अन्ततः सत्यले जित्यो

गर्दै नगरेको हत्याका लागि ३६ वर्ष जेल बसेर रिहा भए तीन निर्दोष

अमेरिकाको मेरिल्याण्डका तीन व्यक्ति आफूले गर्दै नगरेको अपराधका लागि ३६ वर्ष जेल बिताएपछि जेल मुक्त भएका छन्।

तीन व्यक्तिलाई गल्तीका कारण हत्या आरोपमा दोषी ठहर गरिएको थियो, तर उनीहरु निर्दोष रहेको र हत्यामा संलग्नता नरहेको पुष्टि भने जेल परेको ३६ वर्षपछि मात्रै प्रमाणित भयो । सन् १९८३ मा १४ वर्षका किशोरको हत्या भयो ।

हत्या आरोपमा अल्फ्रेड चेस्नट, एन्ड्रयू स्टीवार्ट र रान्सम वाट्किन्सलाई सन् १९८४ मा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय भयो । उनीहरुले निरन्तर आफूहरु निर्दोष रहेको बताउँदै आए । मुद्दाको सुनुवाई निकै लामो समय चल्यो ।

अन्ततः न्यायाधीशले घटनाको प्रकृति र प्रमाणहरुको पुनरावलोकन गरी उनीहरु निर्दोष रहेको घोषणा गरे । त्यसपछि तीनैजना सोमाबार बोल्टिमोरबाट रिहा भए ।

मुद्दा यो वर्ष पुनः सुरु भएको थियो । चेस्नटले बाल्टिमोरको कन्भिन्सन इन्टिग्रिटी युनिटलाई पत्र पठाएपछि यो वर्ष मुद्दा पुनः हेरिएको हो । पत्रमा चेस्नटले गएको वर्ष आफूले पत्ता लगाउन सकेको प्रमाण पनि समावेश गरेका थिए ।

रिहा भएपछि आमाको अंगालोमा अल्फ्रेड चेस्नट। तस्बिर : एएफपी

सन् १९८३ को नोभेम्बरमा बाल्टिमोर जुनियर हाइस्कूल जाँदै गरेका १४ वर्षे किशोर डीविट्ट डुकेट्टको हत्या भयो । उनको घाँटीमा गोली लागेको थियो र उनले लगाएको ज्याकेट चोरी भएको थियो । डीविट्टको हत्या घटनाले सञ्चारमाध्यममा ठूलो स्थान पायो । बोल्टिमोरको पब्लिक स्कूलमा विद्यार्थीको हत्या भएको पहिलो घटना थियो ।

प्रहरी तथा न्यायीक अधिकारीको गल्तिका कारण तीन व्यक्ति दोषी ठहर भएको बाल्टिमोर राज्यका न्यायाधीवक्ता मारिलिन मोस्बीले बताइन् । दोषी ठहर हुँदा तीनैजना १६ वर्षका थिए र उनीहरु सबै अश्वेत हुन् ।

प्रहरी तथा न्यायीकअधिकारीले धेरै प्रत्यक्षदर्शीले आक्रमणकारी अरु नै भएको बयान दिए पनि त्यसलाई नजरअन्दाज गरिएको थियो । हत्या गरेको आशंका गरिएका अर्का आरोपितको सन् २००२ मा मृत्यु भएको थियो ।

घटनाका कागजात न्यायाधीशले शिल गरेका थिए । तर चेस्नटले गएको वर्ष सूचनाको हक अनुसार ती कागजात प्राप्त गर्न सफल भएका थिए ।

रिहा भएपछिको पत्रकार सम्मेलनमा वाट्किन्सले भने, ‘यस्तो कहिले हुनुहुँदैन । यो लडाईँ सकिएको छैन । तपाईँहरु सबैले हामीबाट फेरि धेरै जानकारीहरु सुन्नुहुनेछ ।’

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्