कर्मका कुरा

छिनाेले जाेडेकाे हरिमायाको जीवन

विगत १८ वर्षदेखि उनको नाता काठसँग छ । १५ वर्षकै कलिलो उमेरमा दाइहरुको संगतमा ललितपुरको खोकनाकी हरिमाया महर्जनले काठमा बुट्टा भर्न सिकिन् । त्यसयता लगातार हरिमायाले काठमा विभिन्न आकृति कुँदेकी छन् ।

३३ वर्षकी उनको हातमा सानैमा बसेको सिप निखारिँदै गएको छ । सादा काठलाई विभिन्न आकृति दिँदै जाँदा उनलाई रमाइलो लाग्छ ।

केही समय अघि देश सञ्चारकी फोटो पत्रकार बर्षा शाह हरिमायाको घरमा पुगेकी थिइन् । सधैँजस्तै हरिमाया एक सुरमा थिइन्, उनका आँखा बुट्टा कुँदै गरेको काठमा परेको छिनोको टुप्पोमा थियो । अर्को हातमा रहेको हताैडाले छिनोको माथिल्लो भागमा हानिरहेकी थिइन् ।

१७ वर्षमा प्रेममा परेकी हरिमायाले १९ वर्षको हुँदा सवीर महर्जनसँग विवाह गरिन् । अहिले दुवैजना काठकै काम गर्छन् । त्यसकै आयले दुई सन्तानको पालनपोषण तथा शिक्षादीक्षा चलेको छ ।

जीवन राम्रै छ भन्छिन् उनी । हरिमायाले पढ्न त पाँच कक्षासम्म मात्रै पढेकी हुन्, तर उनको हातमा रहेको सीपले जीवन सजिलो बनाएको छ ।

हेरौँ यो भिडियो सामग्री