व्यङ्ग्य

खुट्टी हेर्दैमा चाल पाइयो!

‘बद्री बाबु, निकै दिन भयो यता देखा नपरेको । साह्रै व्यस्त थियौ कि क्या हो ? सँधै आइराख्ने मान्छे नआएको देख्दा के नखाएको अनि के नपाएको जस्तो भएर कस्तो कस्तो हुँदो रहेछ । कहाँ गएका थियौँ यत्रा दिनसम्म?’, आफूलाई नमस्कार गरेर कोठा भित्र पस्दै र एउटा मेचमा बस्दै गरेको बद्रीलाई दखेर खुशी हुँदै हरि प्रसादले सोधे ।

‘कता हराउनु काका, विरोध प्रदर्शन र विरोध सभामा हिँड्दा फुर्सदै नभएर आउन नपाएको हो । नत्र दिनको एकचोटी तपाइँसित नभेट्दा मलाई पनि के नपुगेको के नभएको र ज्यादै महत्वपूर्ण ठाउँमा नगएको जस्तो लागेर दिनभरि कुनै चिजमा पनि त्यति ध्यान लाग्दैन ।

आन्दोलनमा हिँड्ने भनेपछि र अरुले सानोतिनो नेतामा गनेपछि समय निकाल्नै मुस्किल पर्ने रहेछ । केही दिन आन्दोलन चर्काइयो र हामीले चाहेकालाई थर्काइयो पनि भन्ने लागेर आनन्द पनि लागेको हुनाले हाम्रो यो आन्दोलनले राष्ट्रियताको भावना समेत जागेको अनुभव भएको छ काका’, बद्रीले गर्वकासाथ आफू निकै दिन हराउनुको कारण बतायो ।

‘तिमी नेता मान्छेहरु यस्तै आन्दोलन, विरोध, विभिन्न कार्यक्रम आदिमै व्यस्त हुन्छौ । त्यो त एकदमै राम्रो कुरा हो । तिमी सानै उमेरदेखि यसमा लागेको देख्दा भविष्यमा ठूलै नेता बन्छौ र जनताले चाहेको कुरा भन्छौ अनि देश र जनतालाई नै सबै थोक भनेर गन्छौ भन्ने मलाई पूरा विश्वास छ । विद्यार्थी अवस्थामै जनताको लागि आफ्नो सुख सुविधाको कुनै चिन्ता नगरिकन निस्वार्थ भावले यसरी सँधैभरि आन्दोलनमा लाग्ने र जहाँ गए पनि जनताकै भलाई माग्ने नेता धेरै कम छन् । त्यहि भएर तिमी माथि मलाई विश्वास, भरोसा र गर्व पनि छ, बद्री बाबु । अहिलेको आन्दोलन चाहिँ कुन र के को लागि थियो नि बाबु?’, बद्रीको पिठमा धाप मार्दै र आँखा पनि रसिलो पार्दै हरिप्रसादले भने ।

‘यति ठूलो विषयमा हाम्रो आन्दोलन त्यत्रो दिनसम्म चलेको र त्यहि आन्दोलनको कारणले सीमा मिच्नेहरु गलेको भनेर त्यत्रो चर्चा भइरहेको छ । काका चाहिँ कुन आन्दोलन भनेर सोध्दै हुनुहुन्छ । छिमेकीले सीमा मिचेर र हामीलाइ सबैतिरबाट थिचेर हैरान पारेको विरोधमा हामिले गरेको आन्दोलनको कारणले उसले हारेको महसुस भएपछि हामीले खाली हातले बाघै मारेको अनि छिमेकीलाई उसको हेपाहा प्रवृत्तिबाट तल झारेको अनुभव भएको छ’, बद्रिले भन्यो ।

‘ए,धेरै ठूलो र राम्रो काम पो गरेछौ त । अनि यो आन्दोलनमा को को थिए त?’, हरि प्रसादले सोधे ।

