महिला लागु औषधी कारोबारीलाई पक्रिन गाह्रो

नेपालगञ्ज – बाँकेको हवल्दारपुरबाट २६ वर्षकी मिना गुभाजु ब्राउनसुगरसहित पक्राउ परिन् । स–साना पुरिया बनाएर बेच्दै गरेकी मिनालाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गर्‍यो । महिला प्रहरीलाई लगाएर मिनालाई समातिएको थियो ।

मिनाको साथबाट ७० मिलिग्राम ब्राउनसुगर बरामद भयो । मिना अहिले प्रहरी हिरासतमा रहेकी छन्।

पछिल्लो दिनमा सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषध ल्याएर बेच्नेमा महिला पनि भेटिएका छन् । प्रहरीका अनुसार, लागु औषधको लतमा फस्ने महिलाको संख्या बढ्दो छ । अहिले त महिलाले कारोबार पनि गर्न थालेका छन् । अधिक महिलाले घरपरिवारकै सदस्यसँग मिलेर कारोबार गरेको पाइएको छ । आफूलाई नभई नहुने केहीले बचाएर बेच्ने र अर्को ‘डोज’ किन्ने पैसा बनाउने गरेका छन् ।

महिलाले पुरुषको तुलनामा सहज रुपमा लागु औषधी भित्र्याउने गरेको भुक्तभोगीहरु बताउँछन् । प्रायः ब्राउनसुगर गोप्य अंगमा राखेर भित्र्याइन्छ । चाहे त्यो पुरुष हुन् या महिला । महिलाले स्तन र योनाङ्गको आसपासमा राखेर ब्राउनसुगर ल्याउने गरेका छन् । लागु औषध नियन्त्रण ब्यूरोमा महिला प्रहरी नहुँदा कतिपय बेलामा समस्या भएको छ । ब्यूरोमा खटिएका एक प्रहरी भन्छन्, ‘महिलाले रजस्वला भएको भन्दै प्याड लगाएर त्यहीभित्र राखेर ल्याउँछन् । हामीलाई शंका लागेपछि महिला प्रहरी बोलाएर जाँच्न लगायौँ । उनले घिन मानेर प्याड खोलेर हेरिदिइनन् ।’

ब्यूरोका इन्चार्ज वीरबहादुर थापाले ब्यूरोमा महिला प्रहरी नहुँदा खासै समस्या नभएको बताए । । ‘हामीसँग नभए पनि छेउछाउका चौकीमा महिला प्रहरी छन् । उनीहरुलाई भनेर जाँच गर्ने गरेका छौँ।’ थापाले भने, ‘महिलालाई जाँच गर्नु भने गाह्रो छ । सुराक पक्का हुनु प¥यो । गोपनियताको कुरा पनि आउँछ ।’

नाकामा खटिएको ब्यूरोको टोलीले पुरुषलाई सजिलै खानतलासी गर्छन् । महिलालाई जाँच गर्न केही दिनदेखि ‘रेक्की’ गर्नुपर्छ । सुराक आएपनि पक्का गर्नुपर्छ । अनि मात्रै महिला बोलाएर जाँच गर्ने गरिएको छ । प्रहरीलाई कतिपय महिलाले बुर्का लगाएर कारोबार गरिरहेको सुराक आएको छ । तर, उसलाई समात्न भने सकेको छैन ।

ब्यूरोका इन्चार्ज थापाका अनुसार, गतवर्ष पक्राउ परेकामध्ये ८ प्रतिशत महिला थिए । तथ्यांकले महिला प्रयोगकर्ताको संख्या बढ्दो नै देखाइरहेको छ । साउनयता भने धेरै महिला पक्राउ परेका छैनन् । ब्यूरोले ६६ वटा कारबाहीमा ९६ जनालाई पक्राउ गरेर कारबाही गरेको छ । यसमा महिला एकजना मात्रै छन् । नेपालगञ्ज कारागारमा लागु औषध मुद्दामा १६ जना महिलाले सजाय काटिरहेका छन् ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा एक ग्राम ब्राउनसुगरलाई दुई हजारमा ल्याइन्छ । त्यसलाई यता ल्याएर १५ वटासम्म पुरिया बनाएर बेच्ने गरिन्छ । एक पुरियाको कम्तीमा एक हजार रुपैया पर्छ ।

चरेश, अफिम बोक्नेमा भने महिला अधिक छन् । यिनीहरु भने प्रयोगकर्ता हुँदैनन् । कारोबारीले केही रकम दिएर निश्चित ठाउँसम्म पुर्‍याउन लगाएको हुन्छ । चरेश बोक्दा पक्राउ पर्ने महिलाको संख्या नेपालमात्रै होइन, भारतीय कारागारमा छन् । बहराइच जेलमा १० जना नेपाली महिलाले सजाय काटिरहेका छन् । ‘महिला, बालबालिका, अशक्तलाई कारोबारीले प्रयोग गर्छन्, ब्यूरोका इन्चार्ज थापाले भन्नुभयो, धेरैजसो त भरिया हुन्छन् । केही चाहिँ कारोबारी नै हुन्छन् ।’

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्