व्यङ्ग्य

म पनि मन्त्री!

तपाईँहरुको आशिर्वादले मलाई फेरि एकपटक साथ दिएको हुनाले आज मेरो गाथ निकै हलुंगो भएको छ । कतिले त पहिले पनि खाइपाइ आएको पदमा थमौति पाउन धेरै ठाउँमा धाइधाइ हिँडेर मुख्य मुख्य व्यक्तिहरुलाइ हैरान पनि पारेका र धेरै ठाउँमा जुत्ता खियाउनुको साथै पसिना समेत झारेका थिए रे । तर मैले चाहीँ कुनै कोसिस गर्नु, नचाहिँदो तरिकाले अघि सर्नु र आफ्नो औकातबाट तल झर्नु परेन ।

मेरो क्षमता, योग्यता, पहिले आफूले गरेको उल्लेखनीय काम र तपाईँहरूको भाग्यको कदर भएर नै मेरो लागि यो पद सदर भएको ठानेको छु मैले । मेरो बोल्ने र मनको कुरा खोल्ने क्षमता, जनताको काम भनेपछि दिनरात नभनी चिन्ता लिने आदत, जनताको नाम नजपिकन बिहान बेलुका हाम नगर्ने र जनताको लागि ठूलै दाम भएपनि माया मारेर परिवारका अन्य सदस्यहरुलाइ त्यता लगाउने बानी, मेरो भाषण गर्ने र माइक देख्नासाथ आफूलाई थाहा भएको वा नभएको जुन विषयमा पनि धाराप्रबाह बोल्न अघि सर्ने बानी, आफ्नो काम र बोली बचनले ठूला नेता, उनीहरुका भित्रिया सहयोगीहरु र उनीहरुका परिवारका मुख्य मुख्य सदस्यहरु आदिलाई हरतरहले खुशी राख्न सक्ने दक्षताले नै बिहान बेलुकाको अक्षता प्राप्त भइरहेकोमा कृतज्ञ हुँदै यो पद पाउँदा शीर्ष नेताहरु कुन हदसम्म म बाट रिझीएका रहेछन भन्ने छर्लड्ग समेत भएको छ।

हामीजस्ता योग्य र अनुभवी व्यक्तिहरूबाट मात्रै देश विकासले राम्रो निकास पाउने कुरा अकाट्य नै छ भन्ने पनि यसबाट प्रष्ट भएको छ । म त अनुभवी हुनुको साथै चुनावमा भोट पाएर र तपाईँहरुको सेवा गर्ने कसम खाएर आएको व्यक्ति भएकोले छनौटमा परेँ । तर धेरै अनुभवी भएपछि चाहीँ चुनावै नलडे पनि मन्त्री बनाइने र त्यस्ताबाट ठूलै थैलीको प्रतिवद्धता जनाइने चलन पनि भित्र भित्र चालु रहेकोले ठालुहरुले ओल्टोकोल्टो जता फर्केपनि दिउँसै ढुकुटीमा आलु फलाउने रहेछन भन्नेचाहीँ मलाई अहिलेमात्र थाहा भयो ।

धेरै लामो कुरा किन गर्नु ? जे होस्, मन्त्रीसम्म भइयो भन्नुपर्‍यो । आफूलाई त कुनै नौलो कुरा भएन, एक पटक भइन्छ र राम्रो मन्त्रालय गइन्छ भन्ने पक्का भएको व्यक्ति । मन्त्री भएकोमा मेरो नाम समाचारमा आउनु, विभिन्न व्यक्तिहरू बधाईको लागि धाउनु अनि फोनबाट पनि प्रशस्त बधाई र शुभकामना पाउनु लगभग एकैचोटि भयो । म मन्त्री भएकोमा साथीहरूको मन भित्रैदेखि ज्यादै कुँडिएर गएको भए पनि निकै खुशी भएको बहाना गरी बधाई दिए ।

