उच्च कूटनीतिज्ञले दिए बयान, ट्रम्पकै निर्देशनमा युक्रेनमाथि दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान जारी छ। त्यस क्रममा विगत केही दिनदेखि उच्च अधिकारीहरुसँग संसदीय समितिले सार्वजनिक रुपमा सुनुवाई गरिरहेको छ ।
पहिले गोप्य रुपमा भएका सुनुवाई अहिले सार्वजनिक रुपमा भएका छन् र यस क्रममा ट्रम्पलाई संकटमा पार्ने खालका बयानहरु आइरहेका छन् ।
पछिल्लोपटक सार्वजनिक सुनुवाईको चौथो दिन स्थानीय समय अनुसार बुधबार बिहान भएको सुनुवाईमा युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्याण्ड उपस्थित भए ।
उनी सम्पन्न होटल व्यवसायी हुन् र राष्ट्रपति ट्रम्पको चुनावी अभियानलाई १० लाख अमेरिकी डलर प्रदान गरेका थिए ट्रम्प निर्वाचित भइसकेपछि ।
आफूलाई ‘लाइफ लङ्ग’ रिपब्लिकन बताउने सन्डल्याण्डलाई ट्रम्पले उच्च कूटनीतिक जिम्मेवारी प्रदान गरेका हुन् । तर बुधबार भएको सुनुवाईमा उनले दिएको बयान ट्रम्पका लागि घातक बन्ने देखिएको छ ।
सुनुवाईको क्रममा राजदूत सन्डल्याण्डले राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको र आफूले राष्ट्रपतिको आदेशको पालना मात्रै गरेको बताए ।
आफूलाई यस सम्बन्धमा ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीबाट मार्गनिर्देशन आएको पनि राजदूत सन्डल्याण्डले सुनुवाईको क्रममा बताएका छन् ।
राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । त्यसकै लागि अनुसन्धान भइरहेको हो । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन् ।
राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।
जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ ।
अमेरिकी तल्लो सदनमा भएको सुनुवाईको क्रममा इयुका लागि अमेरिकी राजदूत सन्डल्याण्डले ट्रम्पका वकिल जुलियानले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई जो बाइडेन र हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन सुरु गर्ने घोषणा सार्वजनिक रुपमा गर्न बारम्बार आग्रह गरेको बताएका छन् ।
जुलियानीले ग्यास कम्पनी बरिज्माको नाम स्पष्ट रुपमा लिएको सन्डल्याण्डले बताएका छन् । युक्रेनी ग्यास कम्पनी बरिज्मामा जो बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य थिए ।
यस्तै ट्रम्पले जुलियानी मार्फत सन् २०१६ को चुनावमा रुसले नभई युक्रेनले दखल दिएको भन्ने बारे पनि अनुसन्धान थाल्न आग्रह गरेको राजदूत सन्डल्याण्डले सुनुवाईको क्रममा बताएका छन् ।
सन्डल्याण्डले सबै आग्रहको जानकारी विदेश मन्त्री माइक पोम्पेओलाई पनि रहेको र ट्रम्पकै निर्देशनमा युक्रेनमाथि दबाब बनाइएको बताएका छन् ।