अन्तर्वार्ता

‘स्पाइन दुखाइका कारण अनेक हुन सक्छन्,तर हेलचेक्र्याँइ नगर्नुस्’

‘स्पाइन दुखाइका कारण अनेक हुन सक्छन्,तर हेलचेक्र्याँइ नगर्नुस्’

मेरुदण्ड, घाँटी, ढाड दुख्ने समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्। बलिँदो जीवनशैलीका कारण घाँटी, ढाड, मेरुदण्डको दुखाइ बढ्दै गएको उनीहरुको बुझाई छ।

अस्पताल पुग्ने ९५ प्रतिशत बिरामी ढाड र गर्धन दुख्ने समस्या लिएर आउने गरेका छन्।

नेपालमा मेरुदण्डको समस्या अरु देशको तुलना बढी लडेर र सडक दुर्घटनाका कारण हुने गरेको चिकित्सले बताउने गरेका छन्। यसै विषयमा देश सञ्चार संवाददाता प्रतिभा चन्दले राष्ट्रिय ट्रमा सेन्टरका स्पाइन सर्जन डा. गौरव राज ढकालसँग कुराकानी गरेकी छन्।

स्पाइन भनेको के हो?

स्पाइनलाई नेपालीमा मेरुदण्ड भनिन्छ। टाउको मुनिको हड्डिदेखि पुच्छरसम्मलाई स्पाइन अर्थात मेरुदण्ड भनिन्छ। स्पाइनमा के–के हुन्छ भन्दा नशाहरु, मुख्य नशा जसलाई हामी स्पाइन कर्ड भन्ने गर्छौँ। त्यसको मुल नशाबाट हाँगाहरु हुने गर्छ, जसलाई स्पाइनल नर्भ्स भन्ने गरिन्छ। त्यसलाई सराउण्ड गर्ने हड्डिलाई भर्टिब्रा भनिन्छ। त्यही भर्टिब्राको वरिपरी मासुहरु हुन्छ त्यसलाई स्प्यारा स्पाइनल मसल्स भनिन्छ।

राष्ट्रिय ट्रमा सेन्टरका स्पाइन सर्जन डा. गौरव राज ढकाल।

यही समग्रका स्पाइनल कर्ड, स्पाइनल नर्भ्स, भर्टिब्रा, प्यारा स्पाइनल मसल्सलाई स्पाइनल कोलम भनिन्छ। यस सम्बन्धी प्राक्टिस गर्ने व्यक्तिलाई स्पाइन सर्जन भनिन्छ।

मेरुदण्ड सम्बन्धी कस्ता समस्याहरु देखिएका छन्?

अहिले यो एपिडेमिक भइसक्यो। मेरुदण्डको समस्या माहामारी जस्तै भइसकेको छ। स्पाइन पेन, ब्याक पेन, नेक पेन धेरै देखिने गरेको छ। मेरो प्रयाक्टिसमा करिब ९० प्रतिशत बिरामीहरु स्पाइन, ब्याक र नेक पेनका आउने गरेका छन्।

यो हुनुका पनि धेरै कारणहरु छन्। तर मूलत: ६० देखि ७० प्रतिशत हाम्रो लाइफ स्टाइल नै हो। हाम्रो लाइफ स्टाइलमा सबैभन्दा पहिला त ‘वी आर नट एक्ससाइजीङ्’ यसको मतलब हामीले हाम्रो स्पाइनको हेल्थलाई ध्यान दिइरहेका छैनौँ।

हामी बिहान उठ्छौँ। बिहानका नियमित कुराहरु गछौँ। खाजा वा खाना खाएर गाडी, मोटरसाइकल, स्कुटरमा अफिस जान्छौँ। अफिस पुगेदेखि हामी बिहानदेखि साँझ घर फर्किन्जेलसम्म एउटै कुर्सीमा बस्छौँ। अफिस सकिएपछि फेरि सवारी साधनमै घर फर्किन्छौँ। साँझको खाना खान्छौँ। सोफामा बसेर टिभी हेर्छौँ वा मोवाइल चलाउछौँ। अनि सुत्छौँ। समग्रमा हाम्रो लाइफ स्टाइल भनेकै यही हो। यसैमा हामी फोकस छौँ।

त्यो २४ घण्टामा हामीले कति पटक हाम्रो स्पाइनको केयर गर्छौँ वा स्पाइन हेल्थको लागि एक्ससाइजलाई डिभोट गर्छौँ भन्ने कुरा हो। जसमा हामी जिरो छौँ।