मन्त्री हुनेहरुको सम्भावित नाममा मेरो नाम पनि कहिले आउने कहिले काटिने र कहिले विभिन्न बार्गेनिड्गमा साटिने गरेर हैरान भइरहेको बेलामा मन्त्री नै भइसकेपछि अब चाहिँ ढुक्क भइयो । नत्र त एकछिनमा एउटाले तपाईँको नाम छ भन्छ, अर्कोले एकछिन अघिसम्म थियो अहिले फेरि छैन भन्छ, फलानाले राख्न पर्छ भनेकोमा फलानाले हुँदै हुँदैन भनेकोले तपाईँको नाम त काटियो र यस्तो यस्तो शर्तमा फलानो सित साटियो भन्छ ।

पत्र पत्रिकामा त्यस्तै एउटाले छ भन्छ अर्कोले छैन भन्छ । अनलाइनहरुले छिनछिनमा अपडेट गरेर आफ्नो नाम चेट पारेको बेलामा यसपाली मन्त्री पदसित भेट नहोला जस्तो लाग्छ । फेरि अर्कोले लिस्टमा नाम चढाउँछ र हौसला बढाउँछ । यिनिहरुलाई पनि छिनछिनमा कसले यस्तो खबर दिन्छ र त्यस बापत कस्तो खुराकी लिन्छ भन्ने पनि बुझ्नै सकिएन । कहिले तपाईँँको नाम पर्यो र कहिले यसपालीलाई यत्तिकैमा टर्यो अनि अर्को पुनर्गठन सम्मको लागि सर्यो भनेको सुन्दा सुन्दा न भोक लाग्छ न निद्रा लाग्छ सारै अप्ठ्यारो स्थितिमा परिएको र आफूले लागे जाने सम्म गरिएको थियो ।

मन्त्रीको लिस्टमा अन अफ भइरहँदा निकै लामो अबधीसम्मको टेन्सनले अलि अलि तौल समेत घटे पनि अन्त्यमा सफल भइयो र लाखार लुखुर माननीयबाट झण्डा हल्लाउनेमा गइयो भन्न पर्यो । मेरो शुभ समाचारमाथि खोइरो खनेर हिँड्ने आफू सरहका मित्र माननीयहरुले दिनु भएको बधाइको ओइरो पनि अहिलेसम्म थामिसक्नु छैन ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले पनि सकेसम्म खोजीखोजी बधाइ दिइरहेकै छन् । त्यहाँका टाठाबाठाहरु त बिहानैदेखि आएका आयै छन् । कोही कोहीको निर्वाचन क्षेत्रमा विकास निर्माणले तीव्रता पाउने भयो भन्ने धारणा भएपनि धेरैजसोको चाहिँ आफूलाई अवसर आउने भयो भन्ने भित्री सोचाइ रहे जस्तो देखियो । कोही मुख देखाएर हिँडे कोही बसेका बस्यै छन् । हिजो सम्म मलाई वास्तापास्ता नगर्ने र नमस्कार गर्न पर्ला भनेर तर्केर हिँड्ने र केही काम लिएर भेट्न जाँदा झर्केर बोल्ने माथिल्लो तहका कर्मचारीहरू पनि तछाडमछाड गरेर बेलैमा आए ।

उनीहरुको हातमा कार्यालयको बजेटबाट किनेका खादा, फूल, माला र गुच्छा थिए । लेखाका कर्मचारीले आफ्नो मार्जिन समेत राखेर किनेका ती फूलमाला देखेर मलाइ पनि खुशी लाग्यो । विचरा कर्मचारीहरूलाई पनि दुःखै छ । वर्षमा कति पटक कति जनाकहाँ यसरी धाउनपर्ने र कतिलाइ फूलमाला लगाएर दुख पाउनपर्ने हो थाहा नै हुँदैन । म जस्तो योग्य व्यक्ति मन्त्री भएकोमा कर्मचारीहरू निकै खुशी देखिन्थे । कसै कसैले त कानमा आएर चुनाव देखि अहिले सम्मनै लगातार मलाई गरेको मद्धतको पनि कुरा उप्काएका थिए । तर मैले नबुझेझैँ गरीदिएँ ।

