व्यापारिक घरानाका दुगडको यात्रा, आनन्दीदेवीदेखि ओलीराजसम्म

विराटनगर – सरकारले गरेको मन्त्रीपरिषद् हेरफेरमा उद्योगी व्यवसायी एवं नेकपाका समानुपातिकतर्फका सांसद मोतीलाल दुगड पनि परेका छन्। विराटनगरका दुगडलाई सरकारले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेको छ।

नेपालकै कहलिएका उद्योगीमा पर्ने दुगड पहिलो पटक मन्त्रिमण्डलमा अटाएका हुन्। यसअघि उनी विभिन्न राजनीतिक दलबाट सभाषद्सम्म भएका थिए। मोरङ व्यापार संघ हुदै उद्योग सगठन मोरङ उपाध्यक्षसम्म भएका दुगड विभिन्न उद्योगसँगै होटल व्यवसाय, व्यापारिक भवनमा केन्द्रित छन्। उनको सेन्चुरी मसला, दुगड स्पाईसेज, होटल ह्यारिसन चालु अवस्थामा रहेको छ।

त्यसैगरि, विराटनगर ६ मा व्यापारिक भवन भने निमार्णकै क्रममा रहेको छ। २०७१ सालमै द सेन्चुरी मल तथा होटलको सुभारम्भ भएको थियो। जुन हाल निर्माणकै चरणमा रहेको छ। उनी उद्योग संगठन मोरङमा २०६४÷६५ मा वरिष्ठ उपाध्यक्ष समेत भएका थिए। त्यसपछि राजनीतिक क्षेत्रमा होमिएका हुन्।

ओली क्याम्प

दुगड परिवारका ४ छोरा मध्ये कान्छा मोती दुगड नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निकटस्थ हुन्। प्रधानमन्त्री ओलीकै निगाहमा हाल राज्यमन्त्रीमा उनी चयन भएको मोरङ जिल्लाका नेकपाका नेताहरु बताउँछन्।

यसअघि प्रधानमन्त्री ओली विराटनगर आउदाँसमेत दुगडको भेटघाट प्राथमिकतामा पर्ने गरेको थियो । उनी विराटनगर आउँदासमेत दुगडकै होटलमा बसेका थिए। मोरङका नेकपाका केही नेताको भनाइमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंगापुर उपचारका लागि लैजाने क्रममा दुगडको सहयोग रहेको थियो।

राजनीतिक जीवन

विराटनगरमा उद्योग व्यापारबाट अघि बढेका दुगड २०६४ सालको पहिलो संविधान सभाको समयबाट राजनीतिमा प्रवेश गरेका हुन्। २०५९ सालमा गठन भएको नेपाल सद्भावना पार्टी नेपाल आनन्दीदेवीले दुगडलाई राजनीतिमा प्रवेश गराएको हो। सो समय उद्योगीका रुपमा परिचित दुगडको राजनीतिमा प्रवेश सहज थियो।

यद्यपि, ठूला दल नेपाली कांग्रेस, तत्कालिन एमाले, माओवादीसंग खासै निकट नभएका दुगड आनन्दीदेवी समूहमा समाहित भएका हुन्। पहिलोपटक राज्यमन्त्री बनेका दुगडले सो समय समानुपातिकतर्फबाट संविधान सभा सदस्य हुने अवसर पाएका थिए। त्यसबीच स्दभावना पार्टी दुइ चिरामा हुन पुग्यो। उनी त्यसपछि आफ्नै पार्टी खोल्ने मनसायमा पुगे।

नेतृत्वमा असफल

पहिलो संविधान सभामा सद्भावना पार्टी नेपालबाट सभाषद भएका दुगड, लामो समय त्यसमा अटाएनन्। विभिन्न विवादकाबीच उनले पार्टी त्यागे। त्यसपछि, उनी दोश्रो संविधानसभाका लागि आफ्नै पार्टी खोल्ने तरखरमा लागे।

सोही क्रममा उनले नव नेपाल निर्माण पार्टी खोले। राजनीतिको नशामा परेका दुगडलाई सो पार्टी फापसिद्ध हुन सकेन। उनी अध्यक्ष भएर खोलिएको पार्टीले २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा खरायो चिन्ह सहित मैदानमा उत्रियो।

व्यापारिक घरानाबाट राजनीतिमा प्रवेश गरेका दुगडले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न ५६ स्थानमा उम्मेद्वार खडा गरे। तर कतै सफलता हात लागेन। त्यसपछि केही समय उनी पार्टी राजनीतिबाट टाढा रहे।

पुनरागमन

उद्योगी व्यापारी भएकाले पनि राजनीतिमा प्रवेश हुनु नौलो कुरा भएन दुगडलाई। केही वर्षअघि उनी तत्कालिन एमालेमा प्रवेश गरे । प्रत्यक्ष निर्वाचनबाट असफल भएका दुगड दुईपटक नै समानुपातिकतर्फबाट सांसद भएका हुन्।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्