
जर्मनी आउँदो वर्ष हुने युरोकप फुटबलका लागि छनौट भएको छ । छनौट चरण अन्तर्गत शनिबार राति भएको समूह सी को खेलमा जर्मनीले बेलारुसलाई ४–० ले पराजित गरेको हो ।
जर्मनीको जितमा टोनी क्रसले दुई तथा मथायस जिन्टर र लियोन गोहेज्काले एक–एक गोल गरे । ४१ औँ मिनेटमा जिन्टरले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । ४९ औँ मिनेटमा गोहेज्काले अग्रता दोब्बर पारे ।
त्यसपछि क्रसले गोल गरेका हुन् । उनले ५५ र ८३ औँ मिनेटमा गोल गरे । जितपछि सात खेलबाट १८ अंक भएको जर्मनी समूहको शीर्ष स्थानमा छ र उसले युरोकपमा स्थान पक्का गरेको छ ।
यस्तै उत्तरी आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको नेदरल्याण्डसले पनि समूह सीबाट युरोकपमा स्थान बनाउने पक्का भएको छ । नेदरल्याण्डस समूहको दोस्रो स्थानमा छ १६ अंकसहित ।
तेस्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डको १३ अंक छ र उसले युरोकपमा छनौट हुनका लागि प्लेअफ खेल्नु पर्ने भएको छ ।