यसबाहेक कसैकसैले सरुवा बढुवा आदिका कुरासहित अघिल्लो मन्त्रीले राम्रो काम एउटै पनि नगरेको र मेरो त खुट्टामा बाँधे पनि नसुहाउने भनेर सबैले ठहर गरेको कुरा पनि सुनाए । यसबाट मेरो पनि नाक पूmलेर सानोतिनो घिरौँलो जत्रो भयो । हामी भएसम्म मन्त्रीज्यूले केही चिन्ता लिन पर्दैन र हामीले सबै कागज पत्र मिलाएर ल्याएपछि अख्तियारले पनि केही गर्दैन भनेर पनि कर्मचारीहरुले खुसुक्क भन्न भ्याए अनि मैले चाहेकै कुरा ल्याए । म पुरानै मान्छे भएकोले उनीहरुले यति भनेपछि बिस्तृतमा बुझिराख्न परेन र यो भन्दा बढी बोल्न कोही पनि अघि सरेन ।

अर्को भीड व्यापारीहरूको थियो– बधाई, शुभकामना र उपहार दिन अनि मेरो आशिर्वाद लिन आएका । व्यापारीहरूले उद्योगधन्दा ˚स्टाउने उपाय, महंगी नियन्त्रणका उपाय, रोजगारी प्रबद्र्धनका उपाय, वैदेसिक निकासी बृद्धि गर्ने उपाय, राजश्व बृद्धि गर्ने उपाय आदि सबै कुरामा ज्यादै सकारात्मक विचार राखेकोमा म प्रभावित भएँ, फेरि चुनावमा व्यापारीहरूले मलाई गरेको सहयोगको कुरा एक एक गरेर निकाल्न थालेको सुनेर चाहीँ उनीहरूले जे जे भन्छन् सबै मान्छु जस्तो लाग्यो । नमानेर पनि के गर्नु र ? दैनिक रूपमा उनीहरू नै नभई हुन्न आफूलाई ।

फेरि अर्को चुनावमा पनि चर्को सहयोग चाहिने हुनाले उनीहरूको कुरामा झर्को मान्नु त ज्यादै ठूलो मुर्खता हुनेजस्तो लाग्यो मलाई । राजनीतिज्ञ र व्यापारीबीच त पानी र माछाजस्तो सम्बन्ध हुनु पर्छ भन्ने सही नै रहेछ भन्ने सम्झेँ । त्यसपछि आएका ठूला ठेकेदारहरु र अझ ठूला ठेकेदारहरुका प्रतिनिधिहरुको लर्को देखेर झर्को मान्ने मुर्खता गर्नै भएन । जिम्मा लिएको काम कहिल्यै पूरा गर्न नसक्ने तर ठूलाठूला कुरा गरेर र शीर्ष नेताहरुको नजिक परेर राष्ट्रिय गौरवका योजनाहरु हात पार्ने अनि ती भन्दा तलका सबैलाई लात मार्ने सुबिधा पाएका र धेरै माथिल्ला नेताहरुको नाम भजाएर सबैलाइ तर्साउँदै आएका उनीहरुलाई केही गर्न र भन्न नसके पनि मुस्कानसहित धन्यवाद दिनै पर्यो ।

आफूलेआज यो दिन देख्नमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उहाँहरुको पनि हात रहेको भन्ने हल्ला विरोधीहरुले बाहिर गाँइगुइँ चलाउन र सपथ ग्रहण नै नगरीकन ढलाउन लागि परेका छन रे भन्ने पनि उहाँहरुले नै बताएर थाहा भयो । इशारा इशारामै आफ्नो आफ्नो तर्फबाट सबैखाले सहयोग हुनेमा ढुक्क पर्न अनुरोध गरेँ र उहाँहरुबाट पनि त्यस्तै हुनेमा भर परेँ ।

