ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान

ट्रम्पका व्यक्तिगत वकिल र विदेश मन्त्री पोम्पेओबिच भएको सम्पर्कको विवरण सार्वजनिक

अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनसँग गरेका संवादको विवरण सार्वजनिक गरेको छ।

सूचनाको हक सम्बन्धी कानूनको प्रयोग गरेर जानकारी माग गरिएपछि अमेरिकाको इथिक्स वाचडग ओभरसाइटमा विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको विवरणमा विदेश मन्त्री माइक पोम्पेओ र राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिलबिच बारम्बार संवाद भएको देखिएको छ ।

अमेरिकाको तल्लो सदनमा अहिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भइरहेको छ।

अनुसन्धानको क्रममा भएको सार्वजनिक सुनुवाईमा बयान दिएका उच्च कूटनीतिक अधिकारीले युक्रेन सम्बन्धी नीतिमा ट्रम्पका व्यक्तिगत वकिल जुलियानीको भूमिका रहेको र त्यसबारे विदेश मन्त्री पोम्पेओ, उपराष्ट्रपति माइक पेन्स तथा चिफ अफ स्टाफलाई पनि जानकारी रहेको बताएका थिए । यी सबै प्रक्रिया राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको उच्च अधिकारीले बयानको क्रममा भनेका थिए ।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । त्यसकै लागि अनुसन्धान भइरहेको हो । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन् ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ ।

सार्वजनिक भएको विवरणमा विदेश मन्त्री पोम्पेओ र ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीबिच भएको कुराकानीको विषयवस्तु भने खुलेको छैन ।

युक्रेनका लागि पूर्व अमेरिकी राजदूत मरी योवानाविचले सुनुवाईको क्रममा युक्रेनका सम्बन्धमा जुलियानीले अमेरिकी विदेश नीतिलाई नै ओझेलमा पार्ने गरी भूमिका निर्वाह गरेको बताएकी थिइन् । उनलाई ट्रम्पले राजदूतबाट फिर्ता बोलाएका थिए ।

यसैबिच मरीले युक्रेनस्थित अमेरिकी दूतावासमा आफ्नो तस्बिर झुण्ड्याउन अस्वीकार गरेको ट्रम्पले आरोप लगाएका छन्।

ट्रम्पले फक्स न्यूजको बिहानी शोमा भनेका थिए ‘पूर्व राजदूत मरी योवानोविचले किएभमा रहेको दूतावासमा मेरो तस्बिर झुण्ड्याउन चाहन्नथिइन् ।’ ट्रम्पले यसबारे थप विवरण खुलाएका छैनन् ।

मंसिर ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्