आर्यन सिग्देललाई १० प्रश्न

‘आफूले निर्वाह गरेका पात्रहरुमा बाँच्छन् कलाकार’

‘चकलेटी लुक्स’ अनि ‘लभर ब्वाइ’ भनि चिनिने नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘च च हुई’ मङ्सिर ६ गते प्रदर्शनमा आउँदै छ। किस्मतदेखि यो चलचित्रसम्म आइपुग्दा आर्यानले अभिनय गरेको चलचित्रको सङ्ख्या ३५ कटेको छ। कलेज पढ्दा पढ्दै योजना बिना नै यो क्षेत्रमा आइपुगेको बताउँछन्।

‘च च हुई’ प्रदर्शनको मुखमा आइपुग्दा साथी कलाकार मिरुना मगर तथा भोला सापकोटासँगै प्रमोशनको लागि हिँडेका आर्यानले देश सञ्चारकी सुजाता खत्रीसँग केही आफ्नो, केही चलचित्र क्षेत्रको बारेमा कुराकानी गरेका छन्।

१) कलाकारिता क्षेत्रमा लागेको भएको कति वर्ष भयो ?

२०५६ सालबाट ‘नाटक’ मा अभिनय गर्न थालेको मैले, स्टेज शो बाट मेरो अभिनय यात्रा सुरु भएको हो। त्यसपछि टेलिचलचित्र अनि चलचित्रमा आएँ।

२० वर्ष भयो । मैले चलचित्र कतिवटा भयो भनेर गनेको चाँही छैन, तर ४० पुगेको छैन, ३० भन्दा माथि छ। मेरो उमेर जस्तै छ। मैले विषेशगरी ‘लभ सिनेमा, एक्सन प्याक लभ सिनेमा’ हरुमा काम गर्ने अवसर आयो, त्यही गरेँ। थ्रीलर, सोसल ड्रामामा पनि काम गरेको अनुभव छ। मलाई रमाइलो लाग्ने जनरा चाँही ‘एक्सन’ हो तर ‘लभ स्टोरी’ मा काम धेरै गरेँ।

२) अभिनय क्षेत्रमा कसरी आउनुभयो ?

म एकदमै ‘लास्ट मिनेट डटकम’ को मान्छे हो। यो क्षेत्रमा कोहीबाट प्रेरित भएर आएको होइन, योजना बिनै आइपुगेको हुँ। भोलिको दिनमा पनि म के गर्छु भन्ने कुरा थाहा हुँदैन। यो क्षेत्रमा म स्थापित हुन्छु, कलाकार बन्छु भन्ने त्यस्तो प्लानिङ्ग थिएन । ‘स्टेज शो मा रमाइलो हुन्छ रे’ भन्ने सुनेर यता लागियो, हुँदा हुँदै यतै रमाइयो।

म वीरेन्द्र सैनिक क्याम्पस सल्लाघारीबाट सिफ्ट भएर पिपुल्स क्याम्पस पढ्दै थिएँ । कलेजको तीन महिना छुट्टी थियो, निराजन सिग्देल, मेरो दाइले मलाई ‘त राम्रो नाच्छस पनि, हिँड् न टाइम पास पनि हुन्छ’ भनेपछि म गएको हुँ। म बिदा उपयोग गर्न हिँडेको, हिँडेको हिँडेई भएँ।
टेलिभिजनमा हेरेर नै नाच्न, अभिनय गर्न र फाइट सिकेको हुँ। म समाचारमा समेत नाच्ने गर्थेँ।

३) के कारणले अझै यहि क्षेत्रमा हुनुहुन्छ ?

यो क्षेत्रमा आउँदा मलाई परिवारको सपोर्ट थिएन, डेढ दुई वर्ष त मैले कलेज जाने भनेर लुकी लुकी ड्रामाको क्लास गइरहेको हुन्थे। पछि थाहा पाएपछि गाली गर्नुभयो, राम्रो भविष्य छैन भन्नुहुन्थ्यो। जब चलचित्रमा काम गर्न थालेँ, त्यसपछि उहाँहरु म माथि विश्वास गर्न थाल्नुभयो।

चलचित्रमा काम गर्दै जाँदा अनुभूत भयो कि म यसकै लागि आएको हो। मसँग अरु चिज छैन। यति थाहा पाएपछि मैले मेरो आत्मसन्तुष्टि हेरेँ। अहिले पनि म त्यही हेर्छु। यतिका वर्ष यो क्षेत्रमा काम गर्दा मैले पारिश्रमिक र चलचित्रको सङ्ख्या कहिले पनि ध्यान दिइन। चाहिने चिज हो तर त्यसैलाई मात्र प्राथमिकतामा राख्यो भने मेरो तीव्रता घट्छ।

४) के–के कमाइयो ?

