एक तेस्राे लिङ्गीकाे संघर्ष गाथा

नयाँ संसार रच्दै मेघना

नयाँ संसार रच्दै मेघना

म मेरो पहिलाको नाम बाहेक सबै भन्छु।

‘किन ?’, मैले सोधेँ।

म जुन थिइनँ त्यो म सम्झिन चाहन्न।

त्यो म छँदै थिइनँ।

हात मुठी पारेर उनले टेबलमा हल्का बजारिन् । एकछिन सन्नाटा कै राज रह्यो। म चुप, उनि पनि।

टिङरिङ…. गितारको धुन मेरो कानमा ठोक्कियो।

‘म त्यो जिवन बाँचेको थिइनँ। म जिउँदो लास थिएँ’, एकछिनको मौनतापछि लामो स्वास लिँदै उनले थपिन्,’मेरो कुरा कसैले बुझेको थिएन। न परिवार न समाजले।’

नाम बिनाको उनको अतितबाट आजको मेघना लामा हुन को–को सँग लड्नु परेन ? पुरुषबाट महिला हुँदा आफैसँग, परिवार, समाज र बाटोमा भेटिने हरेक मान्छेसँग।

उनी जति सुन्दर छिन्, यहाँसम्म आउन उनले गुजारेको समय त्यति सुन्दर छैन।

समय बदलियो, समयसँगसँगै मानिस पनि। तर, समाजमा अस्तित्वका लागि लडिरहेका मेघनाहरु जस्ताका लागि हेर्ने मानिसको नजर बदलिएको छैन। समय उस्तै छ। फेरियो त मात्र समाजको देखाउने नजर।

त्यही समाजमा उनले आफूलाई स्थापित गरेरै छोडिन् जुन समाजले उनलाई सजिलै स्विकार्न मानेको थिएन।

मेघना लामाको रुपमा ।

साँझको ५ बजिसकेको थियो । ठमेलको साघुँरो बाटो हुँदै उनको पिङ्क टिफ्यानी रेस्टुरेन्ट छिर्दा। बाटोपारीका अग्ला घरले झ्यालबाट छिर्न खोज्ने सूर्यको प्रकाशलाई रोकिसकेका थिए। भर्‍याङ उक्लिदै गर्दा रेस्टुरेन्टका फरक–फरक रङका लाइट, बजिरहेको अंग्रेजी गीतसँगै नाचिरहेका थिए। उमेरले २५ नकटेका जस्ता देखिने तीन युवा स्टेजमा मस्त थिए गितारको धुनमा।

‘शुक्रबार साढे ६ बजेतिर आउनुहोस् न’, मंगलबार फोन गरेर भेट्नु पर्ने कारण बताउँदा उनले भनेकी थिइन्।

गएर स्टेजसँगैको टेबलमा बसेँ। छेउको टेबलमा एक विदेशी बसेका थिए, साथमा वियर थियो। केहीबेरको पर्खाइपछि उनी आइन्। एनिमल प्रिन्टेट वान पीस, हल्का कर्ली मिसिएको सिल्की कपाल, ओठमा गुलाबी कलरको लिपीस्टिक, कुनै बेला उनी पुरुष थिइन् कसैले पत्याउँछ, मनमनै सोचेँ।

मुसुक्क हाँसिन् सँगैको कुर्सीमा बसिन्। टेबलको हुक्का तान्दै टाउको माथि फर्काएर फुररर् फालिन्। मैले एकटकले हेरिरहेँ। आकाशमा यात्रा गर्ने बादल जस्तै झ्यालबाट धुवाँ बाहिर गयो। मैले धुवाँलाई पछ्याएँ।

अगाडिकोे बिल्डिङमा लेखिएको थियो ‘ह्याप्पी आवर’।

बजिरहेको गीत बन्द गरेर स्टेजमा तीन युवाहरुले एड्रिन प्रधानको गीत ‘हिँड्दा हिँड्दै दोबाटोमा’ गाउने तरखर गर्दै थिए।

