टक्क राेकिए बागमती सफाइतर्फ बढेका पाइला

शुक्रबार साँझ अमेरिकी दूतावासबाट एउटा इमेल आयो। इमेल आएको केही समयपछि फोन आयाे, ‘हाम्रो इमेल चेक गर्नुभयो?’, मैले जवाफ दिएँ, ‘हजुर हेरेँ।’

उहाँले फेरी थप्नुभयो, ‘थापाथलीको पुलमुनि बिहान ७ः३० बजेबाट बागमती सफाइ सुरु हुन्छ तपाईहरु आइदिनु होला।’ मैले हुन्छ भन्दै फोन राखिदिएँ।

शनिबार बिहान बागमती सरसफाइ अभियानको ३ सय ४० औँ हप्ता पूरा हुँदै थियो। सरसफाई अभियानमा ६ विदेशी मुलुकको सहभागिता रहने दुतावासले जानकारी दिएको थियो।

सरसफाइ अभियानमा विदेशी मुलुकको सहभागीता भनेपछि यो हप्ता पक्कै केही फरक होला भन्ने लाग्यो।

शनिबार बिहान ७ः३० बजे सुरु हुने भनिएता पनि म करिब ८ बजे तिर पुगेँ। पुलमुनिबाट हेर्दा सरसफाइ सुरु भइसकेको थियो। म हतारिँदै सरसफाइ भइरहेको ठाउँमा जान खाजेँ। अगाडि बढेका मेरा पाइला टक्क अडिए। सरसफाइ भइरहेको करिब सय मिटर अगाडि गुको थुच्चो देखियो।

हात–हातमा पञ्जा र मुखमा मास्क लगाएका ६ सय भन्दा बढी मानिसहरु त्यही गुको थुच्चो वरीपरी घुमिरहेका थिए। उनीहरु सबै फोहोर उठाउनमै व्यस्त देखिन्थे। केही समूह नदीको त्यो चिसो पानीमा उभिएर फोहोर तानतुन गर्दै थिए। केही नदीको किनारका प्लास्टिकका टुक्राटाक्री उठाउँदै थिए। कोही सेल्फी खिच्नमै व्यस्त थिए।

तर कुनै पनि अभियन्ताको आँखा नदी छेउमा रहेको गुको थुच्चोमा परेन।

उसो त केही समय अगाडि मात्र नेपाल खुला दिशा मुक्त घोषणा भएको छ। बोटोमा हिड्दा बाटोमा ‘गु’ भेट्टिहाल्छ। देश खुल्ला दिशा मुक्त घोषणा भएता पनि मानिसहरुमा चर्पीको प्रयोग गर्नुपर्छ भन्ने चेतनाको कमी छ।

सरसफाइ अभियानमा अमेरिका, पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान लगायतका देशका व्यक्तिहरुले सहभागिता जनाएका थिए। अभियानमा १ सय ५० जनाले सहभागिता जनाएका थिए। ती सहभागिले नदीको सफाइ राम्रोसँग गरे। उनीहरु माटोमुनि गाडिएका स–साना प्लास्टिकका टुक्रालाई माटो खोस्रेर निकाल्दै थिए।

उनीहरुका आँखा त्यो गुको थुच्चोमा पर्यो या परेन त्यो उनीहरु नै जानुन्।

यो सरसफाइ अभियान २०७० साल जेठ ४ गतेबाट सुरु भएको थियो। शनिबार ३ सय ४० हप्ता पुगन्जेलसम्म नदीको अवस्थामा केही सुधार आएता पनि पूर्णरूपमा सफा हुन सकेको छैन। नदी सफा बनाउने थुप्रै कामहरु भइरहेका छन्।

सरसफाइ अभियानमा जोडिएका अभियन्ताहरूका अनुसार नदी सरसफाईको एउटा उल्लेखनीय काम भइरहेको दावी गर्दै आइरहेका छन्।
हरेक शनिबार गरिने सरसफाइ अभियानमा सरकारी कर्मचारी, सेना, प्रहरी, विद्यार्थी, विभिन्न संघ संस्थादेखि सर्वसाधारणले सहभागिता जनाउने गरेका छन्।

सुन्दरीजलदेखि चोभारसम्म बग्ने गरेको बागमती नदीलाई विभिन्न १४ खण्डमा विभाजन गरी सरसफाईका लागि प्रत्येक हप्ताको शनिबार ठूलो संख्यामा मानिसले सहभागिता जनाउँदै आइरहेका छन्।

साप्ताहिक मात्र नभएर नदीहरूको सफाइ दैनिक गर्न जरुरी देखिन्छ। यसका लागि मानिसहरुमा चेतना जगाउन जरुरी छ। जसरी मानिसहरु आफ्नो घर सफा राख्छन्, त्यसरी नै नदीलाई पनि सफा राख्नुपर्छ भन्ने चेतना जगाउन सकिएको खण्डमा फेरि एकपटक उपत्यकामा सफा नदी बगेको देख्न पाइन्थ्यो की?

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्