प्रधानमन्त्री ओली अझै भेन्टिलेटरमै, स्वास्थ्य अवस्था स्थिर

फाइल तस्बिर

काठमाडौँ– एपेन्डिसाइटिसको उपचारपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

सामान्यतया: एपेन्डिसाइटिसका बिरामीलाई तीन दिन अस्पतालमा राखिनुपर्नेमा उनको स्वास्थ्यको जटिलताका कारण कति दिन राख्नुपर्ने भनी भन्न नसकिने अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रधानन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साँझ साढे सात बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनको सघन उपचार कक्षमा उपचार भइरहेको र थप केही दिन अस्पतालमै राखिने जानकारी दिएका छन्।

सल्लाहकार थापाले प्रधानमन्त्री ओली केही दिन अस्पतालमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा रहने जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्रीको यो आकस्मिक रुपमा देखा परेका समस्या हो। यो कुनै पुरानो स्वास्थ्य समस्या होइन। यो उहाँका विगतमा रहेका स्वास्थ्य समस्यासँग सम्बन्धित छैन। यो ठूलाे समस्या होइन।’

सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेपनि प्रधानमन्त्रीलाई भेट्न सकेनन्। भेन्टिलेटरमा राखिएका कारण उनलाई कसैले पनि भेट्न सकेको छैन।

यस्तै अस्पतालले मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर जानकारी दिएको छ। अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारे मंगरबार साँझ दास्रो पटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हाे।

प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले अस्पतालका तर्फबाट साँझ ७:३० बजे जारी गरेकाे विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्य अवस्थामा समस्या आई आज मिति २०७६।०८।१० गते मंगलबार बिहानदेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ। सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल वहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ।’

मंसिर १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्