‘सुरुवात बाल्यकालबाटै गरौँ’, मैले भने। मुसुक्क मुस्कुराइन्। फेरि एक सर्को हुक्काको तानेर फुररर फालिन् र सुरु गरिन्।

‘त्यो जीवन अलि कठिन थियो । म को हो मलाई नै थाहा थिएन। कन्फ्युजनमा बित्यो। आइ वाज बर्न एज अ मेल । इभन आइ वाज अल्सो अन्नोन अवाउट द फ्याक्ट (म पुरुषको रुपमा जन्मेको थिएँ। म यथार्थसँग अपरिचित थिए)। समाज र परिवारले मलाई छोरा मान्यो तर भावनात्मक रुपमा म छोरी थिएँ।’

झापामा बिताएका १९ वर्ष अझै ताजा छन्। दमकका ती टोल, समाज, मानिस र साथीहरु उनको मन र आँखामा नाचिरहन्छन्। त्यो ठाउँले दिएको माया र तिरस्कार पनि।

‘म पुतलीसँग हुर्किएँ। सानोमा केटीसाथीहरुसँग धेरै खेलेँ। हामी घरकुटी खेल्थ्यौँ। केटा साथी मेरा हुँदै भएनन्। केटाहरुको ट्वाइलेटमा जानै अफ्ठेरो लाग्थ्यो। घरमा आएर ट्वाइलेट पस्थेँ’, उनले भनिन्।

‘म किन अरुभन्दा फरक छु ? म सधैँ आफैलाई प्रश्न गर्थे। म को हुँ ? म किन यस्तो छु ? यो कुराले मेरो मन सधैँ पोल्थ्यो। म केटीको शरीरमा जन्मेको थिइनँ न नी त।’, हातको मोबाइल टेबलमा राख्दै उनले भनिन्, ‘म फरक शरीरमा हुर्किएँ, फरक आत्मा लिएर। त्यो मेरो लागि अत्यन्तै अप्ठेरो अवस्था थियो। मेरो हरेक क्रियाकलाप केटीका हुन्थे तर मेरो शरीर केटाको थियो। जुन मलाई पनि थाहा थिएन। उमेर बढ्दै गयो र मेरो व्यवहार पनि परिवर्तन हुँदै गयो। मलाई लाग्दै गयो म यो होइन जो म छु।’

‘म छोरी हुँ भन्न सक्ने अवस्था थिएन। परिवार र समाजले त्यसलाई स्वीकार्न सक्ने अवस्था थिएन।’ त्यो कुण्ठा मनमा राखेर उनले १८ वर्ष बिताइन्। बाटोमा हिँड्दा जिस्काउँथे। उनकै शब्दमा– ‘छक्का’, ‘हिजडा’ जस्ता शब्द भनेर। गाउँघरमा अलच्छिनासम्म पनि भने।  उनले भनिन्, ‘मन भारी हुन्थ्यो। म केही गर्न सक्दैनथेँ। न कुनै प्रतिक्रिया दिन सक्थेँ। मलाई नै थाहा थिएन, मैले अरुलाई सम्झाउन सक्ने त कुरै भएन।’

अब त आश पनि मरिसक्यो… रहरहरु मुटुबाट हटिसक्यो.. स्टेजमा गायकले एड्रिन प्रधानको गीत बिट मारेर अर्को गीत गाउने तरखरमा लागे। हलुका गितार र ड्रमको आवाज कानमा ठोकिन्थ्यो।

अनि आशा पलाएर आयो

आशा त उनको पनि नमरेको होइन। रहरहरु उनको मुटुबाट पनि नहटेका होइनन्। उनले आफूलाई यो समाजबाट अलग्याउने प्रयास गरिन्। जुन समाजले उनलाई स्वीकारेन, बुझ्ने प्रयास गरेन।

उनले विष सेवन गरिन्।

दाइको मृत्यु भयो। भएको एउटा छोरो बिहे गर्नुपर्छ भन्ने घरमा कुरा चल्न थाल्यो। उनको मनमा चिसो भयो। लामो स्वास लिँदै उनले भनिन्, ‘म कसरी कोही केटीसँग बिहे गर्न सक्थेँ? म पनि त केटी नै थिएँ। म कसैलाई कसरी धोका दिनसक्थेँ? त्यो दिन म धरै रोएँ। अनि फैसला गरे विष खाने।’

‘हस्पिटल पुर्‍याइयो। म निको भएँ। भएको एउटा छोरो परिवारले गुमाउन चाहेन। परिवारले भन्यो–तलाई जे ठीक लाग्छ गर्’, केही हँसिलो अनुहार बनाउँदै उनले भनिन्,‘बाच्ने आशा जागेर आयो। केही गर्ने जाँगर कता–कता पलायो। परिवारमा नै गुम्सिएको मनले ढोका चिहाउन थाल्यो। लाग्यो– परिवारले मेरो कुरा बुझ्यो। अब म आजाद भएँ, पिँजडाबाट निस्किएको चराजस्तै।’

गाला ढाक्न आएको कपाल मिलाउँदै उनले भनिन्–‘लाग्थ्यो म पहिला कठपुतली जस्तो थिएँ। म मूर्ति जस्तै थिएँ। मेरो लागि यो समाज बिरानाे थियो। मेरो कुनै अस्तित्व नै थिएन। बजारको गुडिया जस्तो लाग्थ्यो आफूलाई। शरीर जस्तो देखिने तर प्राण नभएको। उनीहरुले मलाई सधैँ हाँसोको पात्रका रुपमा हेर्थे। बाटोमा हिँड्दा जिब्रो टोक्थे र कोही होच्याएर बोल्थे। म उनीहरुका लागि मान्छे नै थिइनँ।’

परिवारले मान्यो तर समाजलाई सम्झाउन त्यति सजिलो थिएन। टेकेका हरेक पाइलामा काँडा थिए। ‘हिँड्दा कसैले केही भनिहाल्छ कि भन्ने मनमा सधैँ लाग्थ्यो। परिवारसँग हिड्नै मन लाग्थेन। नराम्रो शब्दहरु कसैले भन्याे भने लाग्थ्यो परिवारलाई नराम्रो लाग्छ ।’

उनको परिवारले धरै सुन्यो छि:छि र दुरदुर गरेको। तर नसुनै झैँ गरी हिड्ने परिवारको वाध्यताको पीडा उनको मनमा गढेको थियो। लामो स्वास लिँदै उनले भनिन्– ‘अनि मैले घर छोड्ने निधो गरेँ। माया त थियो तर परिवारको काँडा बन्न मलाई मन लागेन। कस्तो छोरा पाएछ? यसको त परिवार नै यस्तै हो की सम्म भने। मन कठोर बनाएर झोला बोकेर हिँडे काठमाडाैँ। मेरो आँट नै मेरो साथी बन्यो।

नयाँ अध्याय

२०६७ सालतिर उनले काठमाडौँ पाइला टेकिन्। हुर्कँदै गरेको काठमाडौँ उनका लागि बिरानो थियो। सामान्य मानिसका लागि त साथी हुन नसक्ने काठमाडौँ उनका लागि के हुनसक्थ्यो र ! उनले यहाँ पनि त्यही व्यवहार सहन बाध्य भइन्, जुन उनले दमकमा गाउँघरका बाटोमा भोगेकी थिइन्।

बाटोमा हिँड्दा जिस्काउँथे। नराम्रा शब्दहरु सुन्नु पर्थ्यो। उनका हरेक पाइला भारी भईदिन्थे।

ती दिन सम्झँदै उनले भनिन्–‘कैयौँ दिन बाटोमा सुतेँ। तिर्खा लाग्दा पानीसमेत पिउन पाइएन। हामी जस्ताका लागि काठमाडौँमा घर नै थिएनन्। कसैले कोठा दिनै नमान्ने। उनीहरुको हेर्ने दृष्टिकोण नै फरक। जिब्रो टोक्थे, आँखा तन्काउथे र कोठा छैन भन्थे।’

‘हामीहरु त मान्छे नै होइन जस्तो व्यवहार गर्थे सबैले। हिँड्दा सबैको अचम्मको पात्र जस्तै हुन्थ्यौँ हामी’, हुक्काको कोईला मिलाउँदै उनले भनिन्–‘पर पुगेर पनि फर्केर हेर्थेँ। उनीहरुको त्यो हेराईमा आश्चर्य हुन्थ्यो। गिज्याएको भाव हुन्थ्यो। जुन अहिले पनि छ तर केही कम भने भएको छ।’

पछिल्ला केही वर्ष भने उनका लागि सुखद रहे।

अनि बाटो मोडियो

सन् २०१० मा उनले ‘मिस पिङ्क’को टाइटल जितिन्। जिन्दगीले कोल्टे फेर्‍यो। दमकमा सुरु भएको नाम बिनाको जिन्दगी बिसाउने मेसो मिल्यो।

‘या ! (अँ) त्यसले मेरो जिन्दगी यहाँसम्म ल्याउनमा ठूलो भूमिका छ’, हल्का मुस्कुराउँदै उनले भनिन्, ‘त्यसपछि सबैको नजरमा म परेँ। मलाई नोटिस गर्न थाले।’

सुरुमा त सबैले हाँसेर उडाए तेस्रो लिङगीहरुको पनि सौन्दर्य प्रतियोगिता भनेर। ‘किन, हामी के राम्रा हुन सक्दैनौँ र समाजका लागि?’, उनको प्रश्न थियो ।

नेपालमा त धेरैले चिन्न थाले। तर त्योभन्दा ठूलो उनले अन्तर्राष्ट्रिय मञ्च पाइन्। देशको प्रतिनिधित्व गरिन्। ‘त्यो समय म अत्यन्तै खुशी थिए’, उनले भनिन्, ‘मैले चाहेको बाटो यही थियो।’ उनको अनुहार खुलेर आयो। हाँसोमा सुख मिसिएको अनुभव उनको अनुहारले बताउँथ्यो। खोजेको माया पाउन थालेको अनुभुति गरिन् उनले।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर आएपछि उनको चर्चा चुलियो। सञ्चारमाध्यमले पछ्याउन थाले। त्यो आवाज दमकको त्यो बस्तीसम्म पुग्यो जसका कारण उनी परिवार छोडेर आएकी थिइन्।

अनि माया पाएँ

उनको परिवार खुशी छ। छिमेकीले आजभोलि छोरा वा छोरी जे भएपनि नाम राख्यो भन्छन्। ‘म आजभोलि गाउँमा गएपछि सेलिब्रेटी महशुस गर्छु’, मख्ख हुँदै उनले भनिन्, ‘गाउँघर बेलाबेलामा गइरहन्छु। सबै सेल्फी खिच्न आउँछन् खुशी लाग्छ। लाग्छ म सफल भएँ। जुन समाजलाई केही गरेर देखाउँछु भन्ने आँटले हिँडेकी थिएँ त्यो पूरा भयो।’

जुन समाजले गर्दा उनले त्यो ठाउँ छोड्नु परेको थियो त्यो अवस्था नरहँदा बढी खुशी छिन् उनी। भन्छिन्, ‘अब सबैले माया गर्छन्।’

‘समाजले मलाई सजिलै स्वीकार गरेको भए सायद म यहाँ हुँदैन थिएँ की ?’, उनले जिब्रो टोक्दै भनिन्, ‘त्यही घृणालाई मायामा बदल्नुपर्छ भन्ने एउटा सोचले नै म यहाँसम्म पुगेको छु र धेरै हदसम्म सफल पनि भएको छु।’

