शिव सेनालाई जिल्याउँदै महाराष्ट्रको सत्तामा फेरि भाजपा, रातभरमा फेरियो गठबन्धन

भारतको महाराष्ट्रमा राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ ।

लामो रस्साकस्सीपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले शपथ लिएका छन् ।

एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् ।

एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो ।

तीन पार्टीबिच शनिबार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो । तर रातभरमा घटनाक्रम फेरियो र बिहानै देवेन्द्र फडणवीस र अजित पवारले मुम्बईको राजभवनमा शपथ लिएका हुन् । शिव सेनाका उद्धव ठाकेर मुख्यमन्त्री बन्ने संघारमा पुगेर एनसिपीले धोका दिँदा जिल्लिएका छन् ।

हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन । भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।

शपथ ग्रहणको केहीबेर पछि नै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर देवेन्द्र फडणवीस र अजित पवारलाई बधाई दिएका छन् । दुवै नेताले मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।

शपथपछि मुख्यमन्त्री फडणवीसले आफूहरुसँग मिलेर चुनाव लडेको शिव सेनाले जनादेशको अनादर गरेको बताए । महाराष्ट्रमा स्थायी सरकारको चाहना भएकाले एनसिपी आफूहरुको साथमा आएको उनले उल्लेख गरेका छन् ।

उपमुख्यमन्त्रीको शपथ लिएका अजित पवारले पनि महाराष्ट्रका समस्या समाधानका लागि स्थायी सरकार चाहिएको र त्यसकै लागि आफूहरुले भाजपासँग मिलेर सरकार बनाएको बताएका छन् ।

मंसिर ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्