यी पाँच मन्त्रीहरु बाहिरिने अनुमान

काठमाडौँ– मन्त्रीपरिषद हेरफेर निश्चित प्राय देखिएपछि हालका कम्तीमा पाँच जनाको पद जाने अनुमान सत्ताधारी दल नेकपाको उच्च तहमा तीव्र बनेको छ।

आइतबारको नेकपा सचिवालय बैठकले मन्त्री बदल्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गरेसँगै कार्यसम्पादन, छवी या दुवैका आधारमा कम्तीमा पनि पाँच जनाको मन्त्री पद जानेछ।

यातायातमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मात्रृका यादव, महिला तथा बालबालिका मन्त्री थममाया थापा मगर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र कृषिमन्त्री चक्रपाणी खनालले संभवत मन्त्रीबाट हात धुनुपर्ने अवस्था आउने नेकपाका एक उच्च नेताले बताए।

उनीहरुको ठाउँमा ओलीका अत्यन्तै निकट मानिएका सांसद महेश बस्नेत, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतलाई ल्याउने तयारी पनि भएको ती नेताको दाबी छ ।

केही मन्त्रीहरुको विभाग पनि परिवर्तन गर्ने तयारीमा ओली रहेको बुझिएको छ ।  यो सँगै पार्टी महासचिव विष्णु पौडेललाई कुनै महत्वपूर्ण विभागसहित अर्का उपप्रधानमन्त्रीका रुपमा मन्त्रीपरिषद ल्याउनेबारे पनि ओलीले छलफल अघि बढाएका छन्।

सचिवालय बैठकमा भोली सोमबार या पर्सि मंगलबार नै मन्त्रीपरिषद बदल्नु पर्ने र नाम सिफारिस गर्न सक्ने प्रस्ताव राखेपछि सदस्यहरुले त्यसको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए।

‘सरकारप्रति जनअपेक्षा धेरै छ । कार्यसम्पादन छिटो र स्तरीय गर्नुपर्ने छ । त्यसका लागि केही मन्त्री बदल्नु पर्ने भयो,’ ओलीलाई उद्धित गर्दै सचिवालयका एक सदस्यले देशसञ्चारसँग भने,‘ यो कामलाई अव बिलम्ब गर्नु हुन्न।’

प्रधानमन्त्री ओलीले औपचारिकताका लागि पार्टी सचिवालय बैठकमा मन्त्री बदल्ने प्रस्ताव राखेपनि त्यसबारे उनले गृहकार्य गरिसकेको र सोमबार या मंगलबार सार्वजनिक गर्ने तयारीमा उनी रहेको बुझिएको छ ।

मन्त्रीपरिषदबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि ओलीले छलफल गरेको तर विशेषाधिकारका आधारमा आफैले उनीहरुको टुंगो लगाउने तयारीमा ओली छन्।

दाहालले यसअघि पटकपटक मन्त्रीपरिषदमा फेरबदल हुन लागेको भन्दै सार्वजनिकरुपमा अभिव्यक्ति दिएका दिएपनि ओलीले नै त्यसलाई टार्दै आएका थिए।

संसदमा दुई तिहाई बहुमत प्राप्त सरकारले जनअपेक्षा अनुसार काम नगरेको टिप्पणी र आलोचना आफ्नै पार्टीबाट ओलीले खेप्नु परेको थियो।

भ्रष्टाचार, अनियमितता, विकासमा ढिलासुस्ती ओली नेतृत्वको सरकारमा व्याप्त रहेको जनगुनासो समेत छ ।

मंसिर १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्