ।

सुनुवाईको क्रममा पूर्व राजदूत योवानाविचले केही प्रमाणहरु प्रस्तुत गरेकी थिइन् ।

ट्रम्पमाथि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोप छ । ट्रम्पले आफूले कुनै अवैध काम नगरेको र भइरहेको महाभियोग लगाउने सम्बन्धी अनुसन्धान ‘विचहन्ट’ रहेको बताउँदै आएका छन् ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपतिलाई गरेको टेलिफोन वार्तालाई मुख्य आधार बनाएर सुरु भएको अनुसन्धानमा गोर्डनसँगको टेलिफोन वार्ता नयाँ प्रमाणमा रुपमा आउने देखिएको छ ।

कार्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्