नजिकिँदै भ्रमण वर्ष, तर सन्तोषजनक छैन संकेत

काठमाडौँ–नेपाल भ्रमण वर्ष २०२० सुरु हुन धेरै समय बाँकी छैन। सरकार तथा निजी क्षेत्र भ्रमण वर्षलाई सफल बनाउन लागि परेको देखिन्छ। नेपाल भ्रमण वर्ष सफल हुन अहिलेको तुलनामा ३१ प्रतिशतले पर्यटक बढ्नु पर्ने नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछाने बताउँछन् ।

तर अहिलेसम्म जम्मा आठ प्रतिशतले मात्रै पर्यटक आगमनमा वृद्धि भएको छ । सन् २०१८ को अक्टोबरसम्म र अहिले (सन २०१९) को अक्टोबरसम्म पर्यटक आगमनको तुलना गर्ने हो भने जम्मा ८ प्रतिशतले मात्र पर्यटक आगमनमा वृद्धि भएको लामिछानेले बताए ।

यस वर्षको अन्त्यसम्म पर्यटक आगमनको तथ्याङ्क अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढ्ने आशा आफूहरुले राखेको तर यो पर्याप्त भने नरहेको उनले बताए । नोपालमा विशेषगरी दसैँ तिहारको बीचमा पर्यटकहरु बढी भित्रिने गर्छन् तर डेंगुकाे त्रास र एयरपोर्टको समस्याले पर्यटकको संख्यामा कमि आएको उनको अनुमान छ।

नेपाल पर्यटन बोर्डको तथ्यांक हेर्दा सन् २०१९ अक्टोबरसम्ममा नौ लाख पाँच हजार पाँच सय ५७ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये हवाईमार्गबाट आठ लाअ २० हजार चार सय ९९ पर्यटक भित्रिएका छन् भने एक लाख ५५ हजार ५८ पर्यटक स्थलमार्गबाट भित्रिएका छन्।

पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछाने

यस्तै सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य सरकारले लिए पनि उक्त लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको सूचना अधिकारी लामिछानेले बताए।

‘२० लाख पर्यटक भित्र्याउन २५ देखि ३० प्रतिशतले पर्यटक बढ्नु पर्छ। यो असम्भव भने छैन’, उनले भने। ‘भैरहवा विमानस्थल अपडेट हुने भनिएको छ। सो विमानस्थल सञ्चालनमा आएपछि र अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्णरुपमा सञ्चालनमा आएपछि २० लाख पर्यटक भित्र्याउने लक्ष्य सकारात्मक देखिन्थ्यो’, लामिछाने भन्छन् ।

सन् २०१७ र सन् २०१८ मा पर्यटक आउँदा नेपालको राजस्वमा २.२ प्रतिशतले योगदान पुगेको सूचना अधिकारी लामिछानेले बताए। विशेषगरी भारत, चीन, बांगलादेश, श्रीलंका र अमेरिकाका पर्यटकहरुका लागि नेपाल मुख्य पर्यटकीय गन्तव्य बनेको सूचना अधिकारी लामिछानेले जानकारी दिए।

नेपाल पर्यटन बोर्डको विगतको तथ्यांक हेर्दा सन् १९९७ मा ४ लाख २१ हजार ८ सय ५७ पर्यटकले नेपाल भ्रमणमा आएका थिए। यस्तै सन् १९९८ मा यसको तुलनामा ९ प्रतिशतले पर्यटक बढेको देखिन्छ । सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् १९९९ मा यसको ६ प्रतिशतले बढेर ४ लाख ९१ हजार ५ सय ४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २००२ मा चार लाख ६३ हजार ६ सय ४७ जनाले नेपाल भ्रमण गरेको तथ्याङ्क छ । सन् २००८ मा पनि पर्यटक घटेको देखिन्छ भने सन् २०१५ मा आइपुग्दा ३१ प्रतिशतले पर्यटकको संख्या घटेको बोर्डको तथ्यांकमा उल्लेख छ।

सन् २०१६ मा ४० प्रतिशतले पर्यटकको संख्या बढेको छ भने सन् २०१७ र सन् २०१८ मा आउँदा २५ प्रतिशतले बढेको देखिन्छ ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्