हामी कसरी बस्छौँ। खानपानमा कति ध्यान दिन्छौँ। कसरी काम गछौँ। केमा हिँड्छौँ। भन्ने कुराले पछि गएर स्पाइन, ब्याक र नेक पेन निम्तिने गर्छ। ‘सो यसको मेजर फ्याक्टर’ भनेकै लाइफ स्टाइल हो।

अरु डिजिज् स्पेसिफिक पनि हुन्छ। डिजिजहरुमा अहिले धेरै जसो ‘डि जेनेरेटिभ स्पाइनल कन्डिसन’ भन्ने गरेका छौँ। हाम्रो उमेर भइसकेपछि स्पाइनमा धेरै परिर्वतन आउने गर्छ। यो परिर्वतनले गर्दा यस्ता पेनका समस्याहरु देखिने गर्छन्।

त्यसैगरी अर्को भनेको ‘स्पाइनल ट्यूमर्स’ अथार्त मेरुदण्डको क्यान्सर। ५० वर्षको उमेरभन्दा माथिका व्यक्तिलाई घाँटीमा, मेरुदण्डमा र ढाडमा दुखाई भएको खण्डमा उनीहरुलाई यस्तो दुखाई क्यान्सरको कारणले भएको हुन सक्छ।

अर्को डिफमिटिज अथार्त रिडको ढाड बाङ्गिने, कुप्रो पर्ने हुँदा ढाड दुखाईको समस्या हुने गर्छ।

ढाड दुखाईको समस्या धेरै जसो ६० वर्षदेखि माथिका व्यक्ति र महिनावारी सुकेका महिलामा यस्ता समस्याहरु देखिने गर्छ। उनीहरुमा यस्तो समस्या धेरै किन देखा पर्छ भने यो उमेरमा क्यालसीयमहरु हार्डबर्डको हड्डिबाट बाहिर जाने गर्छन्, जसलाई हामी अस्टोपोरोसेस् भन्ने गर्छौँ। यसले गर्दा उनीहरुमा अस्टोपोरोटिस् स्पाइनल पेन हुन सक्छ।

स्पाइन, ब्याक र नेक पेनका धेरै कारणहरु छन्।

रिडको हड्डि बाङ्गिने समस्या के कारणले हुन्छ?

यो समस्या कि बच्चाहरुमा हुन्छ, कि ३०–४० वर्षदेखि माथिका व्यक्तिहरुमा हुन्छ। बच्चाहरुमा चाहिँ पेटबाटै बोकेर आउने गरेको पाइन्छ। कुनैमा भने बच्चा हुर्किँदै जाँदा उनीहरुमा देखिने गर्छ। बच्चामा देखिनेलाई हामी ‘अडल्ट डिजेनेरेटिभ स्कोलियोसिस्’ भन्ने गर्छौँ। भने ३०–४० वर्षमाथिका व्यक्तिहरुमा हड्डि बाँगिने समस्यालाई हामी स्कोलियोसिस् भन्ने गर्छौँ। यो दुईवटा फरक चिज हो।

बाङ्गो हड्डिलाई सिधा बनाउन मिल्छ?

यसलाई सिधा बनाउन मिल्छ। तर बच्चाको ढाड बाङ्गिएको छ भने घरमा बसिरहनु हुँदैन। ढाड बाङ्गो देखिने बित्तिकै स्पाइन सर्जनकहाँ पुगेर कन्सल्ट गर्नुपर्छ। जति चाँडो हामीहरुले बच्चाहरुमा यो समस्या देख्यौँ, अप्रेशनको मेजोरिटी हुँदैन।

सामान्य शल्यक्रिया गरेर वा बेल्ट लगाएर ढाडलाई सिधा पार्न सक्छौँ। तर यसलाई हामीले नेग्लेट गरेर बच्चा हुर्कँदै गएको खण्डमा उसको ढाड बाङ्गिने क्रम पनि बढ्दै जान्छ। र सिभियारिटी पनि बढ्दै जान्छ। यसो भएको खण्डमा धेरै कम्प्लिकेसन्सहरु आउँछन् र शल्यक्रियाको शिभियारिटी बढ्दै जान्छ। त्यसकारण यसलाई सर्जरीबाट ठीक गर्न सकिन्छ तर चाँडो भने गर्नुपर्छ।

मेरुदण्डको समस्या लिएर कुन उमेर समूहका बिरामीहरु अस्पताल पुग्ने गरेका छन्?