‘यसमा सबै नै थिए । देश विदेश जतासुकै बस्ने भएपनि आन्दोलनमा पुरै ऐक्यबद्धता जनाएका र आन्दोलनमा एकअर्कालाइ मनाएका थिए । शहरका मुख्यमुख्य ठाउँहरुमा एकदुइ सय विद्यार्थी भेला भएर भयंकर विरोध प्रदर्शन, छिमेकीको दूतावास अगाडि धर्ना,फेसबुक ट्वीटर मेसेन्जर आदि जस्ता सामाजिक सञ्जालमा छिमेकी तर्सिने र सबैतिरबाट समर्थन बर्सिने खालका अभिव्यक्तिहरुले गर्दा सीमा मिचिएको बारेमा विज्ञप्ती निकाल्न सरकार बाध्य भयो अनि सचिव स्तरिय बैठकबाट समाधान खोजिने सरकारको योजनाबाट पनि सबैतिर राम्रो सन्देश गयो । हाम्रो आन्दोलनलाइ सबै तह र तप्काबाट सामाजिक सञ्जाल मार्फत मिलेको साथले पनि छिमेकीले जबरजस्ती निलेको भूभाग फिर्ता गराउन ठूलो बल पुगेको देख्दा खुसी लागेको छ’, बद्रीले भन्यो ।

‘यो त ज्यादै राम्रो कुरो सुनायौ बद्री बाबु । तिमीहरुको आन्दोलन, विरोध प्रदर्शन र सरकारको विज्ञप्ती अनि सचिव स्तरीय बैठकको छलफलबाट यो समस्याको समाधान निक्लने भयो त?’, फेरि सोधे हरि प्रसादले ।

‘अब त निक्लनै पर्छ । यसबाट पनि समस्या हल भएन र हामी माथि छल भयो भने हामी सीमा मिचिएकै ठाउँमा गएर जे गर्न पनि तयार छौँ । आवश्यक परे हतियार पनि उठाउन सक्छौँ हामी । अहिलेसम्म हामी चुप लागेर बसेका हुनाले उसले हेपेको हो । अब पर्यो भने हामी देखाइ दिन्छौँ हाम्रो तागत । अहिले पूरा देश सामाजिक सञ्जालमा एक भएर जुर्मुराएको छ । पर्यो भने सबै दल समूह क्षेत्र वर्ग लिंग र समुदाय चुप लागेर बस्दैन अब । देश विदेश जहाँ रहेपनि र जहाँ भएपनि हामीलाइ सामाजिक सञ्जालले एकढिक्का बनाएको अनि त्यसै मार्पmत सबैले सीमा मिचिएको सवालमा सक्दो विरोध जनाएको कारणले सबैले चासोसहित दुख मनाएको देख्दा हामीलाइ थप शक्ति प्राप्त भएको छ । त्यसो भएर छिमेकीको अब केही लाग्दैन । अब सीमाबाट हट्नै पर्छ र यो समस्या यसपाली चाहिँ पक्का टर्छ’, निकै उत्तेजित भएर बद्रिले भन्यो ।

‘यसरी सबैको एकता हुनु र यसले राष्ट्रिय भावनालाई छुनु भनेको त सारै राम्रो भयो । अनि यसमा नेताहरुको धारणा चाहिँ के छ नि बाबु?’ हरिप्रसादले सोधे ।

‘सबै नेताहरुको एउटै धारणा छ । कूटनीतिक तरिकाबाट यो समस्याको हल निकाल्न पर्छ र त्यसले मात्र यो समस्या टर्छ भनेर सबै नेताहरुले भनिरहेका र यसलाइ छिटो समाधान गर्न पर्ने विषयमा सबैले गनिरहेका छन् । सत्तारुढ दलका दोश्रो नम्बरका अध्यक्षले त संसदीय समितिमा यसलाइ अहिले अन्तर्राष्ट्रिय अदालतमा लान हुँदैन कुटनैतिक समाधानको बाटोमा लाग्न पर्छ भन्दै कडा किसिमले बोलेका र छिट्टै सीमा विवाद समाधानको लागि छिमेकीलाई बाध्य गराउने किसिमले मुख खोलेका छन् । त्यसको भोलिपल्टै तिनै अध्यक्षले आफ्नी छोरी प्रमुख भएको महानगरको एउटा वडाको कार्यक्रममा पनि त्यहि कुरा बोलेर सीमा विवादको कूटनैतिक समाधानको लागि पहल सुरु गरिसकेका छन् । यसबाट हामी ज्यादै उत्साहित छौँ काका’, बद्रीले बतायो ।

‘उहिले छिमेकीसित लड्न भनेर, ठाउँ ठाउँमा सुरुङ्ग खनेर र सीमा मिचिएको ठाउँ गनेर हिँड्ने नेता यिनै हुन् कि कसो बद्रि बाबु ?’ हरिप्रसादको प्रश्न थियो ।

