जनकपुरधाम- मिथिलाञचल क्षेत्रमा मंगलबारदेखि विधिवत रुपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाह महोत्सव शुरु भएको छ।

विवाह पञ्चमी शुरु भएसँगै जनकपुरधाम अहिले भरीभराउ भएको छ। मंगलवारदेखि शुरु भएको विवाहपञ्चमीमा आएका श्रद्धालु भक्तजनले जनकपुरधाम क्षेत्र भरिएको छ भने यहाँ आउनेहरुको क्रम अहिले जारी नै रहेको छ।

मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ । त्यसको लागि जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहल पहल बढेको छ।

विवाह पञ्चमीको पहिलो दिन मंगलबार जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन विधि गरिएको छ। भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो। सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो।

मंगलमय दिन आजु हे, पाहून छथि आयल !
धनि–धनि जागल भाग हे, मन कमल फुलायल !!
मंगलमय दिन …… !!

मंगलघट सँ द्वारि सजाओल,
कंचन दीया बारि हम लाओल ,
गांथल हार गुलाब हे, हिनका पहिराओल !
मंगलमय दिन ………!!

त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको हुन सक्ने संस्कृतिविद डा. रेवतीरमण लाल बताउँछन् । यो विषयमा वाल्मिकी रामायणमा समेत उल्लेख रहेको पाइन्छ।

नगर दर्शनका लागि कृत्रिम बजार


जनकपुर नगर दर्शनको लागि जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो। सो बजारमा मुरही, चिया, कचरी, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली लगायतका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए। राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार राम लक्ष्मण स्वयं जनकपुरधामको नगरदर्शन गर्दा पूरै मिथिलाको वातावरण अदभूत बनेको थियो । सोही अवस्था पूनः दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगरदर्शन विधि गरिएको दासले बताए।

नगर दर्शन विधिमा प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश सांसद, नगर उपप्रमुख लगायत सर्वसाधारणको उपस्तिथि रहेको छ।