नेपाल १३८ रनमा अलआउट, सोमपालको सर्वाधिक ३८ रन

काठमाडौँ – बंगलादेशमा जारी एसिसी इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट अन्तर्गत सोमबार नेपालले घरेलु टोलीलाई एक सय ३९ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा एक सय ३८ रनमा समेटिएको हो। पछिल्लोक्रमका सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए। ज्ञानेन्द्र मल्लले २२, करन केसीले १८ र आरिफ शेखले ११ र कुशल भुर्तेलले १० रन बनाए।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको नेपाल कुनै समय ६८-७ को स्थितीमा थियो। सोमपाल र करनले नवौँ विकेटका लागि ५० रनको साझेदारी गरे।

बंगलादेशका मिनहाजुल अबेदिन अफ्रदि र सुमोन खानले तीन तीन विकेट लिए। तनभिर इस्लाम र मेहदी हसनले दुई दुई विकेट हात पारे।

नेपाल यो खेलमा विजयी भएमा सेमिफाइनलमा स्थान बनाउन सफल हुनेछ । पराजित भएको खण्डमा अरु टिमको नतिजामा भर पर्नु पर्छ । नेपालले यसअघि हङकङलाई पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो ।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्