मलाई पटक्कै मन नपराउने, सधैँ रिस डाहा गर्ने, कुरा काट्ने र खेदो गर्ने आफन्तहरु, नातागोताहरू, साथीभाइहरू, अलि टाढाका इष्टमित्रहरू र विरोधी नेताहरू पनि आएर मलाई साह्रै आत्मीयता र सहृदयता देखाए । यिनीहरूको पनि अब बल्ल बुद्धि पलाएछ र मेरो योग्यतालाई यिनीहरूले राम्ररी बुझेछन् अबचाहीँ भन्ने सम्झेँ । कसैको जागिर, कसैको छेराछोरीको पढाई, कसैलाई ठेक्कापट्टा, कसैलाई नियुक्ति, कसैको मुद्दामामिला, कसैको कमिसनजस्ता समस्याहरूमा मेरो सहयोग चाहिएको पनि बुझियो । सबैलाई आश्वासन राम्रैसित दिएँ तर कसले के भनेका थिए भनेर अहिले सम्झना छैन ।

अहिलेसम्म अरूले मान्छेको गिन्तीमा राखेझैँ नलागेको मेरो छोराछोरी, ज्वाइँ, नातिनातिना र श्रीमतीलाई पनि भेट्न आउने मान्छेहरूले घेरेर बधाई र शुभकामना दिएर हैरान पारेका छन् । छोराको गफ त ठूलै महात्माको प्रवचन जस्तो गरेर सुनेका छन् सबैले । छोरीले कतिलाई नियुक्ति दिने, विभिन्न ठाउँमा खटाउने र सबै कुरा मिलाइदिने काम अहिलेबाटै थालिसकी । ज्वाइँ पनि मेरोमात्रै हैन भेट्न आउनेजति सबैका साख्खै ज्वाइँजस्ता देखिन्थे । ज्वाइँले त झन् स्वदेशदेखि विदेशसम्म जहाँ जसलाई पनि चाहिएको बेला पठाउन र फिर्ता बोलाउन सक्ने कुरा सबैलाई सुनाइरहेका थिए ।

श्रीमतीको फूर्तिफार्ती देख्दा मौका पायो भने कस्ता मान्छे पनि कस्ता हुने रहेछन भन्ने भनाइ सहि नै रहेछ जस्तो लाग्यो । आज त बोलिचाली पनि सारै मिठो छ । लगाएको पनि सारै सुहाएको छ । मान्छे पनि अघिपछि भन्दा हिस्सी परेकी जस्तो देखिन्छे । आउने जानेहरुले पनि महारानीलाइ जस्तै आदर गरेका र दर्शन पाएर मख्ख परेका छन् । उसले पनि सबैको बधाइ लिइरहेकी अनि मान्छे अनुसारको व्यवहार गरेर जवाफ दिइरहेकी छे ।

कुनैपनि सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भनेको सहि नै रहेछ । उसको हाउभाउ हेर्दा मलाइ सफल बनाउने मात्रै होइन खासगरी हाम्रो आर्थिक हैसियत माथि उठाउन सारै सफल हुनेमा कसैले पनि कुनै शंका गरेर डंका नपिटे हुन्छ ।

ठाउँ ठाउँमा डेरा लिएर मेरो लागि काम गर्ने कार्यकर्ताहरूले पनि घेरा हालेका थिए । चुस्स परेको अनुहार, कति दिनसम्म राम्ररी नखाएका, रामरी नसुतेका र मैला कपडा लगाएका कार्यकर्ताहरू देखेर मलाई भित्रभित्र हाँसो लागिरहेको थियो । अझ कसै कसैले त हातगोडामा पट्टी पनि बाँधेका थिए । चुनाव अगाडि त मैले सबैलाइ राम्ररी चिनेको थिएँ । अहिले त चुनाव सकिएको पनि निकै महिना भइसकेको हुनाले धेरै जसोलाई त मैले चिन्न पनि सकिनँ ।

