प्रधानमन्त्री निवास बालुवाटार अगाडि मिर्गौला पीडितहरुको प्रर्दशन

काठमाडौं-मिर्गौला पीडितहरुले आफूहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगल उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन्।

मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न माग गरेका हुन्।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए। प्रधानमन्त्री स्वयम् मृगौला पिडित भएर पनि आफूहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिए।

प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गौला पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन्।आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश पोखे।

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन्।उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए।

प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघरमण्डला सम्म आएका थिए। उनीहरुले मण्डलामा पनि केही समय प्रर्दशन गरेका थिए।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्