ब्लग

सधैँ पितृसत्ताको कठपुतली मात्रै!

आजकल सामाजिक सञ्जालमा विभिन्न विषयमा दिनहुँ चर्चा परिचर्चाहरू हुन्छन्। विषयको कमी हुँदैन, दिनदिनै नयाँ नयाँ विषय निस्की राखेका हुन्छन्।

हालै ट्वीटरमा एक प्रयोगकर्ता ले ‘रजनी केसीको सारीले उनलाई असजिलो भए जस्तो लाग्यो, सजिलो र सहज लाग्ने पोसाक लगाएको भए चुनावी दौडधुपमा सहयोग हुन्थ्यो। यस्तो गाह्रो गरी हिँड्न, बोल्न पर्दैन थियो।’ भनेर प्वाक्क भनी हाल्नु भयो।

विषय यत्ति नै हो तर सञ्जाल प्रयोगकर्तालाई के चाहियो, महिलालाई के लाउने के नलाउने भनेर सिकाउने? बिकिनी लाएर हिँड्नु देखि संस्कारी देखिन सारी लगाइन, नेपाली पहिरनलाई हेप्ने, डलर खाएर बोल्ने भनेर सुरु भइहाल्यो। के पहिरनले व्यक्तित्वमा प्रभाव पार्छ? के पेशागत पोसाकहरू ले व्यक्तिगत स्वतन्त्रता हनन् गर्छ?

मेरो विचारमा कुरा पहिरनको मात्र हैन, प्रस्तुतिको पनि हुनु पर्छ। आफ्ना विचार प्रस्तुत गर्दा श्रोताको ध्यान अन्यत्र नमोडियोस्, आफ्ना विचारमा ध्यान दिउन्, पहिरन र अन्य हाउभाउमा नअल्झिउन् भनेर वक्ता चनाखो हुन पर्छ भन्ने मेरो मान्यता हो। यो वक्तामा हुनु पर्ने खुबी पनि हो।

संरचनात्मक टिप्पणी भनेर यसलाई सहज रूपमा लिन सक्नु पर्छ। यस्ता टिप्पणीमा तँ–तँ, म–म मा उत्रनु शोभनिय हुँदैन, कम्तिमा देश र जनताको प्रतिनिधि बन्न अगाडि सरेका पाइलाहरुको हकमा।

जनमतद्वारा निर्वाचित प्रतिनिधि प्रति जनताको अपेक्षा समग्र रूपमा देशका समस्याहरूलाई सम्बोधन गरून् भन्ने हुन्छ। त्यो क्षेत्रमा भएको आफ्नो पार्टीका आसेपासेको सेवामा मात्र ध्यान नदिउन् भन्ने हुन्छ।

विकासका कुराहरू तत्कालीन आवश्यकता र सामरिक महत्वको क्षेत्रलाई ध्यानमा राखोस्, न की आफ्नो भोट बैंक जता छ त्यता त्यता डोजर चलाओस्। महिला होस या पुरुष जो चुनिए पनि उनीहरूले समस्त क्षेत्रलाई लिएर अघि बढ्न सकुन् भन्ने मेरो चाहना हो। त्यो त हाम्रो आशा भयो, तर परिणाम भने बेग्लै हुन्छ।

जब–जब चुनाव आउँछ, केही स्थानहरूमा केही दलहरू महिला उम्मेदवार उठाउँछन्। अनि ती महिलाको नारा हुन्छ ‘महिला मुक्ति’। म चुनाव जितेर गएर महिलाको हक हितका लागि आवाज उठाउँछु।

म महिलाको लागि यसो गर्छु, उसो गर्छु। हाम्रो देशमा महिला नै राष्ट्रपति छिन् । महिला सभामुख पनि थिइन् । राज्यको हरेक अङ्गमा महिला पुगेर नेतृत्व गरेका छन्। र पनि फेरि पनि किन महिलाको हकहितको लागि आवाज उठाउँछु भन्दै भोट माग्न परेको छ त? पहिला जितेर गएकाले नगरेर हो? नसकेर हो? उम्मेदवार पनि कसरी उठाउँछन्? उठाउनै पर्ने भएर उठाउँछन्, कहिले काहीँ राजनीतिक दाउपेचमा महिला उठाउँदा दललाई फाइदा पुग्छ भनेर उठाउँछन्। कहिले संविधानले तोकेको संख्या पुराउन उठाउँछन्।

नेपालका राजनीतिक दलले उठाउने अधिकांश महिला उम्मेदवार लैङ्गिक रूपमा महिला नै भए पनि सबैले राम्रोसँग चिनेका छन् ती पितृसत्तात्मक समाजले खडा गरेका बुख्याचा मात्र हुन्। पतिको मृत्युपछि मात्र चुनावमा उठ्ने भनेको न पतिको सपना साकार पार्न हो, न महिला मुक्तिको आवाज उठाउन हो, न नै महिलाको लागि केही गर्न हो।

