युवराज नयाँघरेसँग पुस्तक संवाद

‘पुस्तकलाई भगवान बनायौँ, साथी बनाउन सकेनौँ’

साहित्यकार युवराज नयाँघरेको जन्म २०२६ साल असोज १९ गते इलामको नाम सालिङ्गमा भएको हो। उनी सानैबाट साहित्यप्रति आकर्षित थिए। आफ्नो जीवनमा पूर्णकालीन ‘लेखन पेशा’ अपनाएका नयाँघरेको अध्ययन स्नातकसम्मको अध्ययन पूरा गरेका छन्।

निबन्ध र नियात्रामा विशेष दखल राख्ने नयाँघरेले १० वर्षको उमेरमा लेखन यात्रा सुरु गरेका थिए। २०३६ सालमा उनले लेखेको पहिलो कविता प्रकाशित भएको थियो। २०६५ सालमा उनी लिखित ‘एक हातको ताली’ निबन्ध संग्रहले मदन पुरस्कार पाएको थियो। उनी आफै अब पाउन बाँकी केही पुरस्कार छैन भन्छन्। हालसम्म छापिएका १८ पुस्तकमा ७ वटा नियात्रा र ११ वटा निबन्ध संग्रह छन्।

बोट बिरुवासँग आफूलाई मोह भएको बताउने नयाँघरेले आफू लेखक नभएको भए कृषक हुने बताउँछन्। आफूमा साहित्य मोह आफ्नी निरक्षर आमाबाट बिजारोण भएको बताउने नयाँघरेले आफ्नो पढ्ने बानीका बारेमा देश सञ्चारसँग कुराकानी गरेका छन्।

१) कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले म दुईवटा पुस्तकसँगै पढिरहेको छु। एउटा, यो वर्षको मदन पुरस्कार विजेता पुस्तक ‘रणहार’ हो। अर्को चाँही डा.सन्दुक रुइतको जीवन कथा पढ्दै छु। पहिलो किताब इतिहाससँग जोडिएको किताब, समाजशास्त्रीय अध्ययन धेरै भएको किताब भन्ने सुने, इतिहासलाई उहाँले अर्कै ढंगले विश्लेषण गर्नुभएको छ। र दोस्रो किताब आँखाका डाक्टरले लेख्नु भएको हो।

मेरो एउटा आँखाको शल्यक्रिया भएको छ, आँखाको महत्व के छ भन्ने म बुझ्दैछु। अनि उहाँ संघर्षशील व्यक्ति, लडाकु अनि जुझारु हुनुहुन्छ, उहाँले देशमा मात्र होइन विदेशमा पनि आफूलाई फरक ढंगबाट प्रस्तुत गर्नुभएको कारणले गर्दा पनि उहाँको जीवन कथा पढ्दै छु। पहिला अर्कै भाषामा थियो, अहिले खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गर्नुभएको छ, यही दुई पुस्तक आलो पालो गरेर पढ्दै छु।

२) कुन समयमा पढ्नुहुन्छ ?

मैले पढ्ने समय भनेको दसैँ र तिहारको बिचको समयमा हो। लामा छुट्टिमा टाढा जाँदा म पढ्ने गर्छु। त्यसपछि पुस्तक अनुसार पढ्ने समय हुन्छ, उपन्यासहरु म बेलुका पढ्छु। कविता, सस्मरणहरु, काब्य जस्ता विधाहरु म बिहानको समयमा पढ्छु।

मलाई बिहानको समयमा पढ्न मन पर्छ, बिहानको समयमा झ्यालको पर्दाबाट अलिकति छिरेको अलिकति उज्यालो हुन्छ नि, त्यसमा पढ्न मलाई धेरै मजा लाग्छ।

अझ गाउँमा कुसरी पढिन्थ्यो भने बाँसको चित्राले बेरेको टाटी हुन्थ्यो। लिपेको माटो खसेपछि बनेका साना प्वालबाट प्रकाश छिर्थे, त्यसमा निहुरिएर पढ्न रमाइलो हुन्थ्यो। त्यसरी पढ्दा मनै रमाइलो हुन्थ्यो।

मन नै त्यही पुग्छ, कोमल हुन्छ। साहित्यलाई साइत बनाएर पढ्नु भयो भने तपाईँ अर्कै संसारमा पुग्नु हुन्छ। होइन बलजफत तपईँ खाना पकाइरहँदा, टेलिभिजन हेर्दा अथवा गाडीमा पढ्नुहुन्छ भने तपाईँलाई दबाबमा हुनुहुन्छ।

३) कस्तो खालको पुस्तकरलेख मन पर्छ?

पुस्तक सन्देशमूलक हुनुपर्छ। अर्को, कुनै लेखकले लेखेपछि तपाईँ हृदयको तार बज्नुपर्छ। तरर बजोस् क्या। एउटा साहित्यिक प्रस्तुतिको शिल्पगत हिसाबले असाध्यै कोरीबाटी गरेर चिटिक्क बनाएको चिज पनि पढ्नु पर्छ। र सँगसँगै विचारको लागि सन्देशमूलक पुस्तक पनि पढ्नुपर्छ।

४) मन पर्ने लेखक को हुनुहुन्छ ?