‘हो काका उनै हुन्’, बद्रीले छोटो जवाफ दियो ।

‘ए, उनै हुन् भने त समस्या छिटै समाधान हुन पनि सक्छ । पहिले पनि कालापानी, सुस्तासहित विवाद भएका अन्य ठाउँहरुमा पनि सुरुङ्ग युद्ध लड्ने भनेर यिनले पहाडतिरैबाट सुरुङ्ग खन्न सुरु गरेको र निकै ठूलो तयारीसाथ तलतिर झरेको भन्ने कताकता सुनेजस्तो लाग्छ । छिमेकीसित भएका सबै बिवाद सुल्झाउन र छिमेकीलाई समस्यामा उल्झाउन यिनले खनेको सुरुङ्गको दिशा र डिग्री नमिलेर हो कि अन्य कुनै कारणले हो सुरुङ्ग दिल्लीतिर सोझिएको पाएपछि र उताबाट हतारिन पर्दैन सोचेको कुरा पाउँछौ भन्ने हरियो बत्तीको सिग्नल आएपछि यिनले यूटर्न लिएका र छिमेकीको लागि सीमा विवाद बिर्सिदिएका हुन् रे भन्ने गाइँगुइँ हल्ला चलेको सुनिएको थियो । अहिले पनि संसदीय समितिमा महत्वपूर्ण सुझाव दिइसकेपछि सरकारी तहबाट कुटनैतिक प्रयास गर्न दबाब पुर्याउने महान उद्देश्यले वडा स्तरको कार्यक्रममा जोडदार तरिकाले त्यो विषय उठाएकोमा कुनै शंका गर्ने ठाउँ छैन । मान्छेले आफैले आफैलाई त्यसै महान भन्ने र अरुले पनि त्यसै महानमा गन्ने होइन रहेछ, बुझ्यौँ त बद्री बाबु?’, हरिप्रसादले हाँसी हाँसी भने ।

‘हो नि काका । यसमा त सत्तापक्ष प्रतिपक्ष विपक्ष निष्पक्ष र अरु कुनैपनि पक्षका नेताहरु बाँकी छैनन, विरोध जनाउन र प्रतिबद्धता छ भनाउन । सबै दलका नेता, कार्यकर्ता, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक समाज, लेखक, बुद्धिजिवी, पत्रकार, मजदुर, सर्वसाधारण आदि सबैको एउटै विचार र धारणा देख्दा र सबैले एकै किसिमले सामजिक सञ्जालमा बोल्दा लेख्दा सबैलाइ आनन्द लागेको अनि राष्ट्र्यि एकता जागेको छ काका’, प्रफुल्ल भएर बद्रिले भन्यो ।

‘तिमीले भनेको एकदम ठीक हो । तर यसमा मधेसका नेताहरुले चाहिँ अहिलेसम्म एक शब्द बोलेका र मुख समेत खोलेका छैनन् रे भन्ने हल्ला सुनिन्छ । तिमी भने सबैको सक्रिय सहभागिता छ भन्छौ । मैले अलि कुरा बुझिनँ बाबु’, हरिप्रसादले भने ।

‘तपाईँले भन्नु भएको ठीकै हो काका । उहाँहरुले सिमाना मिचिएको र हामी वर्षौँदेखि थिचिएको बारेमा अहिलेसम्म बोल्नु भएको थाहा छैन । यसमा उहाँहरुको पनि कुनै गल्ति छैन । उतातिर उहाँहरुको रोटी र बेटीको सम्बन्ध भएकोले र अहिलेसम्म त्यसरी नै सम्बन्ध अगाडि गएकोले बोल्न नमिलेको पनि होला । फेरि बेटी त यताको उता र उताको यता भइरहने चलन चल्दै आएको कुरा सबैले चाल पाएको हुनाले नौलो पनि भएन । तर रोटीको हकमा भने उहाँहरुको राजनैतिक प्राण उतैको रोटीले धान्ने हुनाले उताबाट जे गर भन्यो त्यसैलाइ मान्ने र त्यहि काम मात्रै जान्ने बाध्यता भएकोले उहाँहरुलाई विवादमा तान्ने काम कसैले पनि गर्न हुँदैन । जताको रोटी खायो उतैको गोटी बन्न पर्ने बाध्यता बारे बताइराख्न पर्ला जस्तो त लाग्दैन । आखिर बाध्यता सबैको आआफ्नै किसिमको हुन्छ । यसलाई अन्यथा सम्झन हुँदैन । अहिले बोलिरहेका र सीमा मिचिएको बारेमा मनपेट खोलिरहेका वरिष्ठहरुको पनि बाध्यता जनताले नबुझेका होइनन् । बाध्यतावश यति बोल्न अघि सरेको र दुईचार दिन विरोध प्रदर्शन गरेको भरमा यो विवाद सकिँदैन भन्ने उहाँहरुलाई पनि राम्ररी थाहा छ । दिउँसो विरोध गरेर छिमेकी विरुद्ध बोलीको गोली दाग्ने र बेलुका दूतावासमा सशरिर उपस्थित भएर माफी माग्ने पुरानो गौरवमय परम्परा अहिले पनि कायम नै छ रे भन्ने पनि सुनिन्छ । कतिसम्म सत्य हो त्यो चाहिँ थाहा भएन’, अलि निराश भएजस्तो गरेर बद्रिले भन्यो ।

