फाइल तस्बिर

दाङ – प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव नेकपाका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार दिउँसो १ बजे बजेतिर बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७ प १२०४ नम्बरको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ । साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

यस्तै दाङबाट विप्लव समूहका अर्का एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विप्लव समूहका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई एक्लै हिँडिरहेको अवस्थामा शुक्रबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक शाहले बताए । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर राखिएको छ ।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्