प्रधानमन्त्री ओलीको मुटुमा पनि समस्या, २४ घण्टा जोखिमपूर्ण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको संक्रमणसँगै मुटुमा पनि समस्या देखा परेको छ।

ओलीको मुटुको धड्कन सुस्त भएको र त्यसलाई सामान्य गतिमा ल्याउन चिकित्सकले ‘इनो ट्रोप’ नामक औषधि दिएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि मंगलबार नै ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्नेक्रममा करिब आधा लिटर पिप निकालिएको थियो। त्यसक्रममा उनको आन्द्रासमेत सुन्निएको पाइएपछि आवश्यक औषधि चलाइएको थियो।

पेट दुख्‍ने र छिनछिनमा पिसाब लाग्ने समस्या देखिएपछि चौथो पटक डाइलासिस गरिएको पर्सिपल्ट अर्थात मंगलबार बिहान ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा जाँचका लागि पुर्‍याइएको थियो।

रिपोर्टले ओलीमा एपेन्डिसाइटिसको समस्या पुष्टि गरेपछि चिकित्सकले सवा दुई घण्टा लगाएर उनको शरीरमा बढेको एपेन्डिक्स काटेर फ्याँकेका थिए। लगत्तै उनलाई आइसियुमा भेन्टिलेटरमा राखिएको थियो।

अस्पताल स्रोतका अनुसार एकछिन ओलीको होस आएपनि उनी यो अवधिभर अचेत छन्। उनको स्वास्थ्य स्थितिलाई अस्पतालले औपचारिक रुपमा स्थिर बताए पनि थप संक्रमणको सम्भावनाले चिकित्सकलाई चिन्तित तुल्लएको छ।

तर, संक्रमण नभएका अवस्थामा उनको स्वास्थ्यमा क्रमिक र मन्द सुधार हुने चिकित्सकको भनाइ छ। अस्पताल स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीलाई २४ घण्टासम्म पूर्णरुपमा सम्बन्धित चिकित्सकहरुले निगरानीमा राख्नेछन्। त्यसपछि मात्रै उहाँको स्वास्थ्यको प्रगतिबारे निष्कर्ष निकाल्न मिल्ने छ र थप संक्रमण नहोस् भनेर सबै किसिको उपाय अवलम्बन गरिएको छ। तर संक्रमणको जोखिमबाट उहाँ मुक्त भइ सक्नुभएको छैन।’

१२ वर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका ओलीले त्यसयता पटक–पटक स्वास्थ्य समस्या झेल्नु परेको छ। खासगरी प्रत्यारोपण गरिएको मृगौलाको आयु लम्ब्याउनका लागि चलाइएको औषधिले ओलीमा एन्टीबडी बढी हुने र त्यसबाट संक्रमण उत्पन्‍न हुने समस्या देखिएको छ।

मृगौलासम्बन्धी एन्टीबडी बढी भएपछि गत भदौ ५ गते सिंगापुर पुगेर प्रधानमन्त्री ओलीले प्लाज्मा फेरेसिस विधिबाट उपचार गराएका थिए। गत कात्तिक १३, १४, ३० गते र मंसिर ८ गते डाइलासिस गराएका ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणको तयारी भइरहेको बेला पेटसँगै मुटुको समस्या झेल्नु परेको हो।

मंसिर १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्