सार्वजनिक खरिद आठौँ संशोधन नियमावलीको व्यवस्था संशोधन गर्न माग गर्दै प्रदर्शन

फाइल तस्बिर

काठमाडौँ – निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौँ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो ।

सार्वजनिक खरिद आठौँ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् ।

ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश व्यक्त गरे ।

सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौता अनुसारको कानूनी कारवाही भोग्न आफूहरु तयार रहेको पनि उनीहरुले बताए ।

बुधबार र बिहीबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्