नेपालका लेखहरुमा महाकवि देवकोटाको सिर्जनशीलता, शंकर लामिछाने, पारिजातहरु नयाँमा आधुनिक हिसाबले हेर्ने हो भने, ध्रुवचन्द्र गौतम, डाक्टर माधव पोख्रेल, कृष्ण धरावासी आदि। विदेशी पनि छन्।

५) पढ्ने वातावरण कसरी बन्यो रु प्रेरणा कसरी मिल्थ्यो ?

पहिलो मेरो आमा हो, सिर्जनाको बिउ रोपिदिने मेरो आमा हो। त्यसपछि मेरो घर संसार हो। आमाले सानो हुँदा गुणरत्नमालाका कथाहरु, महाभारत, रामायण सुनाउनुभएको थियो, त्यसबाट म धेरै प्रभावित थिए। अहिले मेरी श्रीमती र मेरा नानीहरुले मलाई लेख्ने वातावरण मिलाइदिन्छन्। यसलाई लेखनको भूत चडिसक्यो, अब लेख्न दिनुपर्छ भनेर सर्लक्क ठाउँ छोडिदिनुहुन्छ।

त्यसपछि लेखाइमा सिर्जनशील हुने पहिलो जिम्मेवारी भनेको लेखकको नै हो। सधैँ अरुका लागि काम गरिदिइन्छ। लेखनका, मोटिभेसनका कक्षाहरु दिने गर्छु। त्यसबाहेक मैले मलाई एक दिन दिन्छु, ‘शनिबार’ मेरो समय हो। त्यो दिन म चुकुल लगाएर आफूले आफूलाई छुट्टी दिन्छु। म त्यही दिन, निबन्ध लेख्ने, लेखेकोमा फूलबुट्टा भर्ने, कोरीबाटी सर्लक्कै पार्ने गर्छु।

६) पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ ?

लाग्छ नि ! साहित्य भनेको लेखको आफ्नै कुरा हो तर त्यसमा समाजको कुरा धेरै हुन्छ। समाजको म पनि एउटा सदस्य हो, मेरै दुःख, मेरै सकस, मेरै खुशी अनि मेरै रुवाबासी हो नि त ! त्यसैले लेखकले लेख्देको सिर्जनामा आफ्नै एउटा पाटो जोडिएजस्तो लागि हाल्छ नि।

जस्तो रवीन्द्रनाथ ठाकुर लिखित, ‘काबुलीवाला’ मा भएको पात्र म नै हो जस्तो लाग्छ। एन्टोन चेखोभका कथाहरु पढ्दा अनि आफूले एकदम दुःख पाउँदाखेरी आफूलाई त्यही पात्र जस्तै लाग्छ। अनि लाग्छ, मलाई कहिले यिनले पढेर लेखेछन्, मैले कैले भेटेछु र उनलाई मेरो कुरा सुनाएछु जस्तो लाग्छ।

म अमेरिका गए, अमेरिका बस्दाखेरी वाल्ट ह्वाइटम्यानका मार्मिक कविताहरु पनि आफैलाई अध्ययन गरेर लेखेको जस्तो लाग्थ्यो। हामी सानामा गाउँका पाखा पखेरामा बस्दाखेरी सिरुले चस्सचस्स घोच्थ्यो, खोलामा हातका औँला चोपलेर समय बिताउथ्यौ अनि बाँसका पात हेरेर समय बिताउँथ्यौ, बाँसघाँरीबाट पर उदाएको जुनलाई तल माथिबाट छलि छलि हेर्थ्यौँ, त्यो बाल्यकालको अनुभव उनले पाएछन् जस्तो लाग्थ्यो।

७) मन परेको किताब कुन हो ?

मलाई विशेश्वर प्रसाद कोइरालाको आत्मवृत्तान्त असाध्यै मन परेको किताब हो। हुन त त्यो उहाँ एक्लैको दृष्टिकोण हुन्, मौलिक विचार हुन्। त्यसमा समाज पनि छ, राजनीति पनि छ। दुई छिमेकीहरुसँगको राजनीतिक युद्धको कुरा, व्यक्तिगत आलापको कुरा पनि छ। त्यसपछि सँस्कृति, जनजीवन छ।

त्यसमा साहित्यिक स्वाद कम छ, गैर आख्यानको उत्कृष्ट किताब हो त्यो। त्यसमा व्यक्तिदेखि लिएर सँस्कृति, अर्थतन्त्रदेखि लिएर मनोविज्ञान देखि लिएर यति धेरै कुराहरु विपीले गजबसँग बोल्नुभएको छ, गणेशराज शर्माले सम्पादन गर्नुभएको छ। दुवै राम्रो नमुना छन्। शक्तिशाली र जीवन्त लाग्छ, नयाँ पुस्ताले पनि पढ्नु पर्छ।

८) पुस्तक दोहोर्याएर पढ्ने बानी छ ?

