नेकपा सचिवालय बैठकद्वारा प्रधानमन्त्री ओलीलाई मन्त्री परिवर्तनको अनुमति

फाइल तस्बिर

काठमाडौँ– लामो समयदेखि चर्चामा रहेपनि कार्यान्वयन हुन नसकेको मन्त्रिपरिषद सदस्य परिवर्तनले एक दुई दिन मै पूर्णता पाउने संकेत देखिएको छ।

आइतबार साँझ बालुवाटारमा बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले त्यसका लागि अनुमति दिएसँगै प्रधानमन्त्रीले ओलीले साेमबार या मंगलबारसम्म केही मन्त्रीहरु हटाउने र नयाँ ल्याउने तयारी गरेको सचिवालयका एक सदस्यले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा मन्त्री परिवर्तन गर्नेबारे प्रस्ताव गरेका थिए र त्यस कामलाई अघि बढाउन सचिवालय सदस्यहरुले अनुमति दिएका थिए।

यसबारे आफ्ना पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लै पटक–पटक छलफल गरेको पृष्ठभूमिमा ओलीले सचिवालय बैठकमै त्यसबारे कुरा राखेका हुन्।

‘मन्त्री परिवर्तन गर्ने विषयमा सबैको सैद्धान्तिक सहमति भएको छ। तर क–कसलाई हटाउने र क–कसलाई ल्याउने भन्नेबारे सचिवालय बैठकमा छलफल भएन। यसबारे सम्भवत दुई अध्यक्षले छलफल गरिसकेको हुनुपर्छ’, ती सदस्यले भने।

दाहालले मन्त्रीपरिषद परिवर्तन हुन लागेको अभिव्यक्ति धेरै पहिलेदेखि सार्वजनिक रुपमा दिँदै आएपनि त्यसलाई ओलीले टार्दै आएका थिए। तर अब भने त्यसले गति लिने देखिएको हो।

उपचारका लागि विदेश जानुपूर्व अन्य काम जस्तै मन्त्रीपरिषद् परिवर्तन गर्ने ओलीको चाहना अनुसार काम अघि बढेको बुझिएकाे छ।

आइतबारको सचिवालय बैठकले पार्टीको प्रवास समन्य कमिटीको अध्यक्षमा युवराज चौलागाई, इन्चार्जमा विन्दा पाण्डे र सचिवमा श्रीप्रसाद साहलाई छनौट गरेको छ।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू