दुग्ध विकास संस्थानको पदपूर्ति विज्ञापन बदनियतपूर्ण

काठमाडौँ – दुग्ध विकास संस्थानले शुक्रबार सार्वजनिक गरेको पदपूर्ति सम्बन्धी विज्ञापन बदनियतपूर्वक निकालिएको पाइएको छ।

एउटै पदका लागि खुला र आन्तरिकतर्फका उम्मेद्वारका लागि फरक–फरक शैक्षिक योग्यता, अतिरिक्त योग्यता र पदस्थापन हुने कार्यालय पनि फरक हुने गरी विज्ञापन प्रकाशन गरिएको हो।

विज्ञापनमा आन्तरिकतर्फ प्रतिस्पर्धा गर्ने सबै उम्मेदवारलाई केन्द्रीय कार्यालयमै पदस्थापन गर्ने उल्लेख छ भने खुला प्रतिस्पर्धाबाट जाने कर्मचारीलाई उपत्यका बाहिरका कार्यालयमा खटाइनेछ।

सरकारी तथा संस्थानमा एउटै पदमा आवेदन दिने उम्मेदवारका लागि आन्तरिक र खुलातर्फ फरक–फरक शैक्षिक योग्यता तोक्न पाइँदैन। संस्थानका विभिन्न कार्यालयका लागि एक सय ६३ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरिएको थियो।

सामान्यतया लोकसेवा आयोगको मापदण्डअनुसार छैठौं तह(अधिकृत)का लागि आवेदन दिन स्नातक उत्तीर्ण हुनेपर्ने भए पनि संस्थानले खुलातर्फका उम्मेद्वारका लागि स्नातकोत्तर हुनुपर्ने उल्लेख छ।

तर, त्यही पदमा आन्तरिकतर्फका कर्मचारीले भने १० जोड २ उत्तीर्ण भए पुग्न मापदण्ड तोकिएको छ। त्यस्तै अरु पदमा पनि आन्तरिक प्रतिस्पर्धा गर्नेलाई कम शैक्षिक योग्यता र खुलाबाट आउनेलाई आयोगको मापदण्डभन्दा बढी तोकिएको छ।

संस्थानका निमिक्त प्रमख सुवासप्रसाद भट्टराईले लोकसेवा आयोगबाट स्वीकृत भएअनुसार नै विज्ञापन गरिएको देश सञ्चारसँग दाबी गरे। उनले छैठौं तहका लागि स्नातक शैक्षिक योग्यता तोकेर लोकसेवामा पठाए पनि आयोगले नै स्नातकोत्तर बनाएर पठाएको आरोप लगाए।

‘हामीले लोकसेवा आयोगको स्वीकृतअनुसार नै विज्ञापन गरेका हौँ। छैठौं तहका लागि स्नातक प्रस्ताव गरेर पठाएका थियौँ, तर आयोगले स्नातकोत्तर बनाएछ’, भट्टराईले भने।

संस्थानले मंसिर १९ गतेसम्म आवेदन दिन सकिने समय तोकेको छ।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्