थुप्रो छन्। जस्तो पारिजातको किताबहरु, शंकर लामिछानेका निबन्धहरु, कृष्ण चन्द्र सिंह प्रधानका मैले धेरै निबन्धहरु पढेको छु। लैनसिंह वाङ्देलका पुस्तक पढेको छु। मैले डा. तारानाथ शर्माका निबन्धहरु एकदमै पढेको छु।

बरु नयाँको पुस्तक पढेको छैन, मैले झुटो बोल्नु हुँदैन। नयाँको अलि बढी हल्ला हुन्छ, खोलाको बगरमा लेखिएको शब्द जस्तै। पुराना ढुङ्गामा कोरिएको अक्षर जस्तो। अहिले मिडियाको खुल्लापन गर्दा पनि होला।

जब नयाँमा कुनै राम्रो चिज पाइदैन नि, तब पुरानातीर फर्केर जान मन लाग्ने रहेछ। केही पढौँ पढौँ लाग्छ, त्यसैले यो समयमा दृष्टिकोणले पढियो अब अर्को दृष्टिकोणले पढौँ न त भनिन्छ।

९) पढ्नै पर्ने पुस्तकहरु ?

थुप्रै छन्। हामी जीवनमा धर्म, अध्यात्म र दर्शनलाई चाँही जब मानिस सबै कुराले कमजोर हुन्छ, तब पढ्नुपर्छ भन्छन्। त्यो थोत्रो मानसिकताबाट बाहिर निस्कनुपर्छ। मान्छेले आफूलाई बलियो बनाउन, शक्तिशाली र उर्जाशील बनाउनको लागि अध्यात्मतिर पनि जोड्नुपर्छ।

अध्यात्म चुरो कुरा हो, त्यसपछि शिल्प, शैली र कला भनेको चाँही बाहिरको दुनियाँ हो। त्यो दुई कुरालाई सँगै पाठकले लान सक्यो भने त्यो दुवै यात्रा बलियो हुन्छ। ‘गीता, चाणक्य नीति, महाभारत, रामायण’ पढ्नुपर्छ । यो भित्र पनि धेरै जीवनलाई बुझ्ने कुराहरु छन्। साहित्य, सँस्कृतिसँग जोडिएका पुस्तक पढ्नुपर्छ। ज्ञानमणी नेपालले लेखेको इतिहाससम्बन्धि पुस्तक, ‘नेपालको महाभारत’ छ। विपी, लेखनाथका साहित्यहरु पनि पढ्नाले नेपालको परिवेशमा धेरै कुराहरु सिक्न सकिन्छ।

प्रविधिले इ–बुक इलाइब्रेरी आइसक्यो तर यसरी पढ्नु स्वाद हुँदो रहेनछ। त्यसले छिपछिपे ज्ञानमात्र दिने रहेछ। किताब पढ्नु, किताबको पाना पल्टाउनु, हराउनु अनि अर्को संसारको कल्पना गर्नुको आनन्द नै बेग्लै। प्रविधिले मान्छेलाई छिटो कुदाँउँछ तर ठाउँमा पु¥याउँदैन।

१०) पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

पढ्ने वातावरण बनाउन सरकारले पनि केही गर्नुपर्छ। विदेशतिर पुस्तकालय बनाउलाई लगानी गरेको छ। साना केटाकेटी रेलमा पनि पुस्तक पढ्दै हुन्छन्।

हामीकहाँ चाहिँ किताब बोक्ने सँस्कार छैन। पुस्तक भनेपछि होमवर्क गर्ने थन्काउने। समाजले पहिले नै भनेको छ, ‘ध्यान दिएर पढ’ है। ‘ध्यान भन्ने शब्द कति गहिरो रहेछ। यसको महिमा हामी बिर्सदै गएका रहेछौँ। हामी पुस्तकलाई पूजा गरेर थन्काउछौँ, पुस्तकलाई साथी बनाउँदैनौँ। यसलाई फेर्नुपर्छ, राज्य स्तरबाट केही नीति नियम बनाउनु पर्छ। पुस्तकालयहरु बनाउनुपर्छ।

मलाई लाग्छ हाम्रो समाज विद्यालयको पक्षमा भन्दा पनि जेलको पक्षमा गइरहेको छ। त्यसैले विद्यालय बनाउने बाटोतर्फ लाग्नुपर्छ। यसमा छलफल, बहस आवश्यक छ।

अनि पुस्तक जस्तो प्यारो, नजिकको साथी कोही हुँदैन। वातावरण आफैले बनाउने हो। विदेशीहरु हेर्नुहोस् त ! ती चिया खाँदा पनि किताब पल्टाइरहेका हुन्छन्। हिँड्दा हिँड्दै थाकेँ भने पनि यसो लठ्ठी टेकेर पढ्न थाल्छन्। यस्तो बानी हामीले सिक्न जरुरी छ।

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्