रोबर्ट लेवान्डोस्कीको कीर्तिमान, इतिहासमै सबैभन्दा छिटो चार गोल

यो सिजन सबैभन्दा बढी चम्किएका खेलाडी हुन् रोबर्ट लेवान्डोस्की । युरोपका अरु कुनै खेलाडी भन्दा उनी यो सिजन हरेक हिसाबमा अघि देखिएका छन् । उनले गोल नगरेका खेल सीमित मात्रै छ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेवान्डोस्कीले कीर्तिमान बनाए र त्यो हो च्याम्पियन्स लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो चार गोल गर्ने ।

समूह बी अन्तर्गत अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले रेड स्टार बेलग्राडेलाई ६–० ले पराजित गरेको हो।

लेवान्डोस्की एक्लैले चार गोल गरे, त्यो पनि १४ मिनेट ३१ सेकेण्ड भित्रमा । उनले ५३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्न सुरु गरेका थिए । त्यसपछि ६०, ६४ र ६७ औँ मिनेटमा पनि गोल गरे ।

त्यसअघि नै १४ औँ मिनेटमा गोरेट्ज्काले गोल गरेका थिए । ८९ औँ मिनेटमा तोलिसोले गोल गरेपछि बार्यन म्युनिख ६–० ले विजयी भयो र समूह विजेताका रुपमा अन्तिम १६ मा पुग्यो ।

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्