पितृसत्तात्मक समाजले ‘ल तिमी उठे हाम्रो दललाई फाइदा हुन्छ’ भनेर उठाइदिएर उठ्ने हुन्। हाम्रो देशमा काम गर्न सक्ने महिला नभएका हैनन्, छन्। दलमा एकैचोटी ठूलो पदमा पुगिँदैन, तल्लो कमिटिदेखि खुड्किलो चढ्दै जान पर्छ, जुन महिलामा साँच्ची नै काम गर्न सक्ने खुबी छ तिनलाई तल्लो कमिटिबाट उक्लिनै दिइदैन, जुन महिला आज्ञाकारी भएर पुरुषवादी नेताले भनेको चुपचाप आज्ञा शिरोपर गर्छन् तिनलाई माथि उकालिन्छ।

अब खुबी नै नभएकाले बुख्याचा बनाएर खडा गरिन्छ त्यस्ताले केही गरेनन् भनेर रुवाबासी गर्नुको कुनै औचित्य छैन। त्यसैले एउटा बुद्धिमान नागरिकले सोच्नै पर्ने कुरा के पनि हो भन्दा खेरी, ‘अर्कैले टेको लगाएर ठडिएको महिला हकहितको आवाज कतिन्जेल बुलन्द होला?’

हाम्री राष्ट्रपति आफ्नो पतिको हत्यारा पत्ता लगाएर कारबाही गर्छु भनेर सेतो सारीमा खाली खुट्टा भोट माग्दै हिँडेर चुनाव जितेकी हुन्। तिनले के गरिन सर्वविदितै छ। दलले जहाँ भन्यो त्यही छाप लगाउने बाहेक तिनको भूमिका अन्त कतै देखिएन।

अहिले अर्की विद्या उठेकी छन् कास्कीमा, तिनको परिचय गज्जबको छ, चुनाव अघिसम्म असल गृहिणी थिइन्। बुढाको सेवा नै उनको धर्म थियो। बिहे अघि राजनीति गर्थिन् भन्ने कुरा आयो, राजनीति नै जीवन मान्नेहरूको प्राथमिकतामा यसरी अचानक परिवर्तन कसरी सम्भव भयो?

घरमा दुईजना हुँदा राजनीतिबाट टाढा बस्नु परेको उनलाई अब दुईवटाको जिम्मेवारी एक्लैले बोक्नु पर्दा झनै राजनीतिमा आउन सहज कसरी भयो?

देशको अभिभारा बोक्नु भनेको श्रीमानको मृत्युमा राजनीति गर्ने जस्तै सजिलो होला? मैले देखेका उदहारणहरूको सहारा लिएर भन्नु पर्दा धेरै महिलाहरू बिहे अघि राजनीति गरे पनि एउटा नेतासँग बिहे गरेपछि घरधन्दामा व्यस्त हुन्छन्। उनीहरूको राजनीतिक यात्रा धेरै लामो हुँदैन। नत्र सुहागरात कै भोलिपल्टदेखि पतिको अन्त्यसम्म राजनीतिको ‘र’ पनि ननिकाल्नेबाट कम्तिमा मैले केही पनि आशा गरेको छैन।

अहिले संयोगले अमेरिकामा पनि चुनावी माहौल छ। नेपालमा एलिजाबेथ वारेन, कमला ह्यारिस जस्तै देश हाँक्न सक्छु भन्ने आत्मविश्वास लिएका महिला चुनावी मैदानमा नदेखिनु, श्रीमानको मृत्यु बेचेर समवेदनाले भोट बटुल्नु हाम्रो दुर्भाग्य नै हो।

अहिलेको अर्को जल्दो बल्दो ‘विकल्प छ’ भन्दै अर्को दल निस्केको छ, साझा पार्टी। अन्य पार्टीको महिला राजनीतिलाई कायमै राख्दै यो पार्टीले पनि महिला नै उठाएको छ। तिनकी उम्मेदवार चिटिक्क परेकी पुतली र गुडिया भन्दा कम छैनन्। चिटिक्क बान्की परेको जिउ डाल छ।

चिटिक्क मिलेको कपडा लगाउँछिन्। छुँदा पनि दाग लाग्ने जस्तो भएर हिँड्छिन्। कहिले दलले संस्कारी देखाउन सारी लगाइदिन्छ, कहिले दलले स्वतन्त्र देखाउन कमिज प्यान्ट लगाइदिन्छ। अघिल्लो दिन केन्द्रीय सदस्यले लेखेर दिएको भाषण भोलिपल्ट सुगा रटाइ हिसाबले वाचन गर्नु भन्दा पर तिनको पनि भूमिका देखिएको छैन।

मलाई यस्ता महिलाहरू देखेर दिक्क लागेर आउँछ। यिनलाई भगवानले स्त्री बनाएर पठाए, तर यी सधैँ पितृसत्तात्मक समाजमा कठपुतली नै बनेर बसिरहे।

कार्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्