यस्तो विविधतायुक्त देश संसारमा कतै छैनः किराँत धर्मगुरु लिङदेन

झापा – किराँत धर्म गुरु आत्मनन्द लिङदेनले नेपाल जस्तो साँस्कृतिक विविधता भएको देश संसारमा कतै नभएको बताएका छन्।

झापाको अर्जुनधारा जलेश्वर धामको बार्षिक अनुष्ठानको सोमबार उद्घाटन गर्दै किराँत धर्मगुरु लिङदेनले यही साँस्कृतिक विविधता र जातीय सदभाव नेपालको सम्पत्ति भएको बताए।

उनले भने, ‘यो देश भनेको महादेवको थलो हो। यहाँ विभिन्न जातिको बसोबास छ।’

नेपालमा सबैको कल्याण खोज्ने हो भने जातीय तथा धार्मिक एकता चाहिने उनको भनाइ थियो।

मान्छेको मूल दुश्मन अहंकार भएकाले त्यस्लाई त्याग्न उनले सुझाव दिए। यही कारण देश अशान्त बन्ने उनले बताए।

धर्मगुरु लिङदेनले भने, ‘मान्छे एउटै हो। एउटै भएर बाँच्नुपर्छ। अनि मात्र हामी प्रगतिशील बन्न सक्छौं।’

अचेल खानपानमा ध्यान नदिएका कारण मानिसहरु धेरै विरामी परेको उनले बताए। उनले भने, ‘रक्सी, जाँड तथा सुर्ती सबै खाएपछि धन्न यो भूँडीले थामेको छ।’

अर्जुनधारा जलेश्वर धामले ३७ औं बार्षिकोत्सवका अवसरमा सोमबारदेखि वामन पुराणको आयोजना गरेको छ।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्