नेपालगञ्‍ज म्याराथनसँग जोडियो धारा तेल

नेपालगञ्‍ज-मंसीर ७ गते हुने नेपालगञ्ज म्याराथनमा धारा तेल जोडिएको छ।आइतबार क्रियटिभ ह्याण्डस् र केएल दुगड ग्रुपका बीचमा सम्झौता भएपछि नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक धारा तेल भएको हो।

आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीका अनुसार, अब म्याराथनको नाम धारा नेपालगञ्ज म्याराथन रहनेछ । केएल दुगडका महाप्रबन्धक प्रदीपकुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि ठकुरीले भने, ‘धाराको नारा ‘मुटु चाहिन्छ मुटु’सँग म्याराथनको कहि न कहि तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ।’

सरकार र तत्कालिन विद्रोह माओवादीका बीचमा मंसीर ५ गते बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यसपाली शनिबार पार्नका लागि ७ गते कार्यक्रम गरिदैछ।

आयोजकका अनुसार, पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ। त्यसैगरी ८ देखि १२ बर्ष उमेर समूहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ ।
यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ।

यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउने अध्यक्ष ठकुरीले बताए। खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ।अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ। कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।

नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन्।त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदै आएका छन्।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन्। यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गर्ने आयोजक तयारी गरेका छन्।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्