उप-निर्वाचनकाे नौ दिन पहिल्‍यै मतपत्र हुम्लामा

सिमकोट– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मतपत्र मुख्य निर्वाचन कार्यालय हुम्ला आइपुगेका छन्।

निर्वाचन आउन नौ दिन बाँकी रहँदा निर्वाचन आयोगबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र हुम्ला ल्याइएको हो।

उपनिर्वाचनका लागि ३ हजार ७ सय २५ मतपत्र जिल्ला आएको मुख्य निर्वाचन अधकृत चन्द्रकान्त पौडेलले जानकारी दिए। उपनिर्वाचन हुने खार्पुनाथ गाउँपालिकामा ३ हजार ३ सय ८७ मतदाता रहेका छन्।

मतपत्र निर्वाचन आयोगका कर्मचारी निर्मल कुमार लुइटेलले जिल्लामा मुख्य निर्वाचन अधिकृत पौडेललाई बुझाएका थिए।

कुल मतदाताको दश प्रतिशत बढी मतपत्र आउने कानुनी व्यवस्था छ। मतपत्र आएपछि बुझेर कार्यालयमा राखिएको र त्यसको रुजु गर्ने काम भने बाँकी रहेको उनले बताए। अब एक दुई दिनमा रुजु गरिनेछ। मतपत्र कडा सुरक्षाका साथ राखिएको छ।

हुम्लामा खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसका लागि तीन राजनीतिक दलहरुले मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दीप बहादुर शाहीले उम्मेदवारी दिएका छन्।

यसअघि २०७४ को आमनिर्वाचनमा उक्त पदमा नेपाली कांग्रेस विजयी भएको थियो। गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएको थियो।

मंसिर ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्