तर त्यो बदल्नु पर्ने सोच उनको परिवार र गाउँमा मात्र हैन त्योभन्दा केही टाढा राजधानी काठमाडौँमा पनि छ। जहाँ उनी जस्तै मायाको खोजीमा आएकाहरु घृणा सहेरै बसिरहेका छन्।

अब

झमक्क साँझ परिसकेको थियो। मोबाइलको घडीमा हेरेँ। सात बजिसकेको थियो। को आए को गए केही मतलब थिएन। उनी बताउँदै गइन् म सुन्दै गएँ, बीचबीचमा टाउको हल्लाउँदै। दुःखबाट सुरु भएको हाम्रो कुरा सुखमा आएर रोकिएको थियो। मलिन उनको अनुहार हँसिलो हुँदै गएको थियो।

घरी मोबाइल चलाउँथिन्, घरी टेबलको ‘लेमन टी’ खान्थिन् त घरी हुक्का तानेर फुररर फाल्थिन्। बोल्दै जाँदा बेलाबेलामा अंग्रेजी घुसाउँथिन्। भाइहरु यसो गर भनेर रेष्टुरेन्टमा सिकाउन भ्याइहाल्थिन्।

चार वर्ष भयो पिङ्क टिफ्यानी रेष्टुरेन्ट खोलेको। यसलाई पोखरामा पनि खोल्ने इच्छा छ उनको। यो रेष्टुरेन्ट भनेको उनका लागि समानताको प्रतिक हो। ‘यहाँ आउन कसैलाई बन्देज छैन। पुरुष, महिला र तेस्रो लिङ्गी सबैको लागि समान छ यो ठाउँ। परिवारसहित पनि आउनुहुन्छ सबैजना’, खुशी हुँदै उनले भनिन्।

अतितको तिक्तता छोडेर बस् अब अघि बढ्नु छ उनलाई। समाजमा मेघना लामाको रुपमा स्थापित हुनु छ। समाजलाई अझै सिकाउनु छ हामी को हौँ भनेर। समाजका प्रत्येक व्यक्तिहरुमा जरा गाडेर बसेको आफूहरु जस्ता प्रतिको धारणा बदल्नु छ। जुन काम उनले गर्दै आएकी छिन्।

‘२०१० को तुलनामा हामी जस्तालाई हेर्ने नजर धेरै परिवर्तन भएको छ। पहिला एलजिबिटिआई भन्ने थिएन। धेरैलाई थाहा थिएन। ‘इभन’ मलाई पनि थाहा थिएन। तर अहिले म कसैलाई सम्झाउन सक्छु यस्तो होइन यस्तो हो। कतिपयले बुझ्नुहुन्छ, कतिपय अहँ.. ’, आक्रोश मिस्रित हाँसोमा उनले भनिन्, ‘अनि लातोंका भुत बातौँसे नहि मान्ते।’

‘म लड्छु, जहिलेसम्म सक्छु। आफ्नो लागि। अनि म जस्तै अरुका लागि। जसलाई समाजले दबाएर राखेको छ उनीहरुका लागि।’, अनि…मेरो कान नजिकै आएर भनिन्,’ र बलिउड जान मन छ।’

मुसुक्क हासिन्। जिब्रो टोकिन्। म पनि मुस्कुराएँ।

आठ बज्न लागिसकेको थियो। लामो स्वास फेरेँ, ‘जान्छु’ बिदाका लागि औपचारिकता निभाएर निस्किए। हिन्दी फिल्म ‘थ्रि इडिएट’को ‘गिभ मि सम सन साइन गिभ मि सम रे, गिभ मि एनादर चान्स टु ग्रो अप ओन सेकेण्ड’ गीत भर्‍याङबाट झर्दा तलसम्मै कानमा ठोकिन्थ्यो।

लाग्यो  यो गीतले उनको पीडा बोलको छ।

र उनी जस्तै अरुकाे पनि।

 तस्बिर/भिडियाे : सुलभ श्रेष्ठ/देश सञ्चार

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्