तारानाथ पोखरेलको ‘तिम्रो यादमा’ सार्वजनिक

मोरङ– गजलकार तारानाथ पोखरेलको ‘तिम्रो यादमा’ गजलसंग्रह विमोचन भएको छ।

शनिबार विराट साहित्य संगमद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ एनपी आचार्यले संग्रहको विमोचन गरेका थिए। पोखरेलको ‘तिम्रो यादमा’ दोस्रो कृति हो।

यसअघि २०७१ सालमा ‘सितारा’ गजलसंग्रह प्रकाशित भइसकेको छ। श्रृगारिक रससहित समसामयिक विषयमा गजल लेख्न रुचाउने पोखरेलको विमोचित कृतिभित्र ५२ वटा गजल छन्। विमोचित गजल संग्रहका विषयमा गजलकार मधु पोखरेल र हरि कट्टेलले समीक्षा गरेका थिए। कार्यक्रममा कृतिकार पोखरेललाई आयोजक संस्थाले सम्मान गरेको थियो।

सोही अवसरमा आयोजित सिर्जना वाचनमा लावण्य सापकोटा, कृष्णराज कोइराला, लक्ष्मी श्रेष्ठ, मीनकुमार नवोदित लगायतले कविता, गजल तथा मुक्तकसहितका सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो। विराट साहित्य संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्य गोष्ठी गर्दै आएको छ। गोष्ठीले नयाँ र पुराना स्रष्टाहरूलाई जोड्ने काम गरेको संगमका अध्यक्ष ऋतु आशिकले जानकारी दिए।

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्