ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान

थप संकटको घेरामा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च सल्लाहकारले आफूहरुको सुझाव उपेक्षा गरेर सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले नभई युक्रेनले दखल दिएको गलत सिद्धान्त स्थापित गर्न खोजेको बयान दिएका छन् ।

राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा जारी सुनुवाईको क्रममा राष्ट्रपति कार्यालयकी पूर्व उच्च सल्लाहारले बयान दिएकी हुन् ।

फिओना हिलले संसदीय समितिलाई दिएको बयानको क्रममा राष्ट्रपति ट्रम्पले आफ्ना व्यक्तिगत वकिल रुडी जुलियानको भनाई सुन्न दबाब दिएको बताएकी हुन् ।

सन् २०१६ को चुनावमा युक्रेनले दखल दिएको भनि स्थापित गर्न खोजिएको कुरा आर्थिक दृष्टिकोणबाट प्रभावित रहेको उनले बताएकी छन् ।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । त्यसकै लागि अनुसन्धान भइरहेको हो । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन् ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ ।

ट्रम्पले सन् २०१६ को चुनावमा रुसले नभइ युक्रेन तथा युक्रेनसँग सम्बन्ध भएका व्यक्तिले दखल दिएको भन्ने तथ्य स्थापित गर्न चाहेको कुरा महाअभियोग लगाउने सम्बन्धी अनुसधानको क्रममा खुलेको थियो । त्यसका लागि ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।

बिहीबार अनुसन्धानको क्रममा तय भएको पाँचौँ तथा अन्तिम दिनको सार्वजनिक सुनुवाई थियो। त्यसक्रममा हिलले अरु रिपब्लिकनले पनि सन् २०१६ को चुनावमा रुसले दिएको दखलबारे शंका व्यक्त गरेको बताएकी छन् । उनी राष्ट्रपति कार्यालयका लागि रुस विज्ञका रुपमा कार्यरत थिइन् ।

राष्ट्रपति ट्रम्पले आफूहरुको अध्ययन र सल्लाहको सट्टा आफ्ना व्यक्तिगत वकिलको भनाई सुनेर आर्थिक दृष्टिले प्रभावित भएको युक्रेनी सिद्धान्तमा जान दबाब दिएको उनले बताएकी छन् ।

हिलको बयानपछि ट्रम्पका वकिल जुलियानको यो घटनासँगको सम्बन्ध थप स्थापित भएको छ।

यसअघि बुधबार भएको सुनुवाईको क्रममा ट्रम्पले नै नियुक्त गरेका युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्याण्डले आफूहरुले जुलियानी मार्फत आएको राष्ट्रपति ट्रम्पको निदेर्शन अनुसार युक्रेनलाई दबाब दिएको बताएका थिए । यसबारे रक्षा मन्त्री, विदेश मन्त्री, उपराष्ट्रपतिसहित सबैलाई जानकारी रहेको बताएका थिए ।

पाँच दिन लगातार भएको सार्वजनिक सुनुवाईको क्रममा आएका तथ्यहरुले ट्रम्पले गैरकानूनी काम गरेको डेमोक्र्याटले बताएका छन् । ट्रम्प थप संकटको घेरामा देखिएका छन् ।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्