पहिलो त ३५ माथिको सिनेमा कमाइयो। अनि यहाँ मलाई गरिने सम्मान र माया।

५) कुनै विशिष्ट पात्र बनेर चलचित्रमा काम गर्न मन छ ?

राम्रो पात्र आओस्, अनि कथा आओस् मलाई काम गर्न केही पनि समस्या छैन। जुन पनि गर्न तयार छ। मैले मेरो काममा ड्रिम क्यारेक्टर बन्ने भनेर सोचेको छैन।

६) यो क्षेत्रमा तपाईँलाई सबैभन्दा राम्रो लाग्ने कुरा के हो ?

म स्क्रिप्ट, अनि सुटिङ्गको माहोलमा नै एकदमै रमाउँछु। मैले सबैभन्दा इन्जोय गर्ने कुरा भनेको क्यामरा हो। जतिबेला क्यामराले खिच्छ, त्यतिबेला मलाई आफू एकदमै ग्ल्यामरस, सेक्सी, बिउटीफूल लाग्छ। म कहीँ पनि खुल्न सक्दिन, धेरै बेर एकै ठाउँमा बस्न सक्दिन । जब क्यामरा हुन्छ, म २४ घण्टा पनि त्यहाँ टिक्न सक्छु।

७) नराम्रो कुन कुराको लाग्छ ?

म कमजोरी औँल्याएर बस्दिन। तर बेला बेलामा चलचित्रकर्मीहरुको एकै स्वर नभएको चाहिँ खड्किन्छ। अनि चलचित्र क्षेत्रको लागि सरकार पनि सहयोगी भइदियोस्।

हाम्रो सिनेमा इन्डस्ट्री पनि छैन। अहिले त व्यक्तिको बलबुतोमा चलचित्र क्षेत्र अगाडि बढिरहेको छ। त्यो बाहेक कुनै पनि क्षेत्रको पहल नै छैन, सुरु नै भएको छैन।

हुन त क्लिन फिडको कुरा छ, विदेशी चलचित्र प्रदर्शनमा रोक लगाउनु पर्ने कुरा छ। तर त्यसको लागि कुरा मात्र भयो, नीति नियमहरु बनेको छैनन्। कानून बन्नु पर्यो।

८) तपाईँ कुन हस्तिबाट प्रभावित हुनुहुन्छ ?

कलाकारहरु खत्रा हुने भनेको उनीहरुले निर्वाह गरेको पात्रका कारणले हो। कलाकार बलियो हुने भनेको अभिनयले मेरो लागि यही एउटा भन्ने छैनन्। आमिर खानको पात्रहरु मलाई बलियो लाग्छ।

९) नयाँ पिढीको आगमनलाई कसरी लिनु भएको छ ?

अझ धेरै आउँनुपर्छ। भोलि सिनेमा बनाउँदा कलाकार नपाउने समस्या नहोस्। मेरो समयमा कलाकारहरु नै थिएनन्। सकेसम्म धेरै कलाकार आउनुपर्छ, राम्रो कलाकार आउनु पर्छ। धेरै भए भने प्रतिस्पर्धा हुन्छ। यसले निखारता आउँछ। एकाधिकारको बेफाइदाका उदाहरणहरु प्रशस्तै छन्।

१० ) अब अगाडि के हुन्छ होला ?

अब पनि राम्रो चलचित्र आए काम गरिन्छ, जीवन जसरी चलेको छ त्यसरी नै चल्छ। तत्कालै म निर्देशनतर्फ आइहाल्दिन, यो अलि टफ छ मेरा लागि। अहिले नै हात हाल्दिन। मलाई चलचित्र क्षेत्रले नै चिनायो, भोलि पनि म जहाँ हुन्छु लचचित्र क्षेत्रकै एक पाटोमा हुन्छु।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्