मेयरकाे मनाेमानीविरुद्ध रंगेली नगरपालिकाका पदाधिकारी आन्दाेलित

मोरङ– रंगेली नगरपालिकाका नगरप्रमुख दिलिप बगडियाले एकपक्षीय ढंगबाट कामकारबाही अघि बढाएको भन्दै  नगरपालिकामा बहुमत सदस्यले आन्दोलन सुरु गरेका छन्।

मंगलबार नगरपालिका परिसरमा कार्यपालिका-४ वडाध्यक्षसहित १२ जना सदस्यले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिका प्रमुख बगडियाविरुद्ध आन्दोलन आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनमा उत्रिएका पदाधिकारीहरुले विगत ४ महिनादेखि कार्यपालिका बैठक नराखी एकपक्षीय मनोमानी ढंगले नगरपालिकाको काम गरेको आरोप लगाएका छन्।

आन्दोलनमा उत्रिएकाहरुले नगरप्रमुख बगडियाले कार्यशैलीमा सुधार नगरे मंसिर ८ गतेबाट अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जीतनारायण खवासले रंगेली सामुदायिक भवन निर्माणको कोटेशन लगायतको विषयमा शंका गर्दै विकास निर्माणको काममा आफ्नो उद्योगको सामान प्रयोग गरेको आरोप लगाएका थिए।

रंगेली बजारको सडक विस्तारको विषयमा अन्तिमपटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भएपनि बगडियाले आफूखुशी निर्णय गरेको उनकाे भनाई छ।

व्यक्तिगत रिसिइबी साँधेर घरमा डोजर चलाएको आरोप लगाउँदै कार्यपालिका सदस्य शंकरप्रसाद साहले भने,‘नगरको विषयगत समिति भंग भएता पनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आएका छन्। जुन कानुन विपरीत रहेको छ।’ प्रमुख बगडियाले कार्यपालिकाबाट निर्णय नगरी नगरप्रहरी र अस्पतालमा कर्मचारी भर्ना गरी दम्भ देखाएको साहको भनाइ छ।

आन्दोलनमा उत्रिएका पदाधिकारीहरुले अन्तिम कार्यपालिका बैठकबाट रंगेली बजार बिस्तारका क्रममा मुआव्जा मागका लागि सिफारिस गर्ने भन्ने योजना राखिए पनि बैठक नहुँदा गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने उल्लेख गरेका छन्।

नगरप्रमुखको ज्यादतिविरुद्ध उत्रन बाध्य भएको बताएका वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्र मण्डलले नगरप्रमुखले विना सूचना वडामा डोजर चलाएको आरोप लगाए।

त्यसैगरि, कार्यपालिका सदस्य महेश साहले रंगेली नगरपालिकालाई आवश्यक जग्गा खरिद विषयमा जग्गाधनीसँग ५ लाखमा कुरा गरी १० लाख रुपैयाँ कार्यपालिकाबाट निर्णय गराउन खोज्दा अन्तिम बैठक भाँडिएको बताए।

मंसिर ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्