सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन वीरगञ्‍जमा हस्ताक्षर अभियान सुरु

वीरगञ्‍ज- सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन शुक्रबारदेखि वीरगञ्जमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

वीरगञ्जको घण्टाघरछेउमा दुई दिने हस्ताक्षर अभियान सुरु गरिएको सामाजिक अभियन्ता व्रिजेश्वर चौधरीले जानकारी दिए। सिर्सिया नदीलाई प्रदषणमुक्त बनाउन सुरु गरिएको दवावमूलक कार्यक्रम अन्तर्गत हस्ताक्षर संकलन अभियान संचालन गरेको चौधरीले बताए।

शुक्रबार र शनिबार गरी करिब २५ हजार हस्ताक्षर संकलन गरी प्रधानमन्त्री कार्यालयलाई बुझाइने उनले बताए। उनले भने, ‘र्सिसिया नदी प्रदुषणको सिकार बनेको छ। आजदेखि हामीले हस्ताक्षर संकलन अभियान शुरु गरेका छौँ। हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा बुझाउने छौँ।’

सिर्सिया नदीमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका एक दर्जनभन्दा बढी उद्योगहरुले फोहोरजन्य पानी मिसाउँदै आएका छन्। कोरिडोरमा रहेका सिमेन्ट उद्योग, छाला उद्योग,प्लास्टिकलगायतका उद्योगबाट निस्किने हानिकारक रसायन नदीमा मिसाउने गरेको हुँदा नदी प्रदूषित भएको सिर्सिया बचाउ संघर्ष समितिका संयाेजक सुरेन्द्र कुर्मीले बताए।

वीरगञ्ज महानगरले नदी सफाइका लागि आफै पहल गर्नुपर्नेमा त्यसबाट पञ्छिने गरेको अभियन्ताहरुको आरोप छ। करिब २० वषअघि स्वच्छ रहेको सिर्सिया नदी पछिल्लो समय औद्योगिक कलकारखाना र अव्यस्थित शहरीकरणका कारण दुर्गन्धित बन्दै गएको स्थानीयको गुनासो छ।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू