निजी सवारीलाई सार्वजनिक रुपमा प्रयोग नगर्न सरकारको चेतावनी

काठमाडौं-मोबाइल एपको माध्‍यमबाट दुई पाङ्ग्रे र चार पाङग्रे निजी सवारी साधनलाई सार्वजनिक रुपमा प्रयोग नगर्न सरकारले चेतावनी दिएको छ।

यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो।

विभागका अनुसार यो सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन्।विभागका निर्देशक गो ले कानूनमा लेखिएको कुरा कार्यान्वयन गरेरै छाड्‍ने बताए।उनले भने, ‘कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारवाही थाल्छौ।’

विभागले सूचनामा यातायात व्यवस्था ऐनको दफा ८(१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ।

यता,व्यवसायीहरुले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघका महासचिव सरोज सिटौला निजी सवारीको सार्वजनिक प्रयोगले सरकार र कानुनमाथि चुनौती दिएको बताए।

उनले भने, ‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानुनले नदिएको काम गर्न पाइँदैन।नत्र भद्रगोल हुन्छ। व्‍यवसाय नै उल्टो पाल्टो हुन्छ।’

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्