‘यो पुस्ताका वरिष्ठहरुलाइ त सबैले चिनेका छन् र उनीहरुलाई ककसले केके दिएर किनेका छन् भन्ने पनि सञ्चार माध्यमहरुबाट बाहिर आएकै छन् । अहिलेको नेतृत्व तहको त क्षमता र योग्यता अनुसार यो भन्दा बढी हुन र गर्न सक्लान् जस्तो लाग्दैन । अब तिमीहरु बाट मात्रै जनताले आशा गरेका र तिमीहरुकै भर परेका छन् । अहिलेका बाट त केही होला जस्तो देखिँदैन । त्यहि भएर तिमीहरु जस्ता युवाहरु अगाडि आउन पर्छ हाम्रो साथ सहयोग र समर्थन छ बाबु’, हरि प्रसादले भने ।

‘काकाको सद्भावको लागि धन्यवाद छ । हाम्रा नेताहरुले पनि आफूले सकेको र चुनाव ताका बकेको काम गर्न खोजे जस्तो त गरेकै छन् । अहिले नै उनीहरुले केही गरेनन् र जनहितमा अघि सरेनन् भन्न मिल्दैन । उही अहिलेको सीमा विवादमा मात्रै त्यस्तो देखिएको र शीर्ष नेताहरुको विषयमा पत्रपत्रिकाहरुमा अलि बढी लेखिएको हो कि जस्तो लाग्छ’, बद्रीले भन्यो ।

‘हुन त त्यो पनि हुन सक्छ । तर आफैले निरीक्षण मर्मत सम्भार रेखदेख र जगेर्ना गर्न पर्ने सीमा स्तम्भहरुको समेत हेरचाह र मर्मत नगरेर अलपत्र र बिजोग हालतमा राखेको छ रे भनेको सुन्दा चाहिँ सबैलाइ दिक्क लागेको छ’, हरि प्रसादको भनाई थियो ।

‘त्यसमा त नेताहरुले के गरुन् । त्यसको लागि आवश्यक कर्मचारी खटिएकै छन् । आवश्यक बजेट पनि वर्षै पिच्छे निकासा भइरहेकै छ । नीति नियम पनि बनेकै छन् । त्यति गर्दा पनि नेताहरुलाई मात्रै दोष दिन त अलि मिल्दैन नि । होइन र काका?’, बद्रीले भन्यो ।

