मृगौला पीडितले गरे बालुवाटार क्षेत्रमा प्रदर्शन

काठमाडौँ – मृगौला पीडितहरुले आफुहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगल उपलब्ध गराउन माग गर्दे प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

मृगौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए ।

प्रधानमन्त्री स्वयम् मृगौला पीडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मृगौला पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौति गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश पोखे ।

पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, बिरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् । उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए ।

प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरमण्डलासम्म आएका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रदर्शन गरेका थिए ।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्