‘एक्टिभ पिपुल’, ‘योङ’ व्यक्तिहरुमा धेरै देखिने गरेको छ। अफिसमा काम गर्ने व्यक्तिहरु अझ धेरै जसो बैङ्कमा काम गर्ने व्यक्तिहरुमा यो समस्या बढ्दो छ। उनीहरु दिनभरि कम्प्युटरमा बसेर काम गर्ने गर्छन्, जसले गर्दा उनीहरुमा ढाड र घाँटीको समस्या बढ्दो छ।
त्यसैगरी गाडीका चालक, मोटरसाइकल, स्कुटर कुदाउने व्यक्तिहरुमा पनि यो समस्या बढिरहेको छ।

निहुरिएर काम गर्ने व्यक्तिहरुमा पनि यो समस्या बढिरहेको छ।

तर पछिल्लो समय बच्चाहरुमा पनि ढाड र घाँटी दुख्ने समस्या बढिरहेको छ। उनीहरुमा यो समस्या देखिनुका कारण स्कुलको हेभी ब्याग, निहुरेर मोबाइल चलाउनु हुन्।

घाँटी तथा ढाड दुखिरहँदा घाँटी वा ढाड मोड्न कति उपयुक्त हुन्छ?

होइन, त्यसो गर्नु हुँदैन। त्यसो गर्दा कहिले काहीँ मसल्सहरु स्प्याजनमा जान सक्छन्। हामी धेरैको बानी के छ भने कपाल काटी सकेपछि उनीहरुलाई मोडाउन दिने चलन छ। तर त्यसो गर्नु हुँदैन। किनभने स्पाइनल कर्ड एकदमै सेन्सेटिभ हुन्छ। त्यसमा समस्या वा इन्जुरी भयो भने प्यारालाइसिससम्म हुन सक्छ। आफूले पनि टाउको मोड्नु हुन्न र अरुलाई पनि मोड्न दिनु हुँदैन।

मेरुदण्ड, घाँटी, ढाड सम्बन्धी हुने समस्याबाट बच्नका लागि के गर्न सकिन्छ?

‘भेरी सिम्पल। मेजरिटी अफ नेक एण्ड ब्याक पेन रिलेटेड टू लाइफ स्टाइल’ भने पछि हामीले हाम्रो लाइफ स्टाइललाई परिर्वतन गर्नु पर्‍याे। हेल्दी लाइफ जीउनु पर्‍याे। हाउ इज इट पोसिबल भन्दा २४ घण्टाबाट ३० मिनेटदेखि १ घण्टा आफ्नो मेरुदण्डलाई माया गर्नुपर्छ। अथार्त बिहान उठेर ब्यायामहरु गर्नुपर्छ। वातावरण राम्रो छ भने दर्गुन जाने गर्नुपर्छ। गर्मी महिनामा पौडी खेल्ने जाने गर्नुपर्छ।

जस्तो काठमाडौँको वातावरण राम्रो छैन, तर घरमै सानो जिम बनाउन सकिन्छ अन्यथा नजिकैको इण्डोर जिम जाँदा हुन्छ।

कुर्सीमा बसेर लामो समय काम गर्नेहरुले पछाडि सर्पोट भएको कुर्सीको प्रयोग गर्नु पर्छ। लामो समयसम्म एकै ठाउँमा बस्नु हँदैन। एक घण्टामा बसेको ठाउँबाट उठेर तन्किएर हिँड्डुल गर्नुपर्छ।

यसको उचारको पछि निको हुने सम्भावना कति हुन्छ?

हामी सबैले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने सबै दुखाईका लागि शल्यक्रिया नै गर्नुपर्छ भन्ने हुँदैन। करिब ९० प्रतिशत मेरुदण्डका समस्याहरु शल्यक्रिया नगरेरै निको हुने खालका हुन्छन्। सामान्य औषधि, फिजियाथेरापी, लाइफ स्टाइल परिर्वतन गरेको खण्डमा यो समस्या निको हुने गर्छ। र यसलाई शल्यक्रिया गरिरहन पर्दैन। बाँकी १० प्रतिशत व्यक्तिलाई मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ।

त्यसमा पनि कस्तो व्यक्तिलाई शल्यक्रिया चाहिन्छ भने लामो समयसम्म औषधि खाएर वा फिजियाथेरापी गरेर पनि निको नभएका, नशा च्याप्पेका, दिसा पिसाबमा समस्या हुनथाले पश्चात मात्र शल्यक्रिया गर्नुपर्छ। त्यसकारण सबै व्यक्तिलाई शल्यक्रिया चाहिँदैन।

तस्बिर साैजन्य: डा. गाैरव राज ढकाल

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्