टोटनह्यामले बर्खास्त गर्‍यो प्रशिक्षक पोकेटिनोलाई

इंग्लिस क्लब टोटनह्यामले प्रशिक्षक माउरिसिओ पोकेटिनोलाई बर्खास्त गरेको छ । यो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको टोटनह्यामले विगत पाँच वर्षदेखि क्लब सम्हाल्दै आएका पोकेटिनोलाई बर्खास्त गरेको हो ।

यो सिजन टोटनह्यामले लिगमा खराब प्रदर्शन गरिरहेको छ र हाल उ अंक तालिकाको १४ औँ स्थानमा छ । गएको सिजन उपाधि होडमा रहेको र च्याम्पियन्स लिगको उपविजेता बनेको टिमले यसपटक लय लिन सकेको छैन ।

टोटनह्यामका अध्यक्ष डानिएल लेभीले भनेका छन्, ‘हामी यो निर्णय लिन अति अनिच्छुक थियौँ । यो निर्णय बोर्डले हल्का रुपमा लिएको होइन न कि हतारमा लिइएकै हो ।’

उनले अघि भनेका छन्, ‘अफसोचको कुरा लिगमा गएको सिजनको अन्तिम र यो सिजनको सुरुका खेलहरु अति नै विचलित तथा निराश पार्ने खालका भए । यसले गर्दा नै बोर्डले कठिन निर्णय लिनु परेको हो ।’

४७ वर्षका पोकेटिनो सन् २०१४ को मे मा टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका थिए। अर्जेन्टिनी पोकेटिनोको टिमका सहायक जिसस पेरेज र प्रशिक्षकहरु मिगुएल डी’एगोस्टिनो तथा एन्टोनी जिमेनेजले पनि क्लब छोडेका छन् ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्