‘सीमामा खटिएर जाने, त्यहाँ सरकारी बजेट लाने र त्यसलाइ भाग लगाएर खाने कर्मचारीहरु पनि नेताहरुका ज्यादै नजिकका सहयोगिहरु नै हुन्छन् रे । तल देखि माथिसम्म तैँ चुप मैँ चुप भएर बसेपछि र यहि चाला देखेर छिमेकीले सीमा मिचेर कसेपछि मात्रै तातेर देखाउँदा यस्तै हुन्छ । सरकारको पनि त्यस्तै हो कुर्सीमा भएकालाइ छिमेकी चिढाउँदा त्यसमा टिकिन्न कि भन्ने डर र कुर्सी हेरेर र्‍याल काढिरहेकालाइ कुर्सी खाली हुँदा छिमेकीले नपत्याएर त्यसमा बिकिन्न कि भन्ने डर भएपछि सीमातिर भन्दा कुर्सीतिरै बढी ध्यान हुनुलाई पनि अन्यथा मान्न नहुने हुनाले त्यसलाइ पनि जनताले जायज ठान्न परिहाल्यो । त्यहि भएर विभिन्न तहमा वार्ता संवाद भ्रमण भेटघाट सम्पर्क आदिको माध्मबाट समस्या समाधान गरिने छ भनेर लेख्ने बोल्ने गरेर अहिलेको माहौललाई मत्थर गर्न पाएपछि शिरबाट ठूलो पत्थरको बोझ बिसाए जस्तो भएपछि छिमेकीलाइ हामी रिसाए जस्तो नदेखिने वातावरण बनाएर र हामी पूर्बवत भक्त छौँ भन्ने जनाएर अनि विरोध गर्न सक्नेला विभिन्न प्रलोभनद्वारा मनाएर ठीक पारेपछि आफ्नो समय कटिहाल्छ । त्यसपछि देखा जाएगा भन्ने नै देखियो । पहरोमा सिँगौरी खेलेर सिड्ग फुकाल्नु भन्दा केही नरम तरिका अपनाएर आफ्नो राजनैतिक र आर्थिक हैसियतलाईमाथि उकाल्नु पनि एक प्रकारको बुद्धिमानी हो । जनता विचराहरुको त के छ र ? दुईचार दिन जुलुस र सामाजिक सन्जालमा कराउँछन् अनि आआफ्नो काममा हराउँछन् र यस्ता कुरा राम्ररी बुझेका नेताहरु त्यो देखेर डराउँछन् भन्ने कसैले सोचेको छ भने त्यस्तालाई महामुर्खको पगरी भिराइदिए हुन्छ । बुझ्यौँ त बद्री बाबु?’, निकै बेर लगाएर हरिप्रसादले भने ।

‘तपाईँ पनि कहाँको कुरा कहाँ पुर्याउनु हुन्छ । हामी नालापानीमा लडेका वीरहरुका सन्तानलाई यस्ता लाछी कुरा मन पर्दैन बुझ्नु भो काका । हाम्रो आन्दोलनको दबाबले गर्दा सरकारले कालापानी लगायतका धेरै ठाउँमा बोर्डर अब्जरभेसन पोष्ट स्थापना गर्न लागेको छ । तपाईँँ भने यो आन्दोलनले माखो मार्दैन भनेजस्तो गर्नु हुन्छ’, अलि रिसाए जस्तो गरि उत्तेजित भएर बद्रिले भन्यो ।

‘हैन बद्री बाबु,नरिसाउन । तिमीहरुको आन्दोलन एकदम राम्रो छ । तिमीहरुले ठीक गरेका छौ । बोर्डर अब्जरभेसन पोष्ट राख्ने व्यवस्था त पहिले देखिनै छ नि । उहि त्यता खटाएका कर्मचारी र सुरक्षा कर्मीहरु पनि मनग्गे माल हात पर्ने ठाउँमा जान मरिहत्ते गर्ने अनि अरु ठाउँमा जान पर्दा पछि पछि सर्ने गर्नाले यस्तो भएको र माथि देखिका नेताहरुले पनि यस्तैलाइ प्रश्रय दिएकोले यो प्रथा बस्न गएको मात्रै भन्न खोजेको हुँ । तिमीलाइ दोष दिएको होइन । नालापानीको इतिहासमा गर्व गरेर कालापानी जोगाउनु भन्दा सबैको ध्यान आफ्नो दानापानीमा मात्रै गएपछि कस्को के लाग्छ र बद्रि बाबु’, हरि प्रसादले खुइय्य स्वास फेरे ।

‘हामीलाइ त्यति कमजोर नठान्नोस्,हामीले केहि गर्न सक्दैनौँ भनेर नमान्नोस् र अब हामी चुप लागेर बस्छौँ भनेर पनि नजान्नोस् । हामी, हाम्रा वरिष्ठ नेताहरु र हाम्रा लाखौँ कार्यकर्ताहरु मिलेर छिमेकीले मिचेका सबै सीमा क्षेत्रका जमिन तुरुन्तै फिर्ता ल्याएर सबैलाइ देखाइदिन्छौँ । बुझ्नु भो काका । अब अति भइसक्यो र पानी टाउको भन्दा माथि गइसक्यो । हाम्रो नेताको भनाई सापट लिएर भन्न पर्दा अब सीमा मिचाहा छिमेकीको हामीसित केही लाग्दैन, बुझ्नु भो?’, दाहिने हातको चोरी औँलो हरि प्रसादको नाकैमा जोतौँला जस्तो गरेर ठूलो स्वरमा करायो बद्री ।

‘तिमीहरुको खुट्टी हेर्दैमा हामी सबैले चाल पाइयो । अरु त मैले के भनौँ र बद्रि बाबु ?’, यति भनेर हरिप्रसाद पनि चुप लागे ।

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्