साङ्केतिक तस्बिर

नेपालगञ्ज– लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एकजनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का सुमित बोहरालाई ९ ग्राम लागुऔषधसहित नेपालगञ्जबाट पक्राउ गरेको हो। ब्यूरोको टोलीले बोहरालाई सेतु विक चोकबाट पक्राउ गरेको हाे। बोहराको साथमा ६८ हजार एक सय रुपैयाँ पनि बरामद भएको छ।

बोहरा लागुऔषध कारोबारी भएको प्रहरीको आशंका छ। सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज भित्रिने ब्राउनसुगरलाई बोहराले सुर्खेतमा लगेर बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बोहरासँग नौ ग्राम ब्राउनसुगर कसरी आइपुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनी ब्राउनसुगरकाे ‘च्यानलवाइज’ कारोबारी हुन सक्ने ब्यूरोका प्रमुख वीरबहादुर थापाले बताए। एउटाले नाका पार गर्ने, अर्कोले नेपालगञ्ज या कोहलपुरसम्म पुर्‍याउने, तेस्रो पक्षले मात्रै अन्यत्र लैजाने गरेको घटनाक्रमहरुले देखाएको प्रहरीले जनाएकाे छ।

मंसिर ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्