सरकार र दलमा अड्कलबाजी सुरु

प्रधानमन्त्री ओलीको अस्पताल बसाइ अनिश्चित, महत्वपूर्ण कार्यक्रमहरु रोकिए

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनका प्रेस सल्लाहकार सूर्य थापा । तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार १३ औँ सागमा सामेल हुने खेलाडी र प्रशिक्षकलाई संवोधन तथा शुभकामना व्यक्त गर्ने कार्यतालिका अनुमोदन गरेका थिए। त्यो उनको आफ्नै चाहना थियो।

र, त्यहाँबाटै उनीहरुका लागि पुरस्कारको प्याकेज घोषणा आफैँले गर्ने निधो पनि गरेका थिए उनले।

तर त्यसबाट उत्साहित बनेका खे लाडी ११ बजे कार्यक्रम आयोजना स्थल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा पुगेपछि एकाएक निराश बने।

ओली एपेन्डिसाइटिस शल्यक्रियाको तयारीमा मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको समाचार आयो।

ओलीको सट्टा अर्थमन्त्री युवराज खतिवडाले उक्त कार्यक्रमको सम्वोधन गरे। तर पुरस्कारको वृद्धि हुने अस्पष्ट अभिव्यक्ति दिएर उनी त्यहाँबाट पन्छिए। ओलीको पुरस्कार प्याकेजको घोषणा गर्ने तयारी सफल हुन सकेन। त्यसबाट खेलाडी निरुत्साहित हुनु स्वाभाविक थियो।

एपेन्डिसाइटिसको शल्यक्रियापछि ओलीलाई सेन्टरको आइसीयुमा भेन्टिलेटरमा राखिरहेका बेला साग आयोजक कमिटिका सदस्यहरु फेरि झस्किए, मंगलबार साँझ ५ बजे बालुवाटारमा आव्हान गरिएको १३ औँ साग उच्चस्तरीय निर्देशक कमिटिको बैठक स्थगित गरियो।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षण समेत रहेका प्रधानमन्त्री ओली बिरामी भएका कारण बैठक नै स्थगित गर्नु पर्ने अवस्था त्यति सुखद हैन।

प्रधानमन्त्री तथा कमिटिका संयोजकको अनुपस्थिति एउटा अभिभावकको अनुपस्थिति पनि थियो।

‘हामीलाई सल्लाह दिने, हौसला प्रदान गर्ने, कमिकमजोरी औँल्याएर आवश्यक परे निर्देशन समेत दिने हैसित प्रधानमन्त्रीले राख्नुहुन्छ। त्यो अपेक्षा हामीले उहाँबाट गरेका थियौँ तर अहिले उहाँलाई बाध्यताबस अस्पताल भर्ना हुनुपरेको छ । त्यसबाट हामी दुखी छौँ,’ साग आयोजक कमिटिका एक सदस्यले देशसञ्चारसँग भने।

अस्पतालका कार्यकारी निर्देशक डा. उत्तम कृष्ण श्रेष्ठद्धारा जारी एक विज्ञप्तिमा एपेन्डिसाइटिस सहित पेटको संक्रमण (पेरिटोनिस) देखिएपछि ‘लाप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायत विधिबाट उपचार गरिकन हाल संघन उपचारको सम्पूर्ण व्यवस्थासहित उनलाई निरन्तर निगरानीमा राखिएको भनिएको छ।

प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको, अवको अस्पताल बसाइ र उनको आरामबारे उनका निजी चिकित्सकले हालसम्म स्पष्ट बताएका छैनन्।

बुधबार बिहान ११ बजे पोखरा पुगेर त्यहाँस्थित नवनिर्मित रंगशाला निरीक्षण गर्ने ओलीको कार्यक्रम स्थगित भइसकेको छ ।

निरीक्षण कार्यक्रम आयोजक कमिटी पनि साग आयोजक कमिटीजस्तै प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर निराश बन्न पुगेको छ।

प्रत्यारोपित मिर्गौलाले काम गर्न छोडेपछि तीन दिन अघि ग्रान्डी इन्टरनेशल अस्पतालमा २५ दिनमा चौथो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले त्यसको भोलिपल्ट अर्थात हिजो सोमबार सरकारको चौमासिक समिक्षा बैठकमा ‘काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनु पर्ने र उनीहरुको जमानत जफत गर्न ’ निर्देशन दिँदा उनको अनुहार सुन्निएको र बोली मधुरो भएको एक मन्त्रीले बताए।

लामै समय चलेको उक्त बैठक सकिँदासम्म ओलीले असहज महशुस गरेको र मंगलबार बिहानदेखि पेट दुख्ने, छिनछिनमा पिसाव लाग्ने समस्या देखिएपछि उनलाई स्वास्थ्य जाँचका लागि महाराजगञ्ज लगिएको थियो।

ओलीको अस्वस्थताका कारण आगामी शुक्रबार ११ बजे निर्धारण गरिएको त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक पनि अनिश्चित बनेको छ। ओली त्रिविका कुलपतिसँगै सिनेटका अधयक्ष समेत हुन्।

यता एकतापछि पाँच दिन अघि मंसिर चार गते पहिलो पटक पार्टी सञ्चालनको कार्यकारी अधिकारको हैसियत प्राप्त गरेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बोलाउने भनिएको पार्टी सचिवालय बैठक पनि अनिश्चित बनेको छ।

तर अनिश्चितताको यो चरण कति लम्बिएला? त्यो ओलीको स्वास्थ्य उपचार र त्यसको सफलतासँग जोडिन पुगेको छ।

के ओलीको अस्वस्थताका कारण सरकारी कामकारवाही र दलको गतिविधि प्रभावित वा स्थगित हुनु राम्रो हो भन्ने प्रश्नसँगै सरकार र पार्टीमा थप अड्कलबाजी सुरु भएको छ।

‘ प्रधानमन्त्री ओलीको अस्पताल बसाइबारे हामी अहिले निश्चित हुन सकेका छैनौँ तर यो भन्न सक्छौँ कि उहाँले कम्तीमा पनि दुई साता पूर्णरुपमा आराम गर्नु पर्छ अस्पताल या घरमा,’ ओली उपचारार्थ अस्पतालका एक वरिष्ठ चिकित्सकले भने।

मंसिर १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्