डीएसपीले तिघ्रा छेड्ने धम्की दिएका खड्काले किन अपहरणमा परेको नाटक गरे ?

काठमाडौँ- सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो- नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्‍यो।

उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी संगठन नेपाल विद्यार्थी संघका नेता थिए। प्रहरी तत्कालै मूभ भयो। प्रहरीलाई किन पनि हतारो थियो भने केही साताअघि सार्वजनिक भएको अडियो रेकर्डमा बाँकेका  कोहलपुर इलाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीद्धारा चलखेल गरेको भन्दै तिघ्रा छेड्ने चेतावनी पाउने उनै खड्का थिए।

प्रहरीले खड्काको मोबाइल लोकेसन हेर्‍यो। खोज्दै जाँदा खड्का गोगंबुमा भेटिए। प्रहरीले अपहरणबारे सोधपुछ गरे। खड्काले प्रहरी पोसाकमा आएका तीनचार जनाको नकाबधारी समूहले होटलमा लगेर मोबाइलमा रहेको सामग्रीसमेत डिलिट गरेको बताए।

त्यसपछि होटलमा सिसिटिभी हुनसक्ने भन्दै प्रहरीले खड्कालाई लिएर उक्त होटलमा लैजाने तयारी गर्‍यो। यत्तिकैमा खड्काले आफुले अपहरणमा परेको नाटक गरेको बताएपछि प्रहरी छक्क पर्‍यो। अनुसन्धानमा खटिएका अधिकारीहरु प्रहरीले अप्ठेरोमा पार्न खड्काले अपहरणको नाटक रचेको दावी गर्छन्। खड्का तरुण दलका बाँके कोषाध्यक्ष हुन्।

यसअघि कोहलपुर इलाका प्रहरीले केही साताअघि बाँकेका नगरसभापति संजिवजंग शाहलाई हतियारसहित पक्राउ परेको समाचार सार्वजनिक भएलगत्तै सोही इलाका प्रहरी इन्चार्ज शाहीले खड्कासँग दशैँका लागि खसी मागेको र आफ्नो सरुवा गर्न चलखेल गरेको भन्दै धम्क्याएको छुट्टाछुट्टै दुई वटा अडियो रेकर्ड सार्वजनिक भएको थियो।

कोहलपुर प्रहरीले ज्यान मार्ने उधोगमा खड्काविरुद्ध पक्राउ अनुमति पाएको बताएपछि महाशाखाले उनलाई बाँके पठाउने तयारी गरेको छ। ‘ यो पक्राउ पुर्जीभन्दा पनि हामीले अदालतबाट पक्राउ गर्न अनुमति पाएका छौँ’, कोहलपुरका डीएसपी शाहीले भने।

स्रोतका अनुसार त्यस घटनामा खड्काविरुद्ध किटानी जाहेरी नपरेपनि पक्राउ परेकाले बयानमा उनको नाममा पनि पोलेका छन्।

२०७६ असोज २६ गते राती बाँकेको बैदनाथ गाउँपालिका-३ मा मेलामा नेपाली सेनाका जवान लोकेन्द्र शाहीमाथि भएको खुकुरी प्रहारमा कोहलपुर प्रहरीले ६ जनालाई पक्राउ गरि ज्यान मार्ने उधोगमा मुद्धा चलाएको थियो। पक्राउ परेकामध्ये यमबहादुर राना पुर्पक्षका लागि कारागार चलान भए भने अन्य धरौटीमा छुटेका थिए।

कोहलपुर इलाका प्रहरी प्रमुख शाहीले गत कात्तिक १९ गते भएको बाँके जिल्ला अदालतको आदेशले तरुण दलका जिल्ला कोषाध्यक्ष खड्काविरुद्ध पक्राउ अनुमती पाएको बताए।

‘अनुसन्धानका क्रममा त्यो घटनाको सम्पुर्ण योजनाकार नै खड्का रहेको पाइयो। पिडित र पक्राउ परेकाको बयानमा पनि त्यही उल्लेख छ’, शाहीको दावी छ।

यता, कोहलपुर प्रहरीले गत कात्तिक १४ गते तरुणदलका नगर सभापती सन्दीपजङ्ग शाहीलगायतलाई हतियारसहित पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट डीएसपी शाहीले खड्कासँग खसी मागेको र तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो।

पछिल्लो समय खड्काले आफूविरुद्ध कोहलपुर प्रहरीले फसाउने षड्यन्त्र गरेको निकटस्थहरुसँग बताउँदै आएका थिए।

मंसिर २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्