गाउँको बाध्यताः उपचारका लागि स्वास्थ्य शिविरकै भर

दाङ-कुप्रो परेर लठ्ठीको साहरामा बल्लतल्ल हिँड्दै ९० वर्षीया सर्जुदेवी अहिर डाक्टर खोज्दै आइपुगिन्। डेढ किलोमिटर टाढाबाट असिन पसिन हुँदै उनी उपचार गर्न आइपुगेकी हुन्।

ठूलो अस्पतालमा उपचार गर्ने सपना छ उनकाे। तर, तीन किलोमिटर टाढा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि जान नसकेकी अहिर गाउँमा शिविर सञ्चालन भएको खबरलले यहाँसम्म आइपुगेकी हुन्। ‘खुट्टा दुख्छ। निको हुन्छकी भनेर यहाँ आएँ’, उनले भनिन्।

रामप्यारे यादव ७५ वर्षका भए। उनको अनुहारको छालामा समस्या छ। उपचारको लागि लमहीसम्म पुगे तर निको भएन। उनी फेरि त्यही समस्या देखाउन शिविरमा पुगेका हुन्। ‘सञ्चो भएन। किन भएन भनेर देखाउन आएको हुँ’, उनले भने।

सुशिला शाहको तल्लो पेट दुख्ने समस्या छ। यो समस्याको उपचार गर्न टाढा जान नसकेकी उनले शिविरमा भिडियो एक्सरे गराइन्।

‘भिडियो एक्सरेबाट हेर्दा पाठेघरको मुखमा समस्या देखिन्छ’, फलोरेन्स अस्पताल लमहीका प्रमुख डाक्टर पुष्प भुसालले भने, ‘यस समस्याको निदानको लागि थप परिक्षण गर्नुपर्छ।’

ग्रामीण भेगमा उपचारको लागि नागरिकहरु निशुल्क स्वास्थ्य शिविरकै भर पर्ने गरेका छन्। उपचार र औषधि दुबै महँगो भएपछि गाउँका बिरामीहरु नि:शुल्क शिविर कुरेर बस्ने गरेको पाइएको हो।

‘गाउँमा स्वास्थ्य केन्द्रहरु छन्। त्यहाँ पनि औषधि पाइन्छ। तर उपचारको लागि शिविरमा भीड हुन्छ’, स्थानीय मदन भण्डारीले भने, ‘एउटा सिटामोलको ट्याब्लेटको लागि भएपनि मानिसहरु शिविर कुर्छन्।’

निःशुल्क स्वास्थ्य शिविरमा औषधि मात्र नभई ल्याब र भिडियो एक्सरे सेवा पनि निःशुल्क भएपछि बिरामीको चाप धेरै हुने गरेको छ। राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा फलोरेन्स अस्पतालले गाउँपालिकाको सहकार्यमा शिविर चलाएको हो।

शिविरमा उपचारको लागि बिहानैदेखि मानिसहरुको लाइन थियो। बिरामीको चाप बढेपछि उपचारमा केही समस्या भएपनि नाम दर्ता भएका सबैले उपचार सेवा पाएका छन्।

बृद्ध, महिला तथा बालबालिकाहरु उपचारको लागि पुगेका थिए। उपचारमा आएका अधिकांश महिलाहरुमा पाठेघरको समस्या पाइएको छ।

‘सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको समस्या अधिकांशमा देखियो’, डाक्टर भुसालले भने, ‘यो समस्याबाट निको हुनको लागि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ।’

शिविरमा डाक्टर पुष्प भुसाल, डाक्टर सविन आचार्यसहितको टोली उपचारमा खटिएको थियो। शिविरमा भिडियो एक्सरे, सुगर जाँच, पिसा र रगत जाँच नि:शुल्क गरिएको थियो।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्