कार्यकर्ताहरूको पनि आफ्नै खालका समस्या रहेछन् । मैले त सारा देशवासीहरूलाई हेर्नुपर्ने बाध्यता भएको हुनाले अर्को चुनाव नआएसम्म यिनीहरू सबैलाई हेर्न सक्दिनँ कि जस्तो लाग्छ । यसअघि मन्त्री भएका केही मन्त्रीहरु कार्यसम्पादन मूल्यांकनमा असफल भएको र मूल्यांकन कर्ता कहाँ असक्षम भन्ने रिपोर्ट गएको हुनाले हामीलाइ छानेको रे भन्ने हल्ला सुनियो ।

मूल्यांकन गर्नेले स्वदेश तथा विदेशका अस्पतालहरुको बेडमा सुतेर डाइलासिस गर्दै ठण्डा दिमागले मूल्यांकन गरेको र त्यहिँबाट मूल्यांकनको फाराम भरेको हुनाले असक्षम मन्त्रीहरुको अगाडिको यात्रा टरेको भन्ने सुनियो ।  यस्ता असक्षम मन्त्रीहरुको टिमलाइ साथमा लिएर देशमा विकास र समृद्धि आउँदैन भन्ने पबित्र उद्देश्यले यसो गरिएको र डाइलासिस बेडबाटै मूल्यांकन गर्न अघि सरिएको हो रे भन्ने समाचार सहि नै रहेछ भनेर सबैले सोचेका छन् ।

आफूले सामान्य काममा समेत उपस्थित हुन नसक्ने गरि डाइलासिस र अरु उपचार गराएर भए पनि शारीरिक र मानसिक रुपमा कृयाशिल भएर जनताको सुख र देशको समृद्धिको लागि अहोरात्र खटिरहेको अनि उद्देश्य पूरा गर्न उपचार बाहेक सबै कुरा छोडेर डटिरहेको बेलामा सोचे अनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई बिदा गर्नुलाई ठूलो बुद्धिमानी मान्न पर्छ, आफूले पद पाएपछि ज्यादै अग्रगामी कदम भनेर ठान्न पर्छ र आफ्नो शारीरिक अबस्था जे जस्तो भएपनि ज्यादै सहि मूल्यांकन गरेको भनेर सबैले जान्न पर्छ । मूल्यांकन जति निष्पक्ष र सहि भयो भनेपनि शीर्ष नेताहरुका एकाघरका आफन्त र सबै किसिमका विशेष सहयोगीहरुको मूल्यांकन विधी अलि फरक हुने गरेको नजिर संसार भरि नै उस्तै भएकोले यस्तालाइ सँधैभरी सुरथको बजिर भएर बस्न र अरुको मूल्यांकनलाई कस्न कसैले रोक्न सक्दैन ।

बधाई र शुभकामना खाएरमात्र आफूले पदमा टिक्न र सबै कुरामा बिक्न गाह्रो पर्ने हुनाले आफ्नो आशिर्वाद लिने ठाउँमा पनि पुग्नै पर्‍यो । त्यसैले सबैसित बल्लतल्ल छुटकारा लिएर श्रीमतीसहित आफूभन्दा माथिका विभिन्न ठाउँमा आशिर्वाद लिन जाने विचारले मन्त्री भएपछि पाएको नयाँ चिल्लो गाडीमा चढेको मात्र के थिएँ । झल्याँस्स ब्युँझँदा आफूलाई चिसो ओछ्यानमा लढेको र खाटको छेउमा मुस्किलले अढेको पाएँ ।

पनीमा त यो जुनीमा त्यत्तिकै हो तर सपनामा चाहीँ म पनि मन्त्री भएछु भनेर भित्रभित्र मुस्कुराउंदै बिस्तारै उठेर लागें नित्यकर्मतिर ।

मंसिर ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्