धनगढी– बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ का वडा अध्यक्षको मृत्यु भएको छ। ५८ वर्षे वडाध्यक्ष राजबहादुर चन्द घर नजिकै कँडेधार भन्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका वडाका कार्यालय सहयोगी प्रेमबहादुर चन्दले बताए।

मंगलबार चन्द कैलपाल मन्दिर धुराजातमा सहभागी भएका थिए। मृतक चन्दको शव बाटोभन्दा केही तल लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्युको कारण पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए। घटनास्थलको अध्यन गर्न प्रहरी निरीक्षक कमल विष्टको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली खटाइएको छ।

मृतक वडा अध्यक्ष चन्द मंगलबार राति स्थानीय कैलपाल मन्दिरमा लागेको मेला हेरर घर जान र्फकेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार मृतक वडा अधयक्षको शरीरमा घाउचोट नभएको बुझिएको छ।

मंसिर ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्