नेकपा नेता हरिबाेल गजुरेलकाे आग्रह

‘ओलीले सरकार र दलको कार्यकारी नेतृत्व अरुलाई सुम्पिनुपर्छ’

फाइल तस्बिर

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्वास्थ्य स्थिति र उपचारको आवश्यकतालाई ध्यानमा राख्दै सरकार र दल दुवैमा कार्यकारी भूमिका तोक्न आग्रह गरेका छन्।

‘मन्त्रीपरिषद् र नेकपाको नेतृत्वको भूमिका तोकेर प्रधानमन्त्री केपी शर्मा ओली उपचारमा जानुपर्छ,’ गजुरेलले देशसञ्चारसँग भने।

तर उनले मन्त्रीपरिषद् र पार्टीको नेतृत्वको जिम्मा क-कसलाई दिनुपर्छ त्यो भने खुलाएनन्। गजुरेल पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन्।

हाल मन्त्रीरिषद् पुनर्गठनबारे भइरहेको छलफल र सञ्चारमाध्यमा आइरहेका अड्कलबाजीप्रति असन्तुष्टी देखाउँदै गजुरेलले भने,‘मन्त्री प्रधानमन्त्रीको चाहनामा सरकारमा रहन्छ। काम चित्तबुझ्दो नगर्नेलाई हटाए हुन्छ। तर सरकारको कामै ठप्प हुने गरी यस्ता हल्ला चलाउनु प्रत्युत्पादक हुन्छ, जुन अहिले भइरहेको छ।’

यता हट्ने मन्त्रीको चर्चाको सूचीमा नाम आइरहेका मध्ये एक मन्त्रीले मन्त्रीपरिषद् पुनर्गठनको हल्लाले आफूहरु अन्यौलमा परेको बताए। उनले भने,‘हामी त हट्ने सूचीमा छौँ । कतिपय सञ्चारमाध्यमले हटाइसके पनि। अब आफै भन्नुहोस् कसरी र के काम गर्ने यस्तो अवस्थामा छ।’

‘ओलीले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा नै स्वास्थ्यका कारण एक पद मात्र लिनु बुद्धिमानी हुन्थ्यो। तर अब स्वास्थाेपचार जाने पक्का भएपछि ‘लोड’ कम लिनु उपयुक्त हुन्छ र अब दल तथा सरकारमा कार्यकारी नेतृत्व हस्तान्तरण गर्नु पर्छ ओलीले,’